शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘गुठी र नेवाः स्वायत्त प्रदेश’ को समर्थनमा बाबुराम बोल्दा साझा विवेकशीलको प्रतिवाद !

बिहीबार, ०५ असार २०७६, १३ : १०
बिहीबार, ०५ असार २०७६

काठमाडौँ– गुठी विधेयकको चर्चा अझै सेलाएको छैन । सामाजिक सञ्जालहरुमा  विभिन्न राजनीतिक दलका नेताहरुको गुठी विधेयकलाई लिएर दोहोरी चल्ने क्रम अझै रोकिएको छ ।

 गुठी विधेयकसँगै नेवा स्वायत्त प्रदेशको समेत माग भएपछि यसबारे राजनीतिक दलका नेताहरु सामाजिक सञ्जालमार्फत पक्ष र विपक्षमा दोहोरी खेलिरहेका छन् । विभागीय मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने घोषणा गरेको भोलिपल्ट काठमाडौको माइतीघरमा गुठीयारहरुले आफ्नो शक्ति प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सरोकारवालाहरुले विधेयक फिर्तामात्रै होइन, खारेज नै गर्नुपर्ने अडान राखे । 

शान्तिपूर्ण र संयमित ढंङ्गले गरिएको उक्त प्रदर्शनमा सहभागीहरुको संख्या हेर्दा गुठीप्रतिको चासो कति छ भन्ने सहजै बुझ्न सकिन्थ्यो । तर, सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेपनि गुठीयारहरु त्यतिमै चित्त बुझाउने पक्षमा नरहेको उनीहरुको अभिव्यक्ति, प्रर्दशनका क्रममा लगाइएका नारा र प्लेकार्डहरुबाटै बुझिन्थ्यो । 

बुधबार माइतीघरमा भएको सभामा गुठी विधेयक विरुद्धको संघर्ष समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी विधेयक खारेजमात्रै होइन नेवाः स्वायत्त प्रदेशको कुरा पनि उठाए । त्यसक्रममा श्रेष्ठले संविधानमा गुठीहरु प्रदेश मातहतमा हुने र संघले समन्वय गर्ने भन्ने उल्लेख भएपनि नेवा स्वायत्त प्रदेश नदिएकोमा असन्तुष्टि जनाएका थिए ।  

‘संविधानमा गुठीहरु प्रदेश मातहतमा हुने उल्लेख छ । संघले समन्वय गर्ने भनेको छ । तर नेवाः स्वायत्त प्रदेश दिइएन ।अहिले यहाँका आदिवासी नेवारहरुको पहिचान र संस्कृतिमाथि प्रहार हुँदै छ ।अब हामी नेवाः स्वायत्त राज्य प्राप्तिसम्म अगाडि बढ्नुपर्छ । तयार रहनुस्’ संयोजक डा श्रेष्ठले  माइतीघरमामा भएको सभामा यसो भन्दा सहभागीहरुले तालीले स्वागत गरेका थिए । 

डा. श्रेष्ठले गुठी विधेयकलाई टेकेर नेवा स्वायत्त प्रदेशको मागलाई समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले श्रेष्ठको मागप्रति सहमति जनाए । बुधबार वेलुका पूर्व प्रधानममन्त्री तथा तत्कालीन नयाँ शक्तिका अध्यक्षसमेत रहेका अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखे ‘संविधानत बहुजातीय र बहुभाषिक र बहुसांस्कृतिक देश मानिएको नेपालमा नेवाः यी सबै गुण सम्पन्न सबभन्दा विकसित समुदाय हो । अत: नेवाः ले गुठीको संरक्षणनिम्ति मात्र हैन काठमाडाँै उपत्यकाको भौतिक सम्पदाको संरक्षण सहितको एकीकृत विकासनिम्ति पनि नेवाः स्वायत्त प्रदेश माग्नु जÞरूरी छ, सबैको ध्यान पुगोस !’ तर अध्यक्ष भट्टराईको ट्वीटपछि साझा विवेकशील पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले रिट्वीट गर्दै डा. भट्टराईलाई जवाफ फर्काए । आचार्यले संविधानको मर्म जातीय राज्य नभएको दावी गरे । 

‘संविधानको मर्म जातीय प्रदेश होइन । राज्यका नीति र योजना र कार्यक्रमले सबै जाति, भाषा र संकृतीलाई प्रवर्द्धन र संवर्द्धधन गर्ने भन्ने हो’ भन्दै भट्टराईप्रति कटाक्ष गरे । उनी त्यतिमै रोकिएनन् । उनले थप लेखे,  ‘विकासको नविनतम सोचले विविधतालाई प्रगतिको अवसर ठान्छ । तर राजनीतिक कपट र धुर्त्याईंले विविधतालाई ‘भोटब्याङ्क’ को अवसर ठान्छ । यस्ता घातक सोचप्रति सजग बनौं ।’

डा. आचार्यको ट्वीट आएलगत्तै डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले आचार्यलाई रिट्वीट गर्दै राष्ट्रवादको कुरा गर्दा आचार्य सरलाई किन टाउको दुखेको भनेर प्रश्न गरे । पाण्डेले लेखे ‘बहुसंस्कृतियुक्त, बहुपहिचानयुक्त, बहुभाषिक मुलुकमा सबै नेपालीको सम्मान र स्वाभिमान सहित हिमाल, पहाड, तराई र मधेश जोड्ने इन्द्रेणी राष्ट्रवादको कुरा गर्दा, समावेशिताका कुरा गर्दा सरको टाउको किन यतिधेरै दुख्छ ? कमल थापा भन्दा पनि पुरानो विचार बोकेर नेपाल बदल्ने राजनीति चाहिँ हुन्न है !’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप