शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला

बिहीबार, ०५ असार २०७६, २३ : ०१
बिहीबार, ०५ असार २०७६

जुम्ला-जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा विज्ञानअन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति/स्वीकृतिपत्र पाएपछि जुम्लामा पहिलोपटक विशेषज्ञ तहमा चिकित्सक उत्पादनको बाटो खुला भएको हो । 

यसले कर्णाली समग्र प्रदेशको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । साथै प्रतिष्ठानमा आगामी दिनमा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) को शैक्षिक कार्यक्रम सञ्चालन गर्न ढोका खुलासमेत भएको छ ।
 
नेपाल मेडिकल काउन्सिलको आज बसेकोे बैठकले प्रतिष्ठानलाई सो तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति÷स्वीकृति दिने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले भने, “जुम्लामा विशेषज्ञ चिकित्सक उत्पादन गर्न बाटो खुला भएको छ । यसले कर्णालीको गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा फड्को मार्नेछ ।”

हाल प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइ फ्रि, स्वास्थ्य र  बेहोस पार्ने (ऐनेस्थसिया) सहायक  अध्ययन अध्यापन गराइरहेको छ । नर्सिङको प्रमाणपत्रतर्फ स्थानीय १०० जनशक्ति उत्पादन भइसकेको छ । शैक्षिकसत्र विसं २०७५/०७६ देखि स्नातक तहको जनस्वास्थ्य विषयमा अध्यापन शुरुआत भएको छ ।

विशेषतः जुम्ला, हुम्ला, कालिकोट, मुगु, डोल्पा, अछाम, जाजरकोट, बझाङ र बाजुरा जिल्लाको स्वास्थ्यस्थिति माथि उकास्न सरकारले ठूलो लगानीका साथ विसं २०६८ मा  जुम्लामा सो प्रतिष्ठान स्थापना गरेको थियो । प्रतिष्ठानले एक वर्ष अर्थात् विसं २०६९ कात्तिक २३ गते एक जना विशेषज्ञसहित पाँच जना चिकित्सक तत्कालीन कर्णाली अञ्चल अस्पताल जुम्ला पु¥याई सेवा शुरुआत गरेको थियो ।
    
विसं २०७० मा सो अञ्चल अस्पताल प्रतिष्ठानमा गाभिन पुगेको थियो । गाभिँदा १०० श्ययाको अस्पताल हाल ३०० श्यया विस्तार हुन पुगेको छ । अस्पतालले पछिल्लो समय आफ्नै फार्मेसी, रक्तसञ्चार सेवा तथा अक्सिन प्लान्टसमेत सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले जानकारी दिए ।
 
दैनिक २०० सम्म अन्तरङ्ग र बहिरङ्ग सेवा लिने सो  अस्पतालमा तीन श्यया आइसियु रहेका छन् । “हामी यहाँ सेवा लिन आएका बिरामीलाई अन्यत्र रिफर नगर्ने अवस्थामा पुगेका छौँ । सिटीस्क्यान उपकरण सेवा शुरु हुँदैछ । नाक, कान र घाँटी विशेषज्ञ सेवा शुरु हुँदैछ”, उनले भने । 

एमडिजिपी तथा एमबिबिएस दुवै तहका अध्ययन अध्यापन शुरु गराउन प्रतिष्ठानले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र अस्पतालमा उपकरण जडान कार्य पूरा गरेपछि  काउन्सिलका विज्ञ टोलीले पटकपटकको स्थलगत अध्ययन गरेको थियो । पछिल्लो समय काउन्सिलको अध्ययन टोलीमा जुम्ला गएका एक विशेषज्ञ चिकित्सक भन्छन्, “एमबिबिएस र एमडिजिपी तहको अध्ययन अध्यापन गराउन आवश्यक पूर्वाधार तथा जनशक्ति सबै तयार भएको देखियो, सोचेकोभन्दा राम्रो पूर्वाधार बनेछ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षाा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्न प्रतिष्ठानलाई एक वर्षअघि नै स्वीकृति दिइसकेका थिए । वि.सं २०७४ असोज २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्रतिष्ठानको पाँचौं सिनेट बैठकले प्रतिष्ठानको शैक्षिक कार्यक्रम तथा भौतिक निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको थियो । 

चिकित्सक शिक्षा अध्ययन अध्यापनका लागि शैक्षिक कार्यक्रम सञ्चलन गर्न काउन्सिलको स्वीकृति÷अनुमति अनिवार्य आवश्यक पर्छ । प्राडा गोविन्द केसीले आफ्नो पटकपटकका अनशनमा उठान गर्नुभएको प्रमुख मागमा प्रतिष्ठानमा एमडिजिपी, एमबिबिएस र एमडी कक्षा सञ्चालनको पूर्वाधार तयार गर्दै अध्यापन शुरु गर्नुपर्नेसमेत रहेको थियो ।
 
पूर्वस्वास्थ्य सचिव प्रा डा रेग्मी विभागीय प्रमुख
 
प्रतिष्ठानमा कार्यरत विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा अनवरत सेवा गरेका चिकित्सक हुन् । प्रतिष्ठानले विभागीय प्रमुख, विशेषज्ञ चिकित्सक तथा चिकित्सक पद आह्वान गर्दा १५० भन्दाबढी चिकित्सकले दर्खास्त दिएका थिए । 
 
प्रतिष्ठानको डीनमा प्रा डा रेशमबहादुर राना कार्यरत छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी सेवा प्रदान गरेका प्रा डा रानाले पछिल्लो समय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए ।

स्त्रीरोग विभागको प्रमुखमा प्रा डा किरण रेग्मी कार्यरत रहेका छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्वसचिव हुन् । विश्व स्वास्थ्य सङ्गठनको आकर्षक परामर्श पद त्याग गरी उनी जुम्ला उक्लिएका थिए । अधिकांश समय ग्रामीण स्वास्थ्य सेवामा नै व्यतित गरेका प्रा डा रेग्मीले भने, “जुम्लामा चिकित्सा उत्पादन गर्र्ने सपननालाई मूर्त रुप दिन म आएको हुँ ।”

प्रा डा सुनिल बुढाथोकी र प्रा डा कमल शर्मा प्रतिष्ठानको बालरोग विभागमा कार्यरत रहेका छन् ।  प्रा डा शर्मा  स्वास्थ्य सेवातर्फ ११औँ तहको पदबाट राजिनामा दिइ जुम्ला गएका हुन् । एमडिजिपी कार्यक्रमको संयोजकमा डा तरुण पौडेल नियुक्ति भएका थिए । उनी स्वास्थ्य सेवातर्फ १२ औँ तहबाट अवकाश प्राप्त चिकित्सक रहेका छन् ।

सोही कार्यक्रममा डा भोलाराम श्रेष्ठ कार्यरत रहेका छन् । उनी पनि स्वास्थ्य सेवाको १२आँै तहबाट अवकाश प्राप्त चिकित्सक हुन् ।  सोही कार्यक्रममा डा निरेश थापा कार्यरत रहेका छन् । उनीहरु  तीनै जना एमडिजिपी तथा एमडी हुन् । नेपालमा एमडिजिपी शिक्षाका सर्वेत्कृष्ट चिकित्सक मानिन्छन् ।
 
नयाँ उदाहरण
 
प्रतिष्ठान पछिल्लो समय जुम्ला अस्पतालमा कार्यरत आफ्ना चार जना युवा विशेषज्ञ चिकित्सकलाई सुर्खेत अस्पतालमा काम गर्न पठाई सरकार र समुदायका लागि नयाँ उदाहरण शुरुआत गरेको थियो ।  

सरकारी सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक सेवाको अभाव भएपछि प्रतिष्ठानले  विषयगत विधाका फरकफरक चिकित्सक मङ्गल रावल,  हरिहर देवकोटा, रमेश भट्टराई र राजिव शाहलाई गत मङ्सिरमा जुम्लाबाट सुर्खेत अस्पताल काम गर्न पठाएको थियो  ।
 
स्वास्थ्य मन्त्रालयले सुर्खेत अस्पतालमा विशेषज्ञ चिकित्सक खटाउँदा पनि नगएका बताइन्छ । “सुर्खेत अस्पतालको मागअनुसार प्रतिष्ठानले आफ्ना विशेषज्ञ चिकित्सकलाई सेवा गर्न  पठाएको हो । आगामी दिनमा प्रतिष्ठान र अस्पतालसित सहकार्य गरी अगाडि बढ्ने छ”, प्रतिष्ठानका उपकुलपति प्रा डा  वाग्लेले भने ।
 
हाल  प्रतिष्ठानमा (जुम्ला अस्पताल) प्रायः नेपालबाट नै मेडिकल शिक्षा अध्ययन पूरा गरेका ४५ युवा चिकित्सक कार्यरत छन् । ती चिकित्सकले कर्णाली प्रदेशका दुर्गम गाउँमा गई घुम्ती शिविरमार्फत हालसम्म १५ हजारको उपचार गरिसकेका छन् । 
 
रजिष्टार काफ्ले  भन्छन्, “अब एमडिजिपी तह अध्ययनका लागि भर्ना प्रक्रिया अगाडि बढ्छ । पाठ्यक्रम, शिक्षकलगायत सबै पूर्वाधार तयारी अवस्थामा रहेको छ । दुर्गम क्षेत्रमा चिकित्सक जनशक्ति पु¥याउन एमडिजिपी तहको अध्ययन अध्यापनले कोशेढुङ्गाको काम गर्छ ।”
 
‘बच्चा अड्किएर आमाको मृत्यु भएको छैन’
  
विगतमा जुम्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा सुत्केरी हुन आउने आमाको बच्चा अड्किएर अकालमा धेरैको मृत्यु हुने गर्दथ्यो । प्रतिष्ठानले अस्पताल सञ्चालन गरेपछि हालसम्म एक जना पनि सुत्केरी आमाको मृत्यु नभएको प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले जानकारी दिए ।  
 
पछिल्लो समय जुम्ला अस्पतालको स्वास्थ्य सेवा उपलब्धतता कारण ती नौ जिल्लाका मातृ तथा नवजात शिशु मृत्युदर तथा समग्र स्वास्थ्यमा सुधार आएको बताइन्छ । गत वर्ष अस्पतालबाट ३९ हजार ९४२ बिरामीले सेवा लिएका थिए । तीमध्ये चार हजार ३४७ जना आकस्मिक उपचार सेवा, दुई हजार ५९१ जना भर्ना तथा ४६९ जनाको मुख्य सेवा र  ५७२ गर्भवती आमाले बच्चा जन्माएका थिए । तीमध्ये १०२ आमाको मात्र शल्यक्रिया गर्नुपरेको  उनी बताउँछन् । 
     
चिसो स्थानमा घाउ निको हुने हुँदा पछिल्लो समय अस्पतालमा अरु जिल्लाबाट पनि सेवा लिन जानेको सङ्ख्या बढिरहेको प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले जानकारी दिए । उनका अनुसार  अस्पतालमा  हड्डीसम्बन्धीका सबै जटिल शल्यक्रिया, ल्याप्रोटोमी पेट चिर्ने, एपेन्डिसाइटिस, सिजेरोएन बच्चा निकाल्ने शल्यक्रिया हुन्छ । निकट भविष्यमा नाक, कान, घाँटी सेवाको तयारीमा समेत अस्पताल जुटेको छ ।
 
जुम्ला जाऊ डा बन 
 
विशेष गरी जुम्लावासीको औशत आयु ३६ वर्ष रहेको छ तर जुम्लामा नै ९५ वर्षसम्म बाँचेका मानिस पनि छन् । प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाका साथै स्वास्थ्यमा अनुसन्धान अगाडि बढाएको उपकुलपति प्रा डा वाग्लेले जानकारी दिए ।
 
कर्णालीका ५५ हजार घरपरिवारको स्वास्थ्य सर्भेक्षण गर्ने लक्ष्यअनुरुप जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वास्थ्य सर्भेक्षण पूरा भएको र बाँकी अन्य जिल्लामा पनि शुरुआत गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आमा सुरक्षा कार्यक्रम, मातृ तथा नवजात शिशु, खोप, क्षयरोग  तथा निःशुल्क औषधि वितरण कार्यक्रममा पनि सहयोग गरिराखेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप