शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा गच्छदारले भने: प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ

बिहीबार, ०५ असार २०७६, १४ : ०४
बिहीबार, ०५ असार २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको भन्दै गलत विधेयक ल्याएकोमा नैतिककताका आधारमा राजीनामा दिन तयार हुनुपर्ने बताएका हुन् ।  

उनले भने, ‘मन्त्रीसँगमात्र छलफल गरेर हुन्छ । सरोकारवाला, विपक्षीसँग छलफल परामर्श गर्नु पर्दैन ? यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा, संविधान विरोधी विधेयक ल्याएको प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’

गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । ‘संविधान साझा दस्तावेज हो । यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई ? उनले अघि भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नु पर्यो कि पर्दैनथ्यो ?’

उपनेता गच्छदारले प्रधानमन्त्रीको नियत के हो भन्दै प्रश्न समेत गरे । उनले भने, ‘दुइतिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री हुँदाहुँदै राज्यका विभिन्न निकायलाई किन आफ्नो अधिनमा ल्याउनुपर्यो ? उहाँको नियत के हो ? खराब नियतले देशमा सर्वसत्तावाद र अधिनायकवाद लाद्न खोज्नुभएको छ ।’

साथै गच्छदारले सरकारले प्रतिपक्षीप्रति असहिष्णुता देखाएको आरोप पनि लगाए । ‘संसदभित्र प्रमुख प्रतिपक्षी दलको अग्राधिकार हुन्छ, सदनको नेता सभामुख हुन्छ । शेरबहादुर देउवाजीले बोल्न खोज्दा बोल्न दिएको भए हुन्थ्यो, यो मान्यता हो । हामीले अग्राधिकार खोजेको हो । प्रतिपपक्षले जस्तो प्रश्न उठाएपनि जवाफ दिनुपर्छ, सत्तापक्षले कत्रो असहिष्णुता देखाउनु भएको?,’ उनको भनाई थियो ।

साथै उपनेता गच्छदारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत विनियोजित रकममा १ सय रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव पेश गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप