कोपा अमेरिका कप फुटबलमा चिलीको विजयी सुरुवात
मङ्गलबार, ०३ असार २०७६, ०८ : २६
साविक विजेता चिलीले ब्राजीलमा जारी कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा चिलीले एसियाली टोली जापानलाई ४–० गोलले हरायो ।
एकपक्षीय खेलमा चिलीको जितमा इरिक पुल्गरले ४१औं मिनेटमा खाता खोले । इडुरडो भर्गासले ५४औं र ८३औं मिनेटमा दुई गोल गरे । एलेक्सिस सान्चेजले ८२औं मिनेटमा एक गोल गरेका थिए ।
चिली सामु निरिह देखिएको एसियाली पावर हाउस जापानले गोल फर्काउन सकेन । जापान आगन्तुक टोलीको रुपमा कोपा अमेरिकामा सहभागी भएको हो ।
समूह ‘सी’ बाट प्रतिस्पर्धा गरेको जापानले पहिलो खेलमा नमिठो हार खेप्यो । यस समूहमा जापान र चिलीसँगै उरुग्वे र इक्वेडर छ । समूहमा चिली र उरुग्वेले तीन तीन अंक बनाएको छन् ।