शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओसाका’ उडानको भित्री कथा : जिएसए नियुक्ति र कमिशनको चक्करमा डुबाउँदै राष्ट्रिय ध्वजावाहक

सोमबार, ०२ असार २०७६, ०९ : ५२
सोमबार, ०२ असार २०७६

मध्य वैशाखमा नेपाल वायुसेवा निगमले सार्वजनिक सूचना जारी गर्दै असारको १९ गतेदेखि जापानमा उडान भर्ने घोषणा गर्यो । लामो समयदेखि बहसको विषय बनेको र आर्थिकरुपमा राम्रो मानिएको गन्तव्यमा उडान भर्दा यसले राम्रो प्रतिफल दिने भन्दै निगमले जापानमा सिधै फ्ल्याइट गर्ने जानकारी दियो ।

निगमको निर्णय सुन्दा सुरुमा धेरैलाई खुसी र उत्साहित पनि बनाएको थियो । तर निगमले जहाँ, जसरी र जहिले उडान भर्ने कुरा बताएको थियो, त्यसको सही विश्लेषण गरिएको थिएन भने व्यवसायिक योजना पनि थिएन । जसका कारण वैशाख २० गते मात्रै निगमले विज्ञप्ति जारी गर्दै असार १९ लाई तोकिएको निगमको जापान उडान अगष्ट २९ तारिकसम्मका लागि स्थगित गर्नुपर्यो ।

वैशाखको दोस्रो साता नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेल लगायतको टोलीले असार १९ गतेबाट जापानको ओसाकामा सातामा ३ दिन उडान भर्ने जानकारी दिएका थिए । त्यसलगत्तै निगमले टिकट बुकिङ खोलेर बुकिङ पनि लिन थालेको थियो ।

तर वैशाखको तेस्रो साता सकिनै लाग्दा पनि ओसाकाका लागि टिकट बुकिङ गर्नेहरुको सङ्ख्या बढ्न सकेन । प्रत्येक उडानमा ३÷४ जनाले मात्रै टिकट काटेपछि निगमले जापानको ओसाकामा तत्कालै उडान भर्न नसक्ने भयो र उडान एकाएक स्थगित गर्नुपर्यो ।

किन पाएन निगमले यात्रु ?

नेपाल वायुसेवा निगमले आफ्नो दुईवटा वाइडबडी विमान ए ३३०–२०० बाट जापानको ओसाका र काठमाडौँमा सिधै उडान भर्ने बताएको थियो । सातामा ३ वटा उडान भर्ने कार्यतालिका पनि सार्वजनिक गर्यो । निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) बाट सातामा १४ वटासम्म उडान भर्न सक्ने अनुमति पाएको थियो । त्यही अनुमतिकै आधारमा निगमले जापानको ओसाकामा उडान भर्ने आफ्नो कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर निगमले जुन स्थानका लागि उडान भर्ने योजना बनायो, त्यस स्थानको वास्तविकता बुझेन वा बुझ्न चाहेन । जसका कारण यतिबेला निगमले असार १९ गतेबाट गर्ने भनेको जापानको उडान स्थगित गर्नुपरेको छ र नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । तर निगमले सार्वजनिक गरेको नयाँ तालिकामा पनि ओसाकामा उडान भर्नसक्ने सम्भावना ज्यादै क्षीण छ ।

निगमले आफ्नो ग्राहक मानेको मुख्यतः नेपाली नै हो । अहिले जापानमा करिब १ लाख नेपाली नागरिक रहेका छन् । एक लाख नेपालीमध्ये झण्डै ९० प्रतिशत अर्थात् ९० हजार जति टोकियो वरिपरी रहेका छन् भने ओसाका क्षेत्रमा जम्मा ७ देखि १० हजारको हाराहारीमा नेपाली नागरिक रहेका छन् ।

टोकियोमा दुईवटा विमानस्थल छन्, हानिदा र नारिता । हानिदा विमानस्थल टोकियोको मुख्य शहरमा रहेको छ, भने नारिता अन्तर्राष्ट्रिय विमानस्थल टोकियोबाट ६० किलोमिटरको दुरीमा रहेको छ । हानिदा विमानस्थल सानो विमानस्थल भएकाले यस स्थानमा मुख्यत डोमेस्टिक (आन्तरिक) उडान भर्ने गरिन्छ । कुनै कुनै अवस्थामा अन्तर्राष्ट्रिय उडान पनि भर्ने गरिएपनि अधिकांश समय त्यहाँ आन्तरिक उडान मात्रै भर्ने गरिन्छ । त्यसकारण हानिदा विमानस्थलमा नेपालले उडान भर्न पाउने सम्भावना थिएन । तर हानिदा विमानस्थलबाट उडान भर्न नपाएपनि नेपालले अलिकति पहल गरेको भए नारिता विमानस्थलबाट उडान भर्न सक्ने अवस्था हुन सक्थ्यो ।

किनभने नारिता एअरपोर्ट नजिकै करिब १२ करोड जनसङ्ख्या बसोबास गर्ने गर्छन् । उता, ओसाका अन्तर्राष्ट्रिय विमानस्थल वरिपरीको जनसङ्ख्या जम्मा २ करोडको हाराहारीमा छ । ओसाका विमानस्थलबाट यात्रा गर्नेहरु ओसाका, क्वोटो र कोबे क्षेत्रका बासिन्दाहरु हुन् ।


खासमा निगमको व्यवसमयिक योजनामा सुरुमा ओसाकामा उडान भर्ने योजना थिएन । सुरुमै नारिता विमानस्थलमा उडान भर्नेगरी व्यवसायिक योजना बनाइएको थियो । तर जापानमा जसलाई निगमको जिएसए (जनरल सेल्स एजेण्ट) जिएसए दिन खोजिएको छ, उनकै डिजाइनमा ओसाका उडान भरेर निगम डुबाउने खेल सुरु भएको थियो ।


अब कुरा गरौं नारिता विमानस्थलको ।

नारिता विमानस्थल भन्नु र टोकियो विमानस्थल भन्नु एकैजस्तै हो । किनभने हानिदा विमानस्थलमा अन्तर्राष्ट्रिय विमानले उडान भर्न अनुमति पाउने सम्भावना ज्यादै कम मात्रै हुन्छ ।

त्यसकारण टोकियो नजिकको अधिकांश उडान भर्ने विमानस्थल भनेको नारिता विमानस्थल नै हो ।

नारिता विमानस्थल टोकियोको मुख्य शहरबाट जम्मा ६० किलोमिटरको दुरीमा छ । जापानमा ६० किलोमिटरको यात्रा भनेको ३० देखि ४० मिनेटको समयमा पूरा गर्न सकिन्छ । अझ नारिताबाटै टोकियोका लागि सिधै ट्रेन पनि पाइन्छ । जसका कारण नारिता एअरपोर्ट एकमात्रै विकल्प हो ।

तर टोकियोबाट ओसाका पुग्न भने ३ सय ९७ किलोमिटरको यात्रा पार गर्नुपर्छ । टोकियोबाट नारिता पुग्न कारमा पनि कम्तीमा ६ घण्टा लाग्छ भने बसमा यात्रा गरेमा ७ देखि ९ घण्टाको समय लाग्छ ।

ट्रेनमा गए पनि कम्तीमा ३ घण्टा ३० मिनेटको समय लाग्छ ।

टोकियोबाट ओसाका जानका लागि कारमा करिब १५ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्छ भने ट्रेनमा जानका लागि पनि उत्तिकै रकम लाग्छ । बसमा गए ६ देखि ८ हजार भाडा लाग्छ ।

नेपाल आउनका लागि नारिता विमानस्थलबाट भन्दा ओसाकाबाट आउजाउ गर्न टोकियो वरपर बस्नेहरुलाई कम्तीमा पनि २५ हजार बढी रकम खर्च गर्नुपर्ने हुन्छ भने समय पनि कम्तीमा ९÷१० घण्टा बढी लाग्छ । त्यसकारण पनि अहिले निगमले जापानको ओसाकाबाट काठमाडौँमा सिधै उडान भर्न खोज्दा प्रत्येक उडानमा ३ देखि ५ जनाको हाराहारीमा मात्रै यात्रु पाएको छ । जबकि निगमको वाइडबडी विमानमा २ सय ७४ जना यात्रुले यात्रा गर्न सक्छन् ।

एउटा विमानमा ‘ब्रेक इभन’ हुनका लागि कम्तीमा पनि ७० प्रतिशत अकुपेन्सी (यात्रु) आवश्यक हुन्छ । तर विमानमा जम्मा ४÷५ जनाले मात्रै टिकट काटेपछि निगमले ओसाकामा उडान भर्नसक्ने सम्भावना रहँदैन र उडान भरे पनि घाटा मात्रै हुन्छ ।

एक व्यक्तिको इच्छाले ओसाका उडान !

खासमा निगमको व्यवसमयिक योजनामा सुरुमा ओसाकामा उडान भर्ने योजना थिएन । सुरुमै नारिता विमानस्थलमा उडान भर्नेगरी व्यवसायिक योजना बनाइएको थियो । तर जापानमा जसलाई निगमको जिएसए (जनरल सेल्स एजेण्ट) जिएसए दिन खोजिएको छ, उनकै डिजाइनमा ओसाका उडान भरेर निगम डुबाउने खेल सुरु भएको थियो ।

ओसाका उडान भर्न लगाउने र उक्साउने व्यक्ति भने देवमान हिराचन हुन्, जो लामो समयदेखि जापानमा व्यापार व्यवसाय गरेर बसिरहेका छन् र उनीसँग जापानको नागरिकतासमेत छ । निगम स्रोत भन्छ, तिनै देवमान हिराचनको कर्मभूमि ओसाका रहेकाले निगमले ओसाकाबाटै उडान भर्न लागेको हो ।

हुन त निगमले जापानमा जिएसए नियुक्त गर्न २ पटक बोलपत्र आव्हान गरेको थियो । तर दुई पटककै बोलपत्रमा जिएसए बन्न ‘योग्य’ ट्राभल एजेन्सी नपाएपछि उसले अब नयाँ प्रक्रियाबाट जापानमा जिएसए नियुक्त गर्न लागिरहेको छ ।

निगमको विनियमावली अनुसार २ पटकसम्म बोलपत्र आव्हान गर्दा पनि जिएसए नियुक्त गर्न नसकेमा निगम व्यवस्थापन आफैले जिएसए नियुक्त गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

विनियमावलीको यही ‘लुप होल’ बाट अहिले जापानमा सिधै जिएसए नियुक्त गर्न लागिएको छ ।

र, यस जिएसएका लागि देवमान हिराचनकै कम्पनीलाई पहिलो नम्बरमा राखिएको छ । स्रोत भन्छ, हिराचनसँग ‘जिएसए’ उपलब्ध गराए वापतको कमिसनको कुरा नमिल्दा जिएसएको टुङ्गो भने लागिसकेको छैन ।

अहिले कुनै देशमा जिएसए नियुक्त गर्दा कम्तिमा २ करोडदेखि १० करोडसम्म कमिसन लिने गरिएको छ ।

तर जापानको जिएसए लिनका लागि निगमले टार्गेट दिन खोजेको छ । उडान भर्नकै लागि कम्तिमा ७५ प्रतिशत अकुपेन्सीको टार्गेट लिन हिराचनले मानेका छैनन्, जसका कारण पनि जापानको जिएसएको टुङ्गो अझैसम्म लाग्न नसकेको हो ।


सुरुमा निगमले ओसाका भन्दा पनि नारिता विमानस्थलकै लागि होमवर्क गरेको थियो । त्यसका लागि २५ प्रतिशत काम पनि भइसकेको थियो । तर एकाएक निगमको वोर्ड र व्यवस्थापन मिलेर व्यवसायिक योजनाबिना ओसाकाका लागि उडान भर्ने निर्णय गराए । त्यसको मुख्य कारण भनेको जिएसए नियुक्तिमा चलखेल र कमिशन नै रहेको निगमकै एक निर्देशक बताउँछन् ।


के हो एअरलाइन्समा जिएसए ?

एअरलाइन्सको जिएसए अर्थात् जनरल सेल्स एजेन्ट भनेको कुनै एउटा देशभरीको टिकट बिक्रीको अधिकार लिएर बस्ने संस्था हो । उदाहरणका लागि जापानको जिएसए बनेपछि त्यो कम्पनीले जापानभरबाट टिकट बिक्री गर्ने अधिकार पाउँछ र टिकट खरिद वा विक्री गर्दा उसले कम्तीमा ३ प्रतिशत कमिशन पाउँछ ।

नेपाल एअरलाइन्सले जम्मा १० प्रतिशत कमिशन दिने गरेकामा ट्राभल एजेन्सीले ७ प्रतिशत र जिएसएले ३ प्रतिशत कमिशन पाउने गरेका छन् । एकपटक जिएसए बनिसकेपछि आफ्नो अवधिभर उक्त कम्पनीले टिकट बिक्रीको कम्तिमा ३ प्रतिशत कमिशन पाइरहन्छ ।

अधिकांश देशमा जिएसए आफैले टिकट विक्रीसमेत गर्ने गरेका छन् । जिएसए आफैले टिकट बिक्री गर्दा १० प्रतिशत कमिशन पाउँछन् । त्यसकारण पनि अहिले जिएसए पाउन ट्राभल एजेन्सी तथा कम्पनीहरु १० करोडसम्म खर्च गर्न तयार हुन्छन् ।

जिएसएको कर्तव्य भनेको सम्बन्धित देशमा उक्त एअरलाइन्सको प्रचारप्रसार गर्नु र एअरलाइन्सका लागि कार्यालय खडा गरिदिनु हो ।

अहिले जापानबाट नेपालको भाडा दुईतर्फीमा करिब ८० हजारको हारारामीमा राखिएको छ । २ सय ७४ सिट रहेको वाइडबडी विमानको ७० प्रतिशत अकुपेन्सी भनेको १ सय ९२ जना यात्रु हो । सरदर १ सय ९२ जना यात्रु अर्थात् ७० प्रतिशत मात्रै अकुपेन्सी हुँदा पनि जिएसएले सोझै ३ प्रतिशत कमिशन पाउँदा प्रति उडान ४ लाख ६० हजार रुपैयाँ कमिशन पाउँछ ।

जिएसए आफैले पनि टिकट बेच्ने हुँदा सरदर ५ प्रतिशत जिएसएको कमिशन राख्दा प्रति उडान ७ लाख ६८ हजार रुपैयाँ जिएसएले पाउँछ । त्यसकारण पनि जिएसएका लागि ट्राभल एजेन्सी तथा कम्पनीहरु तँछाडमछाड गर्ने गरेका छन् ।

तर अहिले ओसाका उडानका क्रममा जसलाई जिएसए नियुक्त गरेपनि उसले टार्गेट लिनसक्ने अवस्था छैन ।

ओसाका उडान भएपनि २ महिनामै बन्द हुन्छ

अहिले निगमले जापानको ओसाका विमानस्थलमा उडान भर्न लागेको भएपनि दशैँ र तिहारको समयमा केही उडान हुने भएपनि त्यसपछि ओसाकामा उडान भर्न सक्दैन । त्यसकारण निगमले यदि जापानमा उडान भर्ने नै हो भने नारिता विमानस्थलको विकल्प छैन । ओसाकामा उडान भरेर निगम डुब्ने मात्रै हो, यसले कुनै अर्थ राख्दैन ।

जिएसए र कमिशनका लागि ओसाका उडान !

सुरुमा निगमले ओसाका भन्दा पनि नारिता विमानस्थलकै लागि होमवर्क गरेको थियो । त्यसका लागि २५ प्रतिशत काम पनि भइसकेको थियो । तर एकाएक निगमको वोर्ड र व्यवस्थापन मिलेर व्यवसायिक योजनाबिना ओसाकाका लागि उडान भर्ने निर्णय गराए । त्यसको मुख्य कारण भनेको जिएसए नियुक्तिमा चलखेल र कमिशन नै रहेको निगमकै एक निर्देशक बताउँछन् । निगमका ती निर्देशकका अनुसार सुरुमा ओसाका उडान भर्ने कुरा गर्ने र जिएसएमा अरुको चासो नहुने भएपछि आफ्नालाई नियुक्त गर्ने र राम्रै कमिशन लिने अनि पछि ओसाका बन्द गरेर नारिता सुरु गर्ने नियत रहेको छ । नारितामा करिब ८५ प्रतिशत अकुपेन्सी पुग्ने भएकाले त्यहाँ राम्रो नाफा हुने भएपछि सबैको मिलेमतोमा सुरुमा ओसाकाको मात्रै अनुमति लिएर उडान भर्न लागिएको उनको भनाई छ ।

जिएसए र कमिशनको टुङ्गो लगाउन निगमको टोली जापान जाँदै

जापान उडानका लागि जिएसए नियुक्तिको नयाँ प्रक्रिया सुरु गर्न निगमका अध्यक्ष मदन खरेल र निगमकै वाणिज्य विभागका निर्देशक टंकनिधी दाहाल सोमबार जापान जाँदै छन् । उनीहरु जापानमा जिएसएको नियुक्तिका लागि ‘पहल’ गर्न उता जाँदै छन् ।

निगमले कम्तिमा ६० लाख क्षतिपूर्ति तिर्नुपर्ने

निगमले असार १९ गतेबाट गर्ने भनेको जापानको उडान रद्द गरेपछि अब यात्रुको व्यवस्थापनको जिम्मा पनि उसकै हुन्छ । निगमले मात्रै ७० हजारमा दुईतर्फी उडानको भाडा लिएकामा अन्य एअरलाइन्सबाट पठाउँदा कम्तिमा पनि एक लाख रुपैयाँ तिर्नुपर्छ । अहिले निगमले यात्रुको व्यवस्थापनका लागि अन्य विमान कम्पनीहरुसँग टिकट किन्न लागिरहेको छ । जसका लागि प्रतियात्रु एक लाख ६० हजारको हाराहारीमा खर्च गर्नुपर्ने अवस्था छ । निगमले ७० हजारमा टिकट बेच्दा पनि ट्राभल एजेन्सीहरुलाई कमिशन दिँदा निगमले सरदर ६३ हजार रुपैयाँ मात्रै पाएको थियो । तर अहिले करिब ७० जना यात्रुका लागि नयाँ टिकटको व्यवस्था गर्नुपर्दा निगमलाई ५० देखि ६० लाख नोक्सानी हुने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले रातोपाटीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप