बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्ट्यान्ड अप कमेडी : अश्लीलता कि अभिव्यक्ति स्वन्त्रता ?

बिहीबार, ०५ असार २०७६, १२ : ३१
बिहीबार, ०५ असार २०७६

पछिल्लो समय प्रनेश गौतम प्रकरण चर्चामा रह्यो । मिम नेपाल भन्ने युट्यब टिभीमा फिल्म ‘वीरविक्रम–२’को रिम्यु गरेको कारण जेल जानु परेपछि उनी चर्चामा रहे ।

फिल्मका निर्देशक मिलन चाम्सले फिल्म समीक्षा नगरी आफ्नो मानहानि, रङ्गभेदी टिप्पणी र गाली बेइज्जती गरेको आरोपमा लगाउँदै उनलाई प्रहरीद्वारा पक्राउसमेत गराएका थिए ।

हस्यौली रिभ्युलाई लिएर प्रनेशलाई पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रता नै हनन गरिएको भन्दै सामाजिक सञ्जालदेखि सडकसम्म विरोधका आवाज सुनियो ।

एकातिर प्रनेशको उक्त भिडियो वाक स्वतन्त्रता हो भनेर व्याख्या गर्ने पनि देखिए भने अर्काेतिर यस्ता भिडियोहरु वाक स्वतन्त्रता नभएर यो विकृति र अरूको स्वतन्त्रतामाथिको ठाडो प्रहार भन्ने आवाज पनि गुन्जिए ।

पछिल्लो समय विकास भएको सामाजिक सञ्जाल युट्युबमा अपलोड हुने धेरै सामग्रीप्रति आम मानिसको आपत्ति रहने गरेको छ । तीमध्यको एक कमेडीका विषय पनि हो । कमेडीको नाममा अहिले विभिन्न दुई अर्थ लाग्ने र अश्लील शब्दहरूले प्रथामिकता पाइरहेका छन् । त्यसमा पनि स्ट्यान्ड अप कमेडीमा दुई अर्थ लाग्ने र अश्लील शब्दका प्रयोग बढी हुने गरेका छन् ।

सायद, त्यसैले पनि होला मानिसहरूले अहिले कमेडी हेडफोन प्रयोग गरेर, कुना वा गोप्य ठाउँमा एक्लै बसेर सुन्नुपर्छ भन्ने जस्ता व्याङ्ग्य गर्न थालेका छन् ।

अहिले बजारमा देखिएका स्ट्यान्ड अप कमेडी भिडियोहरुमा पाइने कन्टेन्ट ‘अश्लिल’ हो या ‘अभिव्यक्ति स्वतन्त्रता’ हो ? यसलाई छुट्याउने मानक के ? यही प्रश्नको उत्तर यहाँ खोज्न प्रयास गरिएको छ ।

छाडापान र अनुशासनहीन

वरिष्ठ हाँस्य कलाकार मदकृष्ण श्रेष्ठ पछिल्लो समय कमेडीमा भित्रिएको दुई अर्थे शब्द र अश्लीलता छाडापान र अनुशासनहीन भन्न रुचाउँछन् । समाजलाई असर पुग्ने र समाजले नपचाउने काम कसैले गर्नु नहुने उनको तर्क छ । ‘कमेडी सबैजनाले एकै ठाउँमा बसेर हेरेको पो मज्जा’ श्रेष्ठले भने ‘लाजले लुकेर हेरेको के मज्जा ?’

श्रेष्ठका विचारसँग अर्काे वरिष्ठ कलाकार हरिवंशको विचार पनि मेल खान्छ । उनी पनि कमेडीका नाममा सार्वजनिक रूपमा दुईअर्थी र अश्लील शब्द प्रयोगमा ल्याउनु नहुने बताउँछन् ।

‘मैले पनि युट्युबमा भर्खर एउटा सानो कमेडी बाबु छारोको संवाद हेरेको थिएँ’ आचार्यले भने ‘त्यो हेर्न एकदमै गाह्रो थियो ।’ सुरुमा चेतना नभएर पनि त्यस्ता सामग्री बनाएको हुनसक्ने अनुमान गरेका आचार्यले बिस्तारै त्यस्ता सामग्रीको अन्त्य हुनुपर्ने बताउँछन् ।

‘यस्तालाई नराम्रो भन्न पनि सकिने अवस्था छैन’, आचार्यले थपे, ‘किनभने नराम्रो भन्यो भने आफैमाथि खनिन्छन् कि भन्ने डर पनि छ ।’

श्रेष्ठ र आचार्यका झैँ धारणा अर्काे चर्चित कमेडियन मनोज गजुरेलको पनि छ । उनी अश्लीलता र यौनका कुराले कमेडीमा प्रवेश गराउनु र गर्न पाउनु हुँदैन भन्ने पक्षमा वकालत गर्छन् । ‘कमेडी समाजका विषय, अभाव र समस्या विषयमा बनाइनुपर्छ,’ गजुरेलले भने, ‘पछिल्लो समय उदायका कमेडियनमा त्यो अभाव देखिएको छ ।’

सानोपर्दा, ठूलो पर्दादेखि स्टेज सोसम्म लामो समयदेखि कमेडी विधामै  आफूलाई सक्रिए गराउँदै आएका कलाकार जितु नेपालले भने दुईअर्थी र अश्लील शब्द प्रयोगमा केही लचक देखिए ।

‘सन्दर्भ र विषयवस्तुअन्तर्गत केही दुईअर्थी शब्द कमेडीका लागि जायज हुन सक्छन्’, उनले भने ‘तर त्यसको अर्थ परिवारसँग बसेर हेर्न नमिल्ने, गलत अर्थ लाग्ने, समाजलाई गलत बाटोमा दोहोर्याउने खलाका शब्द प्रयोग नगर्दा राम्रो हो ।’ हामी नेपाली भएकाले हाम्रो कलासंस्कृति र समाजको परिबन्दमा रहेर कमेडी गर्नुपर्ने र त्यसका लागि शब्द चयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अग्रज कलाकारको विपक्षमा देखिए पछिल्लो समय स्ट्यान्ड अप कमेडी मार्फत उदाएका कलाकार लेखमणि त्रिताल । कमेडीमा अहिले दुईअर्थी र अश्लील शब्द जरुरी भएको उनी बताउँछन् । युवा पुस्ताले यही कुरा बढी रुचाउने उनको भनाइ रहेको छ ।

‘छिट्टै लोकप्रियता पाउन कमेडीमा अहिले यस्ता शब्द प्रयोग हुने गरेका छन्’, त्रिताल थपे, ‘यस्ता विषयले कमेडियनलाई लामो समय टिकाइराख्न भने सक्दैन ।’ छिट्टै चर्चामा आउन र क्लिक हुन यस्ता शब्द सजिलो माध्यम भएकाले सुरुवातको समय आफूले पनि सहारा लिएको खुलाए ।

दुई चार दिन रामाइलो देला

हुन त कमेडीमा भित्रिएका अश्लीलतालाई अहिले धेरैले अभिव्यक्ति स्वतन्त्रताको रूपमा पनि व्यख्या गर्न थालेका छन् । केहीले भने यसको दुरूपयोगसमेत भनेका छन् ।

तर वाक स्वतन्त्रताको पनि एक किसिमको ‘लिमिट’ हुने वरिष्ठ हाँस्य कलाकार शिवहरि पौडेल बताउँछन् । के बोल्ने, कहाँ र कोसँग बोल्ने भन्ने पनि एक किसिमको सीमा हुने उनको धारणा छ ।

‘हाम्रो देशमा वाक स्वतन्त्रताको कुनै सीमा तोकिएको छैन । नेपालमा यो विषय राजनीति गर्ने बाटो मात्र बन्यो’, पौडेलले भने– ‘राजनीतिज्ञले हामीले वाक् स्वतन्त्रता दिएका छौँ । जनताले बोल्न पाएको छ मात्र भन्ने बुझे । त्योभित्र पनि एउटा लिमिटेसन तोक्नुपर्छ भन्ने बुझेनन् ।’

अश्लील कुराले समाजमा के असर गर्छ भनेर एउटा कमेडियनले जिम्मेवार भएर विचार गर्नुपर्ने पौडेलको धारणा राखे ।

‘ट्रेन्डिङमा पार्ने, पैसा कमाउने होडमा समाजको दायित्व र आफ्नो स्वतन्त्रताको सीमा भुल्नु हुँदैन’, उनले थपे, ‘यी कुराले आउँदो जेनरेसन र हाम्रो कलासंस्कृतिलाई ठूलो असर पर्छ ।’ पैसा आउँछ भन्ने लोभमा यस्ता चिजलाई बढावा दिनु र छुट दिनु राम्रो नभएको उनी बताउँछन् ।

शिवहरिको विचारमा गजुरेलको पनि विचार मिल्न जान्छ । ‘आफ्नो स्वतन्त्रताको प्रयोगले अरूलाई असर पर्दैन भने त्यो स्वतन्त्रता प्रयोग गर्नुपर्छ’ गजुरेलले भने । ‘कमेडीले वाक स्वतन्त्रताको प्रयोग गर्दा समाजमा विकृति फैलाउन, द्वन्द्व भड्काउने र हिंसा निम्त्याउने क्रियाकलाप गर्नु हुँदैन’ उनी भन्दै थिए, ‘हाँस्यव्यङ्ग्याका शब्दमा शिष्टता, नम्रता पनि हुनु जरुरी छ ।’

वाक स्वतन्त्रता कानुनले दिएको छ भन्दैमा जथाभावी बोल्न र सुनाउन नहुने कलाकार किरण केसी बताउँछन् । कमेडीमा ४० वर्ष बिताएका किरणले कमेडियनमा अलिकति पनि बौद्धिकता छ भने यस्ता कुरा प्रथामिकतामा नपर्ने बताए ।

‘अर्काेको व्यक्तिगत जीवनमा लाञ्छना लगाएर, चरित्र हत्या गरेर अश्लील बोलेर कमेडी हुन्छ ?’ किरणले थपे– ‘यसले दुई चार दिन रामाइलो देला । तर त्यस्तो कमेडियनको जीवन र भविष्य उज्ज्वल हुन सक्दैन सक्दैन ।’ किरणले समाज, परिवार चारैतिर हेरेर कमेडीका विषयवस्तु बनाउन सुझाए ।

हास्यव्यङ्ग्यका लागि यो घातक

एक समय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, किरण केसी, राजाराम पौडलबाहेकका कमेडी कलाकार भेट्ट मुस्किल पर्ने गथ्र्याे । नेपालमा टेलिभिजनको विकाससँगै जितु नेपाल, दीपकराज गिरी, शिवहरि पौडेल, दीपाश्री निरौलालगायत दर्जन हाराहरी सङ्ख्यामा कमेडियनको उदय भयो । यी कलाकारले नै टेलिभिजनदेखि स्टेजसम्म भ्याउँथे ।

पछिल्लो समय विकास भएको सामाजिक सञ्जाल ट्युटुबले भने कमेडी कलाकारको सङ्ख्या ह्वात्तै बढायो । अहिले विदेशमा चर्चित रहेका स्ट्यान्ड अप कमेडी पनि नेपाली बजारमा भित्रिएका छन् । यो कमेडी भित्रिएसँगै यसमा पनि विकृति भित्रिएका छन् ।

स्ट्यान्ड अप कमेडीमा देखिएका महिला हुन् वा पुरुष धेरैले दुईअर्थी र अश्लील शब्द प्रयोगमा ल्याएका छन् । धेरै मानिसले त स्ट्यान्ड अप कमेडीका कारण कमेडीमा अश्लीलताले प्रवेश पाएको आरोप लगाएका छन् ।

यो कुरामा केही हदसम्म सत्यता रहेको स्ट्यान्ड अप कमेडी गर्दै आएका कलाकार लेखमणि त्रिताल बताउँछन् । युवापुस्ताले रुचाउने र छिट्टै क्लिक हुने मनसायले यस्ता विषयले कमेडीमा प्रवेश पाएको उनले सुनाए ।

सुरुका समयमा आफूले पनि केही हदसम्म यस्ता विषय कमेडीमा समेटेको बताएका त्रितालले भने ‘यस्ता विषयको प्रयोगले लामो समय टिक्न र समाजमा सकारात्मक प्रभाव पार्न नसकिने देखेर आफूलाई सुधारेको हुँ ।’

स्ट्यान्ड अप कमेडीले कमेडीमा अश्लीलता भित्र्याएको आरोप अग्रज कलाकार किरण केसीले लगाए । ‘हेपेर र खसालेर बोलेको होइन । राष्ट्रका लागि र हास्यव्यङ्ग्यका लागि यो घातक हो’ किरणले भने ‘यीबाहेक धेरै तरिकाबाट दर्शक हसाउन सकिन्छ । मेरो यो चालिस वर्षको अनुभवले भन्छ ।’

हल्काफुल्का विषय आफूले पहिले केही गाईजात्रे कार्यक्रममा समेटेको सुनाएका किरण भने ‘चिप तरिकाले हसाएर दर्शकको वाहवाह पाउँदा गिल्टी फिल भयो ।’ किरणले स्ट्यान्ड अप कमेडीमा नयाँ र सन्देशमूलक विषयको खोज र प्रयोग गर्नुपर्ने धारणा राखे ।

सेन्सर आवश्यक

अहिले कमेडीमा अश्लीलता भित्रिनुको मुख्य दोष धेरैले युट्युबलाई दिएका छन् । युट्युबमा आफूखुसी सामग्री अपलोड गर्न सकिने भएकाले पनि अश्लील भित्रिएको धेरैको ठम्याइ छ । त्यसैले पनि यस्ता विषयमा युट्युबमा अपलोड भन्दा पहिले सेन्सर हुनुपर्ने माग उठ्न थालेका छन् । यो नियन्त्रणका लागि राज्यले ध्यान दिनुपर्ने आवाज बुलन्द हुन थालेका छन् ।

कलाकार शिवहरि पौडेल पनि सेन्सर लगाउनुपर्ने पक्षमा छन् । उनले युट्युबमा देखिएको बेथितिलाई सेन्सर बोर्ड खडा गरेर नियन्त्रण गर्नुपर्ने बताउँछन् । जितु नेपालले पनि सेन्सरको पक्षमा शिवहरिको विचारमा समर्थन गरे ।

‘मैले गर्ने केमडी क्लब अधिकृतस्तरका कर्मचारीले सेन्सर नगरी प्रसार हँुदैन’, उनले भने, ‘युट्युबमा कसले सेन्सर गर्ने । यसमा सरकारको सेन्सरसिप वा लगाम हुनु जरुरी भएकोे छ ।

वरिष्ठ हाँस्य कलाकार मदकुष्ण श्रेष्ठ र हरिवंश आचार्य भने आफ्नो कन्टेन्ट सबैभन्दा पहिले आफैले सेन्सर गर्नुपर्ने बताउँछन् । ‘पहिला जसले कमेडी बनाउने हो, त्यसले पहिले सेन्सर गर्नुपर्छ । त्यसपछि राज्यले पनि नियम बनाउनु जरुरी भएको छ’, श्रेष्ठले भने ।

‘यो नियन्त्रण भनेको जटिल विषय हो’, हरिवंशले भने, ‘यो नियन्त्रणका लागि समाजले जटिल भएर हेर्नुपर्छ । समाजले त्यस्तो विषयलाई प्राथमिकता नदिने, राम्रो कमेडीमा नमान्ने र बहिष्कार गर्ने हो आफै नियन्त्रण भएर जान्छ । आचार्य पनि यस्ता विषय पहिले आत्मले सेन्सर गर्नुपर्ने बताउँछन् । ‘हामी हाम्रो कार्यक्रम गर्दा यतिसम्म भन्यो भने हुन्छ र यतिभन्दा माथि जानु हुँदैन भनेर आफै पहिलो सेन्सर गछौँ’, उनले भने ।

नियन्त्रणका लागि सेन्सर र प्रविधिको विकासभन्दा पनि चेतनाको विकास गर्नुपर्ने मनोज गजुरेल बताउँछन् । पहिला यस्ता विषयमा सामग्री बनाउनेले जिम्मेवारी लिएर आफूलाई सम्पादन गर्नुपर्छ । त्यसपछि त्यस्ता विषय अति भयो भने समाजले आफैले नियन्त्रण गर्छ ।

चर्चाका लागि अश्लील

कमेडीमा अश्लील र दुईअर्थी शब्दको प्रयोग बढ्नुको मुख्य कारण चर्चा पनि हो । क्षणिक चर्चा र रातारात हिट हुनका लागि यस्ता विषयले प्रथामिकता पाइरहेका छन् ।

मानिस चाँडो नाम कमाउन, छिटो हिट हुन अलश्लीलता रोज्ने गरेको जितु नेपालले बताए । मानिस आफ्नो सामग्रीबाट छिटो ट्रेनिङमा आउन चाहन्छ । त्यसका लागि यो बाहेकको अर्काे विकल्प के ?

‘राम्रो कुरा सीधै भन्दा कुनै प्रतिक्रिया आउँदैन । तर दोहोरो अर्थ लाग्ने हिसाबले भन्यो भने कडा बन्यो भन्ने, मन पराउने धेरै हुन्छन्, ‘स्ट्यान्ड अप कमेडीका त्रिताल भन्छन्, ‘दर्शक पाउन, हिट हुन सजिलो हुन्छ । युट्युबको ट्रनिङमा यस्ता विषयले छिट्टै प्रवेश पाउँछन् ।’

पीडादायक हो

कमेडीमा अश्लीलताको प्रवेशले पछिल्लो समय उदाएका छिट्टै चर्चामा कमाउने चाहना भएका व्यक्तिका लागि भने सहज भएको होला । तर जीवनभर देश र जनताको सकारात्मक परिवर्तनका लागि कमेडी गर्दै आएका मदनकृष्ण हरिवंश जस्तनाका लागि भने यो पीडाको विषय भएको छ । समाजले सबैलाई एउटै घानमा राखेर हेर्ने भएकाले यस्ता विषय आफू र आफू जस्ताका लागि पीडादायक हुने हरिवंशले बताए ।

हरिवंशको कुरा मदनकृष्णले पनि दोहोर्याउँदै भने ‘समयअनुसार केही फरक हुनुपर्छ । तर फरक हुनुपर्छ भन्दैमा समयभन्दा अगाडि दौडिनुहँुदैन ।’ शिवहरि पौडेल पनि आफूलाई व्यक्तित्वमा मात्र होइन व्यावसायिक रूपमा समेत असर परेको बताउँछन् ।

हामीले हालेका कमेडीका म्याटरमा महिना दुई महिनामा मुस्किलले १ लाख दुई भ्यु पुग्न गाह्रो गाह्रो हुन्छ’ उनले अगाडि भने ‘तर त्यस्ता अश्लील विषयका भिडियाले एक दुई दिनमै दुई चार लाख दर्शक पाउँछ ।’ स्टेजमा कार्यक्रममा गर्दा हामी अश्लीलता अँगाल्दैनौँ, त्यसैले हामी माइनस भएर गइरहेका छौँ । हामीलाई हसाएन भन्ने गरेका छन्’, उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप