शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

' बजेट चमत्कारिक भएन'

सोमबार, ०२ असार २०७६, १८ : २०
सोमबार, ०२ असार २०७६

प्रदेश नं २ को विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस र उपलब्धिमूलक कार्यक्रम ल्याउन नसकेको गुनासो उद्योगी व्यवसायीको छ । 

प्रदेश नंं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷०७७ वजेट वक्तव्यमा उद्योग क्षेत्रको विकास र उन्नयनका लागि प्रभावकारी योजना तथा कार्यक्रम ल्याउन नसकेकामा उनीहरुले असन्तुष्टि व्यक्त गरेको हो । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं उद्योगपति अशोक टेमानीले सङ्घीय सरकारजस्तै प्रदेश सरकारले पनि वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको प्रवद्र्धन र विकासका लागि ठोस कार्यक्रम ल्याउन नसकेको उल्लेख गर्दै उद्योग, व्यपार र पारवहन क्षेत्रको विकासका लागि कुनै पनि नमूना कार्यक्रम नभएको प्रतिक्रिया दिए । 

कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी प्रदेशका जनताको आयआर्जन र जीवनस्तरमा सुधार ल्याउने आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको सकारात्मक पक्ष रहेको उनले बताए । 

प्रदेश सरकारले सबल, सक्षम एवं प्रविधिमैत्री दक्ष जनशक्तिको विकास, प्रदेशमा लगानीमैत्री वातावरणको सिर्जना, आर्थिक क्रियाकलापमा तीव्रता ल्याउन भौतिक पूर्वाधारको विकास र प्रदेशका नागरिकलाई सुशासनको प्रत्याभूति गराउने गरी बजेट तर्जुमा गरिएको भनिए पनि उद्योग क्षेत्र र वीरगञ्ज पथलैया औद्योगिक करिडोरको विकासका लागि ठोस र प्रभावकारी योजना ल्याउन नसकेको उल्लेख गर्दै उद्योगपति प्रदीप केडियाले प्रदेशको विकास र समृद्धिका लागि जीवनरेखाका रुपमा रहेको उद्योग व्यवसायको विकासका लागि सरकार गम्भीर हुनुपर्दछ भने । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडिया र पूर्वअध्यक्ष ओमप्रकाश शर्माले सरसर्ति हेर्दा बजेट सकारात्मक देखिए पनि औद्योगिकीकरणतर्फ उन्मुख नभएको प्रतिक्रिया दिए । प्रदेश २ को सरकारले आर्थिक वर्ष २०७६÷०७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप