शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रतिपक्षीलाई बोल्न नदिने प्रवृत्ति बढयो’

मङ्गलबार, ०३ असार २०७६, १६ : ०१
मङ्गलबार, ०३ असार २०७६

काठमाडौँ–नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीसंग प्रतिक्रिया दिँदै उनले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दाबी गरे ।

दलको नेताका लागि बोल्नका समय माग्दा समय नदिएपछि आफुहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएको खाँडको भनाई छ । 

‘सदन भित्र अभिव्यक्ति स्वतन्त्रता कायम हुनुपर्यो । दलको नेताले सदनमा बोलने कार्यक्रम राखेको थियो । सभामुखले बोल्ने समय उपलब्ध गराउनु भएन । जबरजस्ती हामीले बोल्छु भन्दा भन्दै माननिय प्रधानमन्त्रीलाई बोलाउनुभयो । दलका नेताले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए सुल्टो पनि हुन्थ्यो । हाम्रो त्यसमा सहमति थिएन र विरोध गर्यौ’ उनले प्रतिपक्षी दललाई जबरजस्ती बोल्न नजाने प्रवृति देखिएकाले त्यसविरुद्ध उभिएको दावी गरे ।‘खराबप्रवृत्ति विरुद्ध उभिएको हो । अपोजिसनलाई जवरजस्ती बोल्न नदिने मनसुवा, खराब ध्येय भयो । त्यही खराब ध्येयका विरुद्ध हामी उभिनुपर्यो’ उनको भनाई छ । 

यसैवीच खाणले मङगलबार एक विज्ञप्ति जारी गर्दैे प्रतिनिधि सभाको बैठकमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुखले संसदीय अभ्यासलाई उलंघन गर्दै प्रमुख प्रतिपक्ष दलको नेतालाई बोल्न समय उपलब्ध नगराएको भन्दै प्रति आपत्ति प्रकट गरेका छन् । 

‘विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सदनको वेल घेर्नुपर्ने अवस्था सृजना भएको छ । सदनमा प्रमुख प्रतिपक्ष दलका नेतालाई नै बोल्न समय नदिनु सभामुखको गैरउत्तरदायी कार्य हो । यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ’ खाणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

त्यस्तै काँग्रेसले प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि संसदलाई जानकारी समेत नदिएको जनाएको छ । ‘प्रधानमन्त्री देश बाहिर विदेश भ्रमणमा जाँदा संसदलाई सम्बोधन गरी कुन–कुन देशमा भ्रमण गर्ने, कोकोसँग के विषयका छलफल गर्ने र नेपाललाई त्यसबाट के प्रतिफल प्राप्त हुन्छ भन्ने जानकारी दिने प्रचलन हुन्छ । प्रधानमन्त्री यूरोप भ्रमण जाँदा सदनलाई  र जनतालाई कुनै जानकारी नै दिनु भएन । प्रधानमन्त्रीको भ्रमणको पाँच दिन पछाडी मात्र राष्ट्रपति कार्यालयको पत्रबाट सदनलाई प्रधानमन्त्री यूरोप भ्रमणमा गएको जानकारी गराइयो’ काँग्रेसले भनेको छ ।  

केही दिन अगाडी मात्र प्रधानमन्त्रीले जनप्रतिनिधिहरुको प्रश्नको उत्तर दिने क्रममा संसदमा गैरसंसदीय, अमर्यादित शब्दहरु प्रयोग गरेर संसदको मर्यादा घटाउने कार्य गरेको भन्दै सभामुखले प्रधानमन्त्रीले बोल्दा प्रयोग गरेको अमर्यादित र गैर संसदीय शब्दहरु संसदको अभिलेखबाट हटाउने रुलिङ्ग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप