शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आयोजक इङ्ल्यान्डको चौथो जित

बुधबार, ०४ असार २०७६, ०८ : ३१
बुधबार, ०४ असार २०७६

घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा चौथो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले अफगानिस्तानलाई एक सय ५० रनले हरायो ।

ओल्ड ट्राफोर्डमा इङ्ल्यान्डले दिएको तीन सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा आठ विकेटको क्षमितमा दुई सय ४७ रनमा समेटिएको थियो ।

अफगानिस्तानका लागि हस्मतुल्ला साहिदीले ७६ रनको अर्धशतकीय पाली खेले । रमात साहले ४६, अस्गर अफगानले ४४, कप्तान गुलबद्दिन नइबले ३७, निजाबुल्ला जाडरनले १५ रन बनाए । इङ्ल्यान्डका अदिल रसिद र जोफरा आर्चरले तीनतीन विकेट लिए । मार्क उडले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा तीन सय ९७ रनको विशाल योगफल खडा गरेको थियो । यो जारी विश्वकपको सर्वाधिक ठूलो योगफल हो । यसअघि इङ्ल्यान्डविरुद्ध पाकिस्तानले तीन सय ४८ रनको योगफल खडा गरेको थियो ।

इङ्ल्यान्डका लागि कप्तान इयोन मोर्गनले शतक र जोनी बेयरस्ट र जोए रुटले अर्धशतकीय पाली खेले । मोर्गनले एक सय ४८ रन बनाए । उनले ७१ बलमा १७ छक्का र चार चौका हानेका थिए । एकदिवसीय क्रिकेटमा मोर्गनको यो १३औं शतक हो । उनले एकदिवसीय क्रिकेटको एउटै पालीमा सर्वाधिक छक्का हिर्काउने कीर्तिमान पनि रचेका छन् ।

यसअघि भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स र वेस्ट इन्डिजका क्रिस गेलको नममा १६ वटा छक्काको किर्तिमान थियो । बेयरस्टले ९० र रुटले ८८, मोइन अलीले ३१ रन बनाए । 
अफगानिस्तानका दौलत जाडरन र कप्तान गुलबद्धिन नइबले तीन तीन विकेट लिए । जितसँगै पाँच खेलबाट आठ अंक बनाएको इङ्ल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अफगानिस्तानले अंकको खाता खोल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप