शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशी गोर्खाली कलाकारको राजधानीमा प्रस्तुति

बिहीबार, ०५ असार २०७६, ११ : ४९
बिहीबार, ०५ असार २०७६

काठमाडौं – धेरैलाई थाहा नहुन पनि सक्छ । बंगालादेशमा पनि गोर्खाली बस्तीहरु छन् । माइमानसिंह, भोला, रंगमाटी लगायतका स्थानहरुमा उनीहरुको पुख्र्याैली बसोबास छ । ढाकाबाट ३०४ किमी टाढा चटगाउँ हिल ट्रेक्समा पर्ने रंगमाटीमा लगभग ५०० को संख्यामा गोर्खालीहरु बस्छन् ।

बंगालादेशी गोर्खाहरुको ईतिहास करिब १५० बर्ष पुरानो छ । सन् १८७१ मा इष्ट इन्डिया कम्पनीको एउटा बटालियन कुकी बिद्रोह दबाउन जाँदा गोर्खालीहरु त्यहीँ बसेको मानिन्छ । 

उनै गोर्खाली पुर्खाका छैटौं पुस्ता अहिले पनि त्यहाँ छन् । स्थानीय रहनसहन र वातावरणमा घुलमिल भैसकेका बंगालादेशी गोर्खाहरु आफ्नो पुर्खाको संस्कृतिलाई भने जेनतेन धानिरहेका छन् ।

ती मध्ये मनोज बहादुर गोर्खा एक हुन् जो नेपाली भाषा धेरथोर बोल्न सक्छन् । उनी रंगमाटी क्षेत्रमा स्थापित कलाकार, संस्कृतिकर्मी तथा संगीत प्रशिक्षक हुन् । 

उनको नेतृत्वमा ‘सुर निकेतन’ नामको संस्था कृयाशील छ । जसले नेपाली, बंगाली र अन्य स्थानीय भाषामा गीत÷संगीत प्रस्तुत गर्छ । उनै मनोज बहादुरको नेतृत्वमा बंगालादेशी गोर्खाली कलाकारहरुले काठमाडौं एक सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् । 

सांस्कृतिक संस्थान र सिस्नुपानी नेपालको आयोजनामा यही जुलाई १० तारिखका दिन राष्ट्रिय नाँचघरमा बंगालादेशी गोर्खाली कलाकारहरुले गीत÷संगीत प्रस्तुत गर्न लागेका हुन् । 

‘परिस्थितिले टाढा हुन पुगेका हाम्रा दाजुभाइलाई संस्कृतिले पुनः नजिक पार्ने प्रयास’ आयोजकले कार्यक्रमको नारा बनाएको छ । 

मनोज बहादुर भन्छन्,‘जे खाने थाकी जे भावे थाकी, मोन आमार गोर्खाली’, अर्थात् जहाँ भएपनि, जहाँ रहेपनि यो मन त हाम्रो गोर्खाली हो । 

बर्षअघि मुलभूमी नेपालबाट छुटेर बिभिन्न देशका नागरिक हुन पुगेका आफन्तलाई  पितृभुमिसँग जोड्न कार्यक्रमको आयोजना गर्न लागेको सिस्नुपानी नेपालका मनोज गजुरेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप