शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगबारे सांसदको सुझाव

बिहीबार, ०५ असार २०७६, १३ : ३५
बिहीबार, ०५ असार २०७६

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन् । प्रतिनिधिसभाका सांसदहरु देवप्रसाद गुरुङ, योगेशकुमार भट्टराई र खगराज अधिकारीले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई सचेत गराए । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक समेत रहेका गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पनि सो पदार्थको प्रयोग अधिकार निजी क्षेत्रलाई दिन नहुने स्पष्ट पारे ।

उनले सो पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गरे ।

सांसद योगेशकुमार भट्टराईले जातीय युद्धमा समेत दुरुपयोग हुने भएकाले विनाअध्ययन सो पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सरकारलाई सचेत गराए । उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारले ती पदार्थहरुको उपयोग गर्नुपर्ने पनि स्पष्ट पारे ।

अर्का सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले निजी क्षेत्रलाई पारमाणविक पदार्थको प्रयोगका लागि स्विकृत नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । उनले पारमाणविक पदार्थको उपयोग जथाभावी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने पनि बताए । बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो ।

के हो पारमाणविक रेडियोधर्मी पदार्थ ? 
रेडियोधर्मी पदार्थ त्यस्तो पदार्थ हो, जसको पारमाणविक नाभी अस्थिर हुन्छ र रेडियोधर्मी उर्जा फ्याक्छ । यो प्लोटोनियम र युरोनियम चर्चित पारमाणविक रेडियोधर्मी पदार्थका उदाहरण हुन् । नेपालको मुस्ताङमा युरोनियमको खानी रहेको अनुमान गरिएको छ । विश्वभर पारमाणविक बम बनाउन यस्तै पदार्थको प्रयोग गर्ने गरिन्छ । त्यसबाहेक उर्जाका लागि बनाइने आणविक भट्टि र क्यान्सरको उपचारमा पनि यी पदार्थ प्रयोग गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप