शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हत्याका घटना किन बढे ?

शुक्रबार, ०६ असार २०७६, १० : ३७
शुक्रबार, ०६ असार २०७६

हत्या जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चार माध्यममा दैनिक महिलाहरूको बलात्कार, हत्या र हिंसाका समाचारले प्राथमिकता पाइरहेका छन् । निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा आपराधिक घटनाहरू बढिरहेका छन् ।  त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको  छ । देशको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको  छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार जस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । हत्याका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । सञ्चार माध्यममा दैनिक महिला हत्या र हिंसाका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । अघिलो महिना पाँचथरमा भएको हत्या काण्डले सबैलाई भावविह्वल बनाएको थियो । उक्त घटना पत्याउनै नसकिने थियो । हत्याकाण्डले ९ जनाको बीभत्सपूर्ण तरिकाले भएको सो हत्याकाण्डमा बाल बच्चालाई समेत बाँकी राखिएको छैन । अनुहार नै नचिन्ने गरी हानिएको सो घटना निकै दर्दनाक थियो । त्यसको केही दिन बित्न नपाउँदै पन्ध्र वर्षकी शीतल योङहाङको घाँटी रेटेर हत्या भयो । यसअघि ललितपुरमा भएको हत्याकान्ड पनि त्यस्तै बीभत्स थियो । सिन्धुपाल्चोक घर भई भक्तपुरको काँडाघारी बस्दै आएका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या र अपहरणकारी भनिएका व्यक्तिलाई प्रहरीले गरेको इन्काउन्टर पनि शङ्काको घेरामा पर्यो । प्रहरीले यसलाई आत्मरक्षाका लागि गोली चलाउनुपरेको भनी बचाउ गर्र्यो । घटनाको वास्तविकता रहस्यमय नै रह्यो । सांसदहरूले समेत संसद्मा बालक बचाउन नसक्नुमा प्रहरी सङ्गठनको समेत कमजोरी देखिएको भन्दै आलोचना गरे ।    सोच्न पनि नसकिने गरी हत्या हुने गरेको पाइएको छ । केही दिनअघि मात्र ललितपुरमा आफ्नै जेठाजुले बुहारीको बीभत्स हत्या गरेको घटना, प्रेमीले प्रेमिकाको हत्या गरेर खोलामा फ्याँकेको घटना, जुन धेरै हिंस्रक पनि थियो । यसअघि पनि भएको रिना हत्या काण्ड होस् या रमिला हत्या काण्ड या बालिका निर्मला पन्त हत्याकाण्ड १ सबै हत्याकाण्ड निकै गम्भीर प्रकृतिका रहेका छन् । एसिड आक्रमण जस्ता घटनाले समाजमा अपराधिक अराजकता फैलिँदै गएको पुष्टि हुन्छ । मानिसमा मानवता हराउँदै गएको छ ।

सुन्दै पत्याउन नसकिने अति नै डरलाग्दा घटना पटक–पटक हुने गरेका सुनिन्छन् । आज फेरि पाँचथरको हिलिहाङ गाउँपालिकामा माइक्रोफाइनान्स कम्पनीमा काम गर्ने एक युवतीको हत्या भएको सञ्चार माध्यममा समाचारहरूले प्राथमिकता पाइरहेका छन्  । मङ्गलबार हिलिहाङ–६ चित्ते भन्ने ठाउँमा एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको छ । इलामको माइजोगमाई गाउँपालिका घर भई फिल्ड कर्मचारीका रूपमा कार्यरत युवतीको हत्या भएको हो । जताततै भइरहेका यस्ता घटनाले देशमा जनसाधारणले शान्ति र सुरक्षाको अनुभूति गर्न पाइरहेका छैनन् । हाम्रो समाजमा सार्वजनिक भएका यस्ता कैयौँ घटना छन्, जसको विश्लेषणबाट हामीले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने अनुमान गर्न सक्छौँ । हामीले हाम्रा अग्रजहरूबाट के सिकेका थियौँ र भावी पुस्तालाई के सिकाइरहेका छौँ ? यो गम्भीर प्रश्न हो ।

पछिल्लो पटक समाज भएका यस्ता जघन्य कुकृत्यका शृङ्खलाबद्ध घटनाबाट मानवतामा एक प्रकारको डर त्रास देखिएको छ ।  समाज लज्जित भएको छ ।  समाजमा पटक पटक यस्ता घटना दोहोरिएका छन् ।

पटक पटक यस्तो घटना भएको र अपराधीहरूलाई उचित कारबाही नगरेकाले  सबैलाई स्तब्ध बनाएको छ । यस्ता आपराधिक घटना धेरै ठाउँमा भएका छन् । कतै यस्ता घटनालाई दबाएर राख्ने गरेको पनि सुनिन्छ । यस्तो घटना पहिलो पटक भएको होइन र यो पाँचथरमा मात्र भएको पनि होइन् । यस्तो घटना जहाँ पनि हुन सक्दछ र जसलाई पनि हुन सक्छ । यो जघन्य, बर्बर, निर्मम अपराध हो । मानवतालाई नै लज्जित पार्ने किसिमको अपराध भएकाले यसमा कडाभन्दा कडा सजाय गरिनुपर्छ । वर्तमान ऐन कानुन पर्याप्त नभएको गुनासो आएकोले त्यो ऐन कानुन संशोधन गरेर भए पनि यस्तो निकृष्ट एवं अमानवीय कार्य गर्नेलाई हतोत्साह एवं निरुत्साह पार्नुपर्छ ।

अपराधीले न्याय पनि पैसामा खरिद गर्न सफल भइरहेको अवस्था एकातर्फ छ अर्को भने पीडितले न्याय पाउन सकेका छैनन् । सर्वसाधारण जनताले आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । दिनदहाडै महिलाहरूमाथि बलात्कार तथा हत्या हुँदासमेत सुरक्षा निकायका अधिकारीहरू बेखबर वा मौन बसेका घटनाहरू सार्वजनिक हुन थालेका छन् । अपराध गर्नेहरूका विरुद्ध सरकारको कठोर कानुन र व्यवहार नभएका कारण यस्ता घटनाले प्रोत्साहन पाइरहेका छन् ।

दिनदिनै बढ्दै गएको महिला हिंसा र हत्याका घटनाले देशमा शान्तिको वातावरण नभएको महसुस हुने गरेको छ । हरेक यस्ता आपराधिक घटना दिन दई गुणा रात चौगुण बढिरहेको छ । हिंस, हत्या र बलात्कारका घटनाहरू राष्ट्रिय रूपमा नै चर्चाको विषय बन्ने गरेको पाइन्छ ।

दिनहुँ शृङ्खलाबद्ध तरिकाले घटिरहेका हत्या, बलात्कार, चोरी, लुटपाट जस्ता घटनाले हाम्रो समाज कता जाँदैछ भनेर सोच्न जरुरी भइसकेको छ । के मान्छे साँच्चै ‘राक्षस’ भएकै हो त ? हाम्रो समाजमा सामाजिक सुरक्षाको अभाव देखिएको छ । जनताले सुरक्षित महसुस गर्न सकेका छैनन् । सरकारले सुरक्षा दिन सकेको छैन । सरकारले अपराधीलाई कडा कारबाही गर्न पनि सकिरहेको छैन । अपराधीको मनोबल दिनानुदिन बढिरहेको छ । देशमा कानुन कमजोर बन्दै गइरहेको अवस्था छ । अपराध नियन्त्रण गर्ने संयन्त्र प्रभावकारी नभएको महसुस हुँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता पोखरेल
बबिता पोखरेल
लेखकबाट थप