शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आफ्नो घर आफैं जलाउने घटनाको नालीबेली

बिहीबार, ०५ असार २०७६, १९ : ०८
बिहीबार, ०५ असार २०७६

बुटवल– ‘अरु केहि होइन , सबै जाँडको ताल हो ।  हिजो राती अबेर सम्म हामी दुई भाई सँगै थियौं’–रुपन्देहीको सैनामैनामा बिहिवार दिउँसो आफ्नो घरमा आफैं आगो लगाएर जलाउने युवाका दाजुले भने– ‘छिमेकी एक जनाको मृत्यु भएर कुर्न गएका थियौं । आज दिउँसो हामी घरमा नभएको मौका छोपेर उसले घर जलाएर बर्बाद पा¥यो ।’

सैनामैना नगरपालिका–१, पर्मेश्वरटोलको ब्रम्हडाँडामा बिहिवार दिउँसो आफ्नो घरमा आफै आगो लगाउने  २७ वर्षीय माधव घिमिरेका दाजु बालप्रसाद घिमिरे थिए उनी, जो  २२ दिन अघिमात्र मलेशियाको रोजगारीबाट फर्किएका थिए । फर्किएलगत्तै उनले जग्गा जमिन खरिद देखि अनेक चाँजोपाजो मिलाउँदै गरेको बेला घरमा ल्याएको नगद रकम समेत जलाएर खारानी पारिदिए भाई माधवले ।

दाजु बाल प्रसादले मलेशियामा दुःख गरेर कमाएको पैसा र सुन भाईले जलाएर नष्ट पारेको पीडा सुनाए । ‘दुई लाख नगद  र पाँच तोला सुन घरमै राखेको थिएँ,  त्यो भन्दा पनि मेरो भिषा लागेको पासपोर्ट जलाएर नष्ट पारि दिँदा गाह्रो परेको छ’ उनले भने– ‘जग्गाका लालपुर्जादेखि महत्वपूर्ण कागजपत्र सबै खरानी बनेको छ , क्षतिबारे मूल्यांकन गर्न अहिले हामी प्रहरी कार्यालयमा छौं ।’

उनी यतिबेला जाहेरी दिनका लागि ईलाका प्रहरी कार्यालय बुटवलमा छन् । उनकी श्रीमती अनुजा घिमिरे सहितका गाउँवासीलाई सैनामैना प्रहरी चौकीले बोलाएर सोधपुछ गर्दैछ ।  अनुजा घरमा देवरले  आगो लगाउँदा श्रीमानसहित पर्शाटिका भन्ने स्थानमा पुगेकी थिइन् ।

उनकी सासु पनि घरमा थिइनन् ।  सोही मौका छोपेर देवर माधवले घरमा कतैबाट मट्टितेल ल्याएर छर्किदै टिनको छाना भएको एकतले कच्ची घरमा आगो लगाउन सुरु गरे । केहि छिनमै घर खरानी भयो । अनुजा भन्छिन्, ‘घर जलेको मैले दिउँसो १२ बजे मात्रै थाह पाएकी हुँ ।’ देवरको बानी ब्यवहारबारे जिज्ञासा राख्दा भाउजु अनुजाले आफ्नो डेढ बर्षअघि मात्र कावासोतीबाट विवाह भएको हुँदा उनको बानी–ब्यवहार खासै थाह नभएको बताइन् । उनले आमालाई मदिरा सेवन गरेर काट्छु– मार्छु  भन्ने गरेको चाहिँ आफुले सुनेको बताइन् । जसलाई आमा एक्लैले हुर्काएकी थिइन् ।

जेठा छोरा बालप्रसादका अनुसार उनकी आमा कुन्तादेवी घिमिरे र उनका श्रीमान मिनाकान्त घिमिरेबीच सम्बन्ध बिग्रेको २२÷२३ बर्ष भयो । उनीहरु अलग–अलग बस्दै आएका छन् । चार छोरी र तीन छोराहरुलाई उनै आमाले मजदुरी गरेर हुर्काउँदै आएको छोरा बालप्रसाद बताउँछन् । जेठा छोरालाई मलेशिया र कान्छा गोपाल घिमिरेलाई कोरिया पठाएपछि सुखका दिनले पछ्याउन लागेको थियो कुन्तादेवीलाई ।

उनका श्रीमान करिव २३ बर्षदेखि बुटवल–१६ को सेमलार भन्ने स्थानमा एक्लै बस्दै आएका छन् । बालप्रसाद भन्छन्– ‘हामी पहिला पश्चिम बाँसगढी तिर बस्ने गर्दथ्यौं । आमा उतैतिर दिदी बहिनीहरु भेटन जानु भएको थियो । हामी दुईजना (श्रीमतीसहित ) विहान खान खाएर साढे दश बजेतिर फर्शाटिकातिर जाँदै थियौं । पुग्दै गर्दा फोन आएर त्यस्तो खबर थाह पाएर फर्केका हौं । हाम्रो क्षति बढि नै भएको छ, प्रहरीले धेरै बढी नलेख्नुस् भन्दै छ ।’  यो परिवारको घर गुल्मी हो । हजुरबुवाका पालामा तराई झरेका उनीहरुलाई पुख्र्यौली घर ईस्मा भन्ने मात्र थाहा छ, टोल थाहा छैन ।

घटनाको केहि बेरपछि सम्पर्क राख्दा सैनामैना प्रहरी चौकीका सई बिष्णुप्रसाद घिमिरेले करिव २० लाख बराबरको क्षति भएको बताए । अहिले बुटवल ईलाका प्रहरी कार्यालयले एकिन क्षतिको विवरण तयार गर्दैछ । घर जलाउने माधव घिमिरेलाई पक्राउ गरि हिरासतमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप