शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ः नेकपाले भन्यो, ‘सत्तापक्षले अपमान गर्यो’

सोमबार, ०२ असार २०७६, १२ : ३०
सोमबार, ०२ असार २०७६

काठमाडौं असार २–प्रदेश २ का प्रतिपक्ष दलका नेता एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले सत्तापक्षले आफूहरुलाई अपमान गरेको बताएका छन् ।

असार १ गते प्रदेशसभामा बजेट टेबल हुँदा आफूहरुलाई जानकारी नै नदिइ गरेको भन्दै नेता मण्डलले सत्तापक्षबाट आफूहरुलाई अपमान गरेको बताएका हुन् ।

बजेट प्रस्तुत भइसकेपछि आधा घण्टाका लागि संसद स्थगित भएको थियो ।

त्यसबीचमा नेकपाका नेताहरुको आफ्नो दलको कार्यालयमा बसेर बजेटको बारेमा छलफल गरिरहेका थिए त्यही बीचमा कुनै जानकारी नदिइ बजेट टेबल गरिएको मण्डलले दाबी गरे । ‘टेबल हुन थालेपछि प्रदेशसभाका सभामुखले एकपटक जानकारी गराउँदा पनि हुन्थ्यो । तर कुनै जानकारी नै नदिइ विपक्षी दलको अनुपस्थितिमा बजेट टेबल भयो,’ उनले भने ।

उनले भने, ‘हाम्रो कुनै विरोधको कार्यक्रम थिएन, ब्रेकको टाइममा हामी आफ्नो कार्यालयमा छलफल गरिरहेका थियौँ । बैठक शुरु भएपछि हामी जाउँला भन्ने तयारीमा पनि थियौं । तर हामीलाई कुनै जानकारी नदिइकन सत्तापक्षले त्यस्तो कार्य गरेको छ ।’

संघीय सरकारलाई निरङ्कुश र तानाशाहको आरोप लगाउने सत्ताधारी दलका नेताहरुले प्रदेश सरकारलाई नै तानाशाह र निरङ्कुशताको शैलीमा चलाइरहेको उनले आरोप लगाए ।

सरकार र सदन हुकुमी शैलीबाट चलाइरहेको आरोप लगाउँदै उनले आफ्नो दलले यसलाई गम्भीर रुपमा लिएको बताए । सदन शुरु भएपछि यसको विषयमा आफूले कुरा उठाउने बताए ।

प्रदेश २ को सरकार समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार हो । शुरुमा नेकपाले पनि सरकारलाई समर्थन गरेको थियो तर बीचमा नेकपाले आफ्नो समर्थन फिर्ता लिएको छ ।

प्रदेशसभाका सभामुख सरोज यादवले बजेटको बारेमा नेकपाले विरोध गरेको कुरा आफ्नो जनकारीमा नरहेको बताए । उनले भनै, ‘आधा घण्टाका लागि स्थगित भएको बैठक सुचारु हुँदा घण्टी बजेको थियो । घण्टी बजेपछि नेकपाका चार पाँचजना उपस्थित थिए, जब वजेट टेबल गर्ने प्रकृया शुरु भयो अनि नेकपाका अन्य सांसदहरु पनि बाहिर निस्केका थिए । नेकपाले विरोध गरेको हो कि के गरेको हामीले केही थाहा पाएनौँ ।’

विरोध गर्दा पनि सदनलाई जानकारी दिनुपर्छ । हामीलाई कुनै प्रकारको जानकारी थिएन । घण्टी वजेपछि सदनले आफ्नो कारवाही शुरु गर्यो र वजेट टेबल भयो, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप