बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैङ्कबाट ऋण लिएर घर र गाडी किन्दै हुनुहुन्छ ? यस्तो छ बैङ्कहरूले लिने ऋणको ब्याजदर

बुधबार, ०४ असार २०७६, ०९ : २०
बुधबार, ०४ असार २०७६

बैङ्क तथा वित्तीय संस्थाले आम मानिसको घर बनाउने  र गाडी चढ्ने सपनालाई साकार पार्दै आएका छन् । बढ्दो सहरीकरण र आधुनिकीकरण पछ्याउने धेरै जसोलाई एउटा राम्रो घर र गाडी होस भन्ने चाहना हुन्छ । तर आफ्नो कमाइ लगाउन खानमै खर्च हुने भएकाले धेरै बचत गर्न नसक्ने अवस्था हुन्छ ।  यस्तो अवस्थालाई बैङ्कहरूले सहज गरिदिएका छन् । मासिक कमाइबाट आएको केही रकम बैङ्कलाई बुझाउने गरी उनीहरूले घरजग्गा र गाडी कर्जाहरू दिँदै आएका छन् । बैङ्कहरूको आधारदरलाई जोडेर उनीहरूले निर्धारण गरेको ब्याजदरका आधारमा कुन बैङ्क घर र गाडी कर्जा दिन सहज र सस्ता छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

तपाईं पनि बैङ्कबाट ऋण लिएर घर बनाउने अथवा गाडी किन्ने सोच्नुभएको छ भने बैङ्कहरूले लिने ब्याजदरमा सबैभन्दा पहिला आँखा डुलाउनुस् । यस्तो छ उनीहरूले घर र गाडी कर्जामा लिने ब्याजदर

राष्ट्रिय वाणिज्य बैङ्क : घर कर्जा

राष्ट्रिय वाणिज्य बैङ्कले घर कर्जा ३ प्रतिशत देखि ५.६७ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । यसमा बेस रेट जोडिन्छ । बेस रेट जोड्दा ५ वर्षसम्मका लागि लिइने घरकर्जामा ९.०५ प्रतिशतसम्मको ब्याजदर कायम गरिएको छ । यदि १० वर्षको लागि कर्जा लिएको छ भने त्यसको लागि १०.०४ प्रतिशतसम्म पर्न जान्छ । १५ वर्षका लागि लिइएको हो भने ११.०४ प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध हुनेछ । यो व्यवस्था यही असार १ गतेबाट लागू भएको हो ।

गाडी कर्जा :

गाडी कर्जा भने ९.३७ प्रतिशतसम्म पाइन्छ । यो आधारदरसहितको ब्याजदर हो ।

नेपाल बैङ्क : घर कर्जा

यही असार १ गतेबाटै लागू हुने गरी नेपाल बैङ्कले पनि ब्याजदर सार्वजनिक गरेको छ । यसको आधार मूल्य ६.९२ प्रतिशत छ ।  छ वर्षे अवधिको घर कर्जाका लागि ९.६७ प्रतिशत ब्याजदर कायम  भएको छ । १० वर्षे अवधिको लागि १०.२८ प्रतिशत ब्याजदर लाग्नेछ  । १५ वर्षे अवधिको घरकर्जाका लागि अधिकतम ११.१४ प्रतिशत ब्याजदर लाग्नेछ ।

सवारी कर्जा

निजी सवारी कर्जा ५ वर्षे अवधिका लागि १०.६४ प्रतिशत ब्याजदर लाग्नेछ । निजी सवारी ७ वर्षे अवधिको कर्जाको ब्याजदर ११.६४ प्रतिशत लाग्नेछ । कमर्सियल सवारी ३ देखि ५ वर्षे अवधिका लागि  ११.६४ प्रतिशत लाग्नेछ । नेपाल बैङ्कले पनि असार १ गतेबाटै यी ब्याजदर कायम गरेको छ ।

प्रभु बैङ्क : घर र गाडी कर्जा

प्रभु घरकर्जा ५ देखि २५ वर्षे अवधिसम्मका लागि ५ प्रतिशत ब्याजदर लाग्नेछ । यसमा आधारदर जोडिनेछ । अहिले बैङ्कको आधारदर ९.१६ प्रतिशत छ यस आधारमा १४.१६ प्रतिशत ब्याजदरमा घर कर्जा पाइनेछ ।

गाडी कर्जा

व्यक्तिगत सवारी कर्जाको पनि आधारदरमा पाँच प्रतिशत थप भएर ब्याजदर निर्धारण गरिएको छ । गाडी कर्जा पनि १४.१६ प्रतिशत ब्याजदरमा पाइन्छ ।

कुमारी बैङ्क : घर कर्जा  र गाडी कर्जा

यसको आधार मूल्य ११.०४ प्रतिशत छ । यसको घर र गाडी कर्जा ८ प्रतिशत व्याजदरमा पाइन्छ तर यसमा आधार मूल्य जोडिन्छ । आधार मूल्य जोडिँदा १९.०४ प्रतिशत पर्न जान्छ ।

मेगा बैङ्क  : यसको घर  र गाडी कर्जा  ६ प्रतिशत ब्याजदरमा पाइन्छ । यसमा आधारदर जोडिँदा १६.२ प्रतिशत पर्न जान्छ । यसको आधारदर १०.२० प्रतिशत छ ।

सानिमा बैङ्क  : सानिमाले घर कर्जा  ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराउँछ । गाडी कर्जा पनि ६ प्रतिशतमा उपलब्ध हुनेछ । यसमा आधार दर भने जोडिनेछ । यसको आधारदर  ९.३८ प्रतिशत छ । यस आधारमा यसको घर रसवारी कर्जामा १५.३८ प्रतिशत ब्याजदर लाग्नेछ ।

प्रभु बैङ्क : प्रभु बैङ्कको घर र गाडी कर्जा ५ प्रतिशत ब्याजदर छ । यसको आधारदर ९.१६ प्रतिशत रहेकाले १४.१६ प्रतिशत ब्याजदर पर्न जान्छ ।

सनराइज बैङ्क : अहिले सनराइज बैङ्कको बेस रेट १०.४ प्रतिशत छ ।  यस आधारमा यसको घर र गाडी कर्जामा १६.४ प्रतिशत ब्याजदर रहेको छ ।

सिटिजन्स बैङ्क : यसको आधार मूल्य १०.६३ प्रतिशत छ । यसले घर किन्न ०.५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्मको ब्याजदरमा ऋण दिन्छ ।

नबिल बैङ्क : यसले घर र गाडी किन्न ५ प्रतिशतसम्मको व्याजदरमा ऋण प्रवाह गर्छ । यसको आधारदर ७.९३ प्रतिशत छ ।

एभरेस्ट बैङ्क : गाडी कर्जा २.७५ प्रतिशतदेखि ६.७५ प्रतिशतसम्मको ब्याजदरमा उपलब्ध गराउँछ । हाउजिङ लोन एक करोडसम्म छ भने ६.५० प्रतिशतसम्म र एक करोडभन्दा माथिको लागि ७.२५ प्रतिशतसम्मको ब्याजदरमा पाइन्छ ।

इन्भेस्टमेन्ट बैङ्क : यसको बेस रेट ८.५४ प्रतिशत छ । यसले १.५ देखि ६ प्रतिशतसम्मको ब्याजदरमा ऋण उपलब्ध गराउँछ ।

एनआईसी एसिया बैङ्क : यसको बेस रेट ९.३६ प्रतिशत छ । यसले ७ प्रतिशतसम्ममा होम लोन उपलब्ध गराउँछ ।

एनसीसी बैङ्क : यसको बेस रेट १०.६३ प्रतिशत छ । यसले ६ प्रतिशतसम्मको ब्याजदरमा घर कर्जा दिन्छ ।

सिद्धार्थ बैङ्क :  यसले घर र गाडी कर्जाका लागि ५ प्रतिशतसम्मको ब्याजदरमा अण दिनेछ । यसको आधारदर १०.३७ प्रतिशत छ ।

नेपाल एसबीआई बैङ्क : यसले घरकर्जा १.२५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्मको ब्याजदरमा दिनेछ । गाडी कर्जा यही दरमा प्रवाह गर्नेछ । यसको आधार दर ९.७३ प्रतिशत छ ।

नेपाल बङ्गलादेश बैङ्क : यसले हाउजिङ लोन १.५० प्रतिशतदेखि ५ प्रतिशतसम्मको ब्याजदरमा दिन्छ । यसको आधारदर १०.५ प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप