शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चक्रपथमा तीन हजार बिरुवा रोपिने

सोमबार, ०२ असार २०७६, २१ : ५४
सोमबार, ०२ असार २०७६

काठमाडौं-वन तथा वातावरण मन्त्रालयले सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ । मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।
 
असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए । “उपलब्ध भएसम्म सरकारी वनका नर्सरी र निजी नर्सरीबाट खरीद गरेर वृक्षरोपण गर्छौं, स्थानीय तह र सडक विभागसँग समन्वय गरी तयारी थालेका छौँ”, उनले भने । चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिनेछ ।
 
वृक्षरोपण गरिएका बिरुवाको संरक्षणका लागि स्थानीय तहका वडा कार्यालय, डिभिजन वन कार्यालय, सडक कार्यालय, स्थानीयवासी लगायतसँग समन्वय गरिने उप–महानिर्देशक केसीले बताए । वृक्षरोपणलाई प्रभावकारी बनाउन विभागले यसअघि सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा छलफल गरिसकेको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेकाले त्यसको पूर्वतयारीका लागि वृक्षरोपण गर्न लागिएको विभागले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप