केन्द्रीय संस्करण

निराशाको व्यूहभेदनमा प्रयत्नशील नेपाली जनता !

person explore access_timeअसार ४, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

मुलुकको सम्भावित प्रगतिप्रति हामी तमाम जनतामा आशा हुर्कनुपथ्र्यो, निराशा हुर्केको छ । छन तः आशाको अरुणोदय पनि छ । सँगै खग्रास ग्रहणको सङ्केत पनि छ । आकाशमा प्रदूषणको कालो–निलो बादल त्यत्तिकै विकराल छ । भ्रष्टाचार र कमिसनतन्त्रको मुसलधारे विष–बर्षा वर्षौंदेखि जारी छ । मुलुकमा विकृति विसङ्गतिको बाढी नै उर्लेको  छ । आम जनताका झुप्रा छाप्रा भत्केका छन् । बगेका छन् । कहिले चक्रवात बनेर चल्छ प्रदूषण । जनताकै झुप्रा छाप्रा भत्कन्छ । कहिले भूकम्प बनेर धर्ती हल्लाउँदै मडारिन्छ प्रदूषण । जनताकै रगतपसिनाको स्थापत्य ढाल्छ । देख्दा बेहोर्दा दुःख लाग्छ । जसले जताबाट जति खबरदारी गरे पनि  ‘काग कराउँदै छ पिना सुक्दैछ’ भन्दै  सरकारी ढुकुटी बाँडीचुँडी खाने सत्तासंस्कृति धुरीचढेको देख्दा दुःःख लाग्छ । भ्रष्ट मनोवृत्ति र दलाल प्रवृत्तिका नाइकेहरुले सत्ताका आडमा समाजमा चुरीफुरी प्रदर्शन गरेको देख्दा दुःख लाग्छ । सत्तासीनहरुमा भ्रष्ट मनोवृत्ति र दलाल प्रवृत्ति दिन दुगुना रात चौगुना झाङ्गिएको देख्दा दुःख लाग्छ । जनतालाई झन् झन् निराश बनाएको देख्दा दुःख लाग्छ । अनि साथीहरुसँग दुःख बाँड्न मन लाग्छ । लेख्न मन लाग्छ । लेखनमा आशाकै विजयको सङ्खघोष गर्न मन लाग्छ । आशाकै विजयगीत गाउँन मन लाग्छ  । तै पनि डोरीको एउटा पोयो निराशा पनि छ । यस्तो स्थितिमा लेखन पनि आशा र निराशाको अनमेल पोयोमा बाटिएको अनौठो डोरीजस्तो लाग्छ  र पनि अशा नै डोरीको मुख्य बनोट बनाउन मन लाग्छ—

औंसीका रातमा पिलपिल जुनकिरी झैँ भए पनि

उज्यालो दिन खोज्दैछौं ‘ज्योतिर्गमय’ को कथा ।

घना जङ्गलमा सानो झ्याउँकिरी झैँ भए पनि

आवाज दिन खोज्दैछौं ‘चेतनाको पराश्रम !’

++

हामी हौँ जनता साक्षात् हामी हौँ भूमिमानुष

हामी उर्बर धर्ती हौँ ‘यात्रारम्भान्त’ नै पनि ।

कति आए गए, आए गए, साक्षी छ यो धरा

अँध्यारोका किरा यात्री अँध्यारोमै कठैबरा !

++

उज्यालो किन छेकिन्छ घाम बोकेर दौडिए ?

अँध्यारो किन भाग्दैन उज्यालो सपना भए ?

मान्छेभन्दा महान् स्रष्टा छैन केही जगत्भरी

आस्था विश्वास नै बग्छन् मेरो रातो रगत्भरी ।

++

      निर्मल नदीमा पौडेर निस्कँदा मान्छे निर्मल देखिन्छ । त्यही मान्छे ढलमा डुबेर निस्कँदा मलैमलले विरुप देखिन्छ ।  दुर्गन्धित हुन्छ । मानिसहरु भन्छन् आजको नेपालको सत्ता राजनीति पनि ढल हो । निर्मल मान्छे पनि सत्तामा पौडी खेलेर निस्कँदा मलैमल भएका देखिएका छन् । सुगन्धित पनि दुर्गन्धित भएका भेटिएका छन् ।

      आम जनता निर्मल नदी हो । सत्तामा पसे पनि जनताको छालमा निरन्तर नुहाइरहँदा अर्थात् जनताबीच रहँदा राजनीतिक नेता कार्यकर्ता मैलिँदैनन् । जनताबाट टाढिएको राज्यसत्ता भयङ्कर फोहरमय दुर्गन्धित ढल हो ।

      सत्तासीन राजनेता भनेको राज्यसन्चालनमा जनताले खटाएको प्रतिवद्ध प्रतिनिधि हो, देश र जनताको सेवक हो । उ जनताको निरन्तर सम्पर्कमा हुनुपर्छ । हुनैपर्छ । नभ्याउँदाका स्थितिमा पनि राजनेताले जनताका कान आँखा र विवेकलाई आधार स्रोत बनाएर आपूmलाई समयसचेत तथा स्थितिसचेत राख्नुपर्छ । यसरी नै राजनेताले आपूmलाई राजनीतिक सांस्कृतिक रुपमा समृद्ध राख्न सक्छ ।

      सत्तासीन राजनेताले प्रत्यक्ष भेटेर अथवा विभिन्न माध्यमबाट  सम्पर्क जोडेर जनतासँग “हाम्रा कमी कमजोरी देखाइदिनुहोस्, चाँडो गन्तव्यमा पुग्न सिधा बाटो देखाइ दिनुहोस्, हामी बढीभन्दा बढी खटेर सुशासन दिन चाहन्छौ, चुस्त विकास को उपाय पहिल्याएर छिटो भन्दा छिटो मुलुकको प्रगतिशील रुपान्तरण गर्न चाहन्छौं !” भन्ने कि  “बढी बोल्छस् ? अझ बोल्दैगइस् भने म तँलाई दण्डसजाय ठोक्छु !” भन्ने ? “म नेता त हूँ तर मेरा दुइटा आँखाले मात्र सवै कुरा देख्न नपाएका वा नभ्याएका पनि हुन सक्छन् । तपाइँले देखेका कुरा मलाई बताइदिनुहोस् । देखेको मात्र बताउनुहोस्, नदेखेको देखेपछि बताइदिनुहोस्” भन्दै जनतासँग विनम्रताका साथ पेस हुँदा राजनेतालाई फाइदै हुन्छ । राज नेताले देश र जनताका काममा जिम्मेवारी, इमानदारी समझदारी र बहादुरीका साथ कर्तव्य वहन गर्नसके ‘म यति वर्ष जेल बसेको नेता हूँ त्यसको मूल्याङ्कन हुनुपर्छ’ भनिरहनै पर्दैन । उचित मूल्याङ्कन जनता आपैmले गर्छ । आखिर राजनेता पिँजराको दुःखी सुगा पनि त होइन !

     

पिँजराको सुगा बन्दी, बोल्न सिक्छ त्यहाँ बसी

उड्न बिर्सन्छ पक्षीले महिनौँ नउडेपछि ।

उम्कनै मात्र चाहन्छ पिँजराको सुगा तर

राजनीतिक बन्दी त सुगा होइन आखिर ।

++

हाँसी हाँसी पस्छ जेल, चेतना भर्छ जेलमा

स्वाभाविकै बन्छ जेल, राजनीतिक खेलमा

विचारका पखेटाले झन् झन् उर्जा जुटाउँछ

सृजेता बन्छ झन् नेता जेलमा ज्योति पाउँछ ।

++

चेतना दीप निभ्दैन राँको बन्दछ झन् बरु

जेलले राजनीतिमा उर्जा पो थप्छ झन् अरु

यातनागृह हो जेल, त्यागीका निम्ति यातना

मृत्यु नै पनि क्यै हैन नयाँ बत्ती जगाउन  ।

++

एकबाट अनेकौंमा सल्कने दीप झल्मल

यो त हो ज्योतिको खेती चेतनाको समुज्ज्वल ।

यति वर्ष बसेँ जेल,, पीडा भोगेँ भनेपछि –

त्यागको महिमा मर्छ, मूल्य खोज्ने बनेपछि  !

++

उज्यालोको सपना बोकेर कतिले क्रान्तिकारी राजनीतिक युद्धमा समर्पित रहेर शौर्य वीर्यको सगरमाथा उठाएका छन् । त्यसभन्दा पनि अग्लो कतिले त ज्यानै दिएकाछन् । शहीद भएका छन् । अहिले ती शहीदहरु आएर सत्तासीनहरुलाई तिमीहरु यसमा बस्न लायक छैनौ, छाड, ओर्ल, भने भने यी आजका सत्तासनिहरु के गर्छन् ? शहीदभन्दा पनि महान् त यी आजका सत्तासीनहरु छैनन् !

अव एक छिन विभिन्न डिग्री र पुरष्कारका कुरा गरौं । सत्तासीन राजनेताहरुले विश्वका धार्मिक, अधार्मिक, क्mुधार्मिक विभिन्न्न विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि थापेर,अनि कथित ईश्वरपुत्रीबाट सुशासनको पुरष्कार बण्डल थापेर जनतामा लोकप्र्रियता र सम्मान कमाउन सकिने भए, अथवा पहेँलो पदार्थ पिएर कथित ईश्वरपुत्रीको आशीर्वाद थाप्दैमा जीवन र जगत्को उद्धार गर्न सकिने भए  सत्तासीनहरुले मुलुकमा सुशासन र विकासको सपना सुनाउनै किन पर्दोहो र ? रेल र पानी जहाजका सपना बाँड्न नै किन पर्दो हो र ? नेता र कर्मचारीको तलव भत्ता जुटाउन जनताबाट उठेको कर र विदेशिएका नेपाली युवायुवतिका आँसु, रगत् र पसिनाको कमाइ रेमिट्यान्सको रकम नै खर्चिनु किन पर्दो हो र ? 

यथार्थको धरातलमा उभिएर हेर्दा राजनेताका लागि आफ्नो देश र जनता नै सवैभन्दा श्रद्धेय र भरपर्दो विश्वविद्यालय हो । जनता नै भगवान् हुन् । सेवाले जनताको मन जित्नु नै सबभन्दा उच्च स्तरीय विद्यावारिधि हो । जनताको साँचो माया ममता पाउनु नै वास्तविक आशीर्वाद हो ।

      किसानले ८० वर्षको उमेर हुँदासम्म पनि किसानी गर्छ । हातखुट्टा चल्दासम्म किसानी गर्छ । हात गोडामा हिलो माटो लागेको गुनासो गर्दैन । खल्खली पसिना बग्नेगरेको गुनासो गर्दैन । हत्केलामा ठेला उठेको गुसासो गर्दैैन । घामपानी जाडो गर्मीको गुनासो गर्दैन । किसान प्रकृतिका पात्रोको सङ्केत पढेर त्यस  अनुसार ठीक ठीक समयमा समझदारीका साथ काममा खट्छ । सिजनअनुसार किसानले रोपे–हुर्काएका बोटबिरुवा फुल्छन् । फल्छन् । कुनै बोटले कुनै पनि सिजनमा श्रमी तथा सृजेता किसानको डिग्री वा पीएच्डीको प्रमाण पत्र खोज्दैन ।

      एक समय थियो इन्क्लावी जोस जाँगरले जुर्मुराएका मुलुकका क्रान्तिकारी युवाहरु महाविद्यालय र विश्वविद्यालयको पढाइ छाडेर युगान्तकारी परिवर्तनका लागि जनताको विश्वविद्यालयमा पसेका थिए । यो समय विक्रमाव्दका बीसको दशकको थियो । हजारौं हजार युवाहरु पढाइ छाडेर गाउँ पसेका थिए । राजनीतिक सिद्धान्त र सपनाका लागि त्याग तपस्याको जीवन वरण गर्दै कतिले भूमिगत रहेर त कतिले शिक्षकको आवरणमा रहेर क्रान्तिकारी राजनीतिको प्रचार प्रसार गरे । जनतालाई संगठित गरे । यसै क्रममा कति शहीद भए त कति कारागारमा कोचिए । कतिले सरकारी हिँस्रक आँखा छलेर कर्यक्षेत्रमा आफूलाई बचाए । चालीस र पचासका दशकहरुमा भएका अजङ्गका आन्दोलन र विद्रोहहरु तिनै युवाहरुका त्याग तपस्याका उत्पादन हुन् । आजको गणतन्त्र र लोकतन्त्र तिनै आन्दोलन र विद्रोहको फसल हो । देशभक्त, क्रान्तिकारी, होनहार युवायुवतिहरुको वलिदान र योगदानको फसल हो । यो सवै बिर्सेर गणतन्त्रपछिको दश वर्षमा सत्तासीन राजनेताहरुबाट पुनः व्यापक रुपमा जनताको भेडाकरण योजना बनेर कार्यान्वयनमा आएको देखिनु भयङ्कर दुःखद यथार्थ हो ।

नेता भाषणमा भन्छन्, “जनता हुन् जनार्दन !”

मनैमन तिनै भन्छन्,“ जनता दुनियाँ न हो ।”

गणेशमानजी भन्थे,  “भेडा हुन् जनता सव !”

माननीयहरु ठान्छन्, “खर्कमा खर्किने पशु ।”

++

“जनता मतदाता हुन् त्यत्ति हो उपयोगिता,

बसुन् ती नून चाटेर चौपायासरी खर्कमा ।

तिनैका नाममा फल्छन् कराडौं रुपया भने,

नेताका निम्ति उम्रेका जनता ‘नोट–बोट’ हुन् ।

++

रमाइलो छ संसार जनता छन् जताततै

तिनै फलाउँछन् अन्न, कर तिर्ने पनि तिनै ।

तिनै विदेशमा जान्छन् रेमिट्यान्स पठाउँछन्

तिनैको पसिनाबाट सिंहदर्बार चल्दछ ।”

++

जनता मतदाता हुन्, नोटका बोट हुन् तिनै—

जनता करदाता हुन् यसैले हुन् जनार्दन ? !

अन्यथा जनता भेडा, चुनावी क्षेत्र ‘खर्क’ हो,

नेताका स्वर्गसपना, जनतानिम्ति ‘नर्क’ भो ! !

++

रहेनन् जनता आपूm गोठमा बाँडिएपछि

कार्यकर्ता भए सारा किनारामा परे पनि ।

स्वाधीनता चेतनाको खडेरी नै परेपछि

के गर्ने जनताभित्र ‘जनता’ नै मरेपछि ?

++

नेपाल कसरी बन्छ नेपाली नरहेपछि ?

खोला नै कसरी बन्छ पानी नै नरहेपछि ?

हिमाल कसरी बन्छ हिउँ नै सक्किएपछि ?

उभिन्छ कसरी वृक्ष जरा नै मक्किएपछि ?

++

पुरानामा यिनै चिन्ता, नयाँ जति विदेशमा

नानाथरी विदेशीका जात्रा जम्दै छ देशमा

राजनेता ‘सृजेता र देशभक्त’ नभैदिँदा

हम्रो मुलुक यो आज ‘अन्धेरनगरी’ भयो ! !

++

यी निराशाका आवाजहरु हुन् । जति निराश भए पनि आशाको खेती लगाउन नछोड्ने पनि आखिर जनता नै हो । त्रूmर यथास्थिति उल्टाएर देश र जनताको हित अनुकूल नयाँ स्थिति उभ्याउने पनि जनता नै हो । राजनीतिक चेतनाले जाज्ज्वल्यमान बनेपछि जनता महान् बन्छ । रुपान्तरणकारी अजस्र उर्जा बन्छ । जनताले आफ्नो मार्गदर्शक बत्ती आफ्नै हातमा बोकेर अगाडि बढेपछि अँध्यारो त कहाँ पो अडिन सक्छ र ?

हो, समय लाग्ला । अँध्यारोले पस्कने ठेसविशेष अझै, बेहोर्नु पर्ला । अझै,  सहनु पर्ला । अझै,  पर्खनु पनि पर्ला । हरेक रातपछि बिहान त निश्चित नै छ । जनताका आशा विश्वासको विजय निश्चित नै छ । उज्यालो भविष्य निश्चित नै छ ।

Photo: https://spiritualworld.co.in/

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...