मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड उपस्थित धुम्बाराहीको कार्यक्रममा पूर्व एमाले अनुपस्थित !

सोमबार, ०२ असार २०७६, १४ : ०८
सोमबार, ०२ असार २०७६

काठमाडौं– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा बनेको एक बर्ष पूरा भैसकेको छ । पार्टी एकीकरणपछि नेकपाका दुई स्थानमा केन्द्रीय पार्टी कार्यालय भएपनि मुख्य कार्यालय तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीलाई बनाइएको छ ।

तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा पनि दुई अध्यक्ष लगायत अन्य शीर्ष नेताका लागि कुर्सी छन् । तर, पार्टी एकीकरण पछि सानादेखि ठुला कार्यक्रम धुम्बाराहीमा हुने गरेका छन् । ती कार्यक्रममा तत्कालीन दुवै पार्टीका नेता कार्यकर्ताको उपस्थित हुने गर्छ ।

तर, सोमबार धुम्बाराहीमा भएको एक कार्यक्रमको दृष्य भने अलिक फरक थियो । उक्त कार्यक्रममा तत्कालीन माओवादीका शीर्ष नेता र कार्यकर्ता उपस्थित हुँदा तत्कालीन एमालेका शीर्ष नेता र कार्यकर्ता उपस्थित थिएनन् । 

कार्यक्रम थियो जनयुद्धका सहिद रितबहादुर खड्काको १७ आँै स्मृति दिवस । पार्टी एकतापछि सहिद खड्काको स्मृति दिवस मनाउने कार्यक्रमको स्थान फेरियो तर कार्यक्रममा सहभागी पात्र भने पुरानै थिए । कार्यक्रमको मिति तय केही दिन अघिनै भएको थियो ।

सोहीअनुरुप प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुने भन्दै अन्य नेता कार्यकर्ताहरुलाई खबर गरिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि प्रमुख अतिथि नेकपा अध्यक्ष प्रचण्ड थिए । 

उनको एक छेउमा थिए पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ । कार्यक्रमको अध्यक्षता गरेकी थिइन् पूर्व माओवादी नेतृ देवी खड्काले । त्यसबाहेक पूर्व माओवादीका नेता जनार्दन शर्मा, दिनानाथ शर्मा, मातृका यादव, गिरिराजमणि पोख्रेल, मणि थापा लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो । 

कार्यक्रममा प्रधानमन्त्री त उपस्थित भएनन्, तत्कालीन एमालेका शीर्ष तहका अन्य कोही नेता पनि उपस्थित भएनन् । तत्कालीन एमालेका तर्फबाट कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, दोलखाका पशुपति चौलागाइ र सांसद पार्वत गुरुङ् उपस्थित थिए । कार्यालय सचिव श्रेष्ठका अनुसार उक्त कार्यक्रममा तत्कालीन एमाले तर्फका नेताहरुलाई पनि खबर भएको थियो । 

कार्यलय सचिव श्रेष्ठ भन्छन्, ‘प्रधानमन्त्रीलाई कार्यक्रमबारे खबर भएको होइन । पार्टीका अन्य केही नेता कार्यकर्तालाई खबर भएको थियो ।’ श्रेष्ठले कार्यक्रम नेकपाकै भएपनि तत्कालीन एमालेका नेता कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेकोे बताए । 

तर, तत्कालीन माओवादी तर्फका एक नेता भन्छन्, ‘पार्टी एकतापछि कार्यकर्तामा नकारात्मक सन्देश नजाओस् भनेरनै धेरै कार्यक्रम धुम्बाराही पार्टी कार्यालयमा गर्छौँ । आजको कार्यक्रममा पनि अध्यक्ष ओली उपस्थित हुने भनेर हामीलाई खबर थियो । तर, उहाँ किन उपस्थित हुनु भएन त्यो प्रश्न होला । आजको कार्यक्रम ठुलो नभएपनि विगतका कार्यक्रममा पनि तत्कालीन एमालेका शीर्ष नेता उपस्थित हुने गर्नु भएको छैन । जसले राम्रो सन्देश गएको छैन ।’

पार्टी एकता पछि फागुन १ गते नेकपाले धुम्बाराहीमा जनयुद्ध दिवस मनाउने कार्यक्रममा पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली लगाएतका नेताहरु अनुपस्थित थिए । त्यस्तै पेरिसडाँडामा हुने कार्यक्रममा पनि तत्कालीन एमाले समूहका नेता कार्यकर्ताको उपस्थिति कमै हुने गर्छ ।

ती नेता थप अगाडि भन्छन्, ‘पार्टी एकता भएपनि भावनात्मक एकता अझै भएको छैन । अहिले पनि पूर्व माओवादीले गर्ने कार्यक्रममा पूर्व माओवादीका नेता कार्यकर्तालाई खबर हुन्छ । पूर्व एमालेको कार्यक्रममा पूर्व एमालेका नेता कार्यकर्तालाई मात्रै खबर हुन्छ । यो प्रवृति राम्रो होइन । यसले दुवै पक्षबीचका नेता कार्यकर्ताबीच दूरी घटाउने भन्दा पनि दूरी बढाउँछ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप