शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुठी विधेयक फिर्ता लिन काँग्रेस जिल्ला सभापतिहरुको माग

मङ्गलबार, ०३ असार २०७६, १६ : ५८
मङ्गलबार, ०३ असार २०७६

काठमाडौं–नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सरकारले राष्ट्रियसभामा पेश गरेको गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन् । 
काँग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले संस्कृति, परम्परा, पूर्वजले सुम्पेको धरोहर र गौरवको प्रतीक गुठीलाई मास्न सरकार लागिपरेको आरोप लगाउँदै विधेयक फिर्ता लिइनुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । 
‘संविधानमा भएको प्रावधान विपरीत आएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याई गुठीको सम्पत्तिमाथि कब्जाको रणनीति लिएको स्पष्ट हुन्छ’, १६ जिल्ला सभापतिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सर्वसत्तावादतर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र हैन हाम्रो धर्म,संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट हुन्छ ।’

धर्म, संस्कृति र परम्पराको संरक्षणका निम्ति स्थापित भएको गुठीका सम्बन्धमा ल्याइएको विधेयक तत्काल फिर्ता लिई , गुठीमा आइपरिरहेको समस्या समाधान गर्नतर्फ विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ। 

विज्ञप्तिमा विभिन्न मितिमा गुठियारहरु आन्दोलनमा उत्रिदा भएको धरपकडा प्रति दुख व्यक्त व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । 


विज्ञप्तिमा जगदिश्वरनरसिंह केसी (नुवाकोट), अमरसिंह पुन (रोल्पा),सबुज बानियाँ (काठमाडौ) खड्ग बहादुर शाही (मुगु ),नरेश कुमार श्रेष्ठ ( खोटाङ), अमर प्रसाद भण्डारी (प्युठान), हर्ष बहादुर बम (कालिकोट), सन्जय गौतम (बर्दिया), मधु आचार्य (काभ्रेपलान्चोक), प्रम प्रकाश ओली ( रुकुम), उज्ज्वल बराल (सिन्धुली), विकास लामा (सिन्धुपाल्चोक), लिला बोखिम (ताप्लेजुङ), बिदुर बस्नेत (उदयपुर), नरेन्द्र कुमार केरुङ (पाचथर र  हिमाल कर्माचार्य (इलाम) को हस्ताक्षर रहेको छ । 
विज्ञप्तिमा १६ जनामात्रै हस्ताक्षर गर्न उपलब्ध भएपनि ७७ वटै जिल्ला सभापतिहरुको सहमति रहेको केसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप