शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको समिकरण बदल्ने खेल भइरहेको खुलासा

आइतबार, ०१ असार २०७६, १८ : ०१
आइतबार, ०१ असार २०७६

काठमाडौं– सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल भइरहेको बताएका छन् । विभिन्न विधेयकलाई लिएर सदन र सडकमा सरकारको विरोध भइरहेका बेला सत्तारुढ दलका प्रमुख सचेतक गुरुङले सरकारको समीकरण फेरबदलको खेल भइरहेको खुलासा गरेका हुन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै उनले नेताहरुको कमीकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाईदा उठाइरहेको र तीनै शक्ति केन्द्रसँगको मिलेमतोमा सरकारको समिकरण फेरबदलको तयारी भइरहेको दाबी गरे ।

उनले भने, ‘विदेशीले शान्ति प्रक्रियालाई अवरोध गर्ने प्रक्रियामा लागिराखेको छ । यहाँका कतिपय दलका नेताहरु यही मुद्धालाई लिएर समिकरणमा खेल्न सकिन्छ कि भनेर सरकार फेर्न सकिन्छ कि भन्ने संकिर्ण सोचबाट पनि हेरिरहेका छन् । कतिपयले यही मुद्धालाई उठाएर पेलेको पेलेइ गरेर आफु सँधै सत्तारुढ बन्न पाईन्छ भन्ने प्रकारको सोचले पनि काम गरिरहेका छन् । कतिपयले यही मुद्धालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने, टुटाउने फुटाउने ढंगले जान सकिन्छ भन्ने संकिर्ण सोचले पनि काम गरिराखेको छ भन्ने लाग्छ ।’

नेताहरुको कमजोरीबाट नाजायज फाईदा उठाएर फेरि नेपालमा विदेशी सेना भित्र्याउने चलखेल भइरहेको पनि उनले उल्लेख गरे । नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रको रुपमा प्रयोग गर्ने दिशामा मुलुक अघि बढेको भन्दै उनले चिन्ता व्यक्त गरे  । नेपालको सार्वभौमसत्ता र अस्मिता रहन्छ कि रहँदैन भन्ने स्थितिमा मुलुक पुगेको दाबी उनले गरे ।

उनले भने, ‘नेपाल अब विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्थान जस्तो मात्रै हुनेवाला छैन । दक्षिण कोरिया मात्रै हुनेवाला छैन । दुईवटा छिमेकी राष्ट्रको बीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन ? त्यो दिशातर्फ जाँदै छ ।’

पश्चिमा शक्तिले फेरि पनि शान्ति प्रक्रियासँग जोडिएको मुद्धालाई हतियारको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै उनले समयमै शान्ति प्रक्रियाका बाँकी विषय टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराए । शान्ति प्रक्रियाका बाँकी मुद्धा सम्बोधन नभएको भन्दै उनले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले पश्चिमा शक्तिकेन्द्रहरु नेपालमा शान्ति कायम हुन नदिने जसरी पनि द्वन्द्व मच्चाउने र द्वन्द्वका मुद्धा समाधान हुन नदिने षडयन्त्रमा लागेको दाबी गरे ।  

नेपालमा फेरि पनि द्वन्द्व निम्त्याएर विदेशी सेना नेपालमा भित्र्याउने छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्ने षडयन्त्रमा विदेशी शक्ति लागेको उनको तर्क थियो । यही उद्देश्य पुरा गर्नका लागि द्वन्द्वकालीन समयका मुद्धालाई अड्काउने काम भएको दाबी पनि उनले गरे ।

विगतमा मुद्धा लगाईएका कयौलाई वारेन्ट काट्दै पक्राउ गर्ने काम तिव्र हुदै गएको भन्दै उनले नेपालको राजनीतिक कोर्षबारे चिन्ताको विषय बनेको बताए । हालै संयुक्तराष्ट्रसंघ समेतको संलग्नतामा पश्चिमा शक्ति केन्द्रहरुले संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध पुर्याउने काम गरेको समेत उनले बताए । संयुक्तराष्ट्रसंघ नेपाल पक्षधर हुँदा हुँदै कुटनीतिक मर्यादा उल्लंघन गरेर नौवटा मुलुकसँग मिलेर संयुक्त वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडा गरेको दाबी उनले गरे ।

उनले भने, ‘यो मुद्धालाई यथावत राखिराख्ने हो भने हेरिराख्नुहोला, यही मुद्धामा टेकेर विदेशी सेना आउनेवाला छ ।’ मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा सहभागी हँुदै उनले एकाधिकार दलाल पूँजीवाद भूमिव्यवस्थापनको मुख्य चुनौती रहेको बताए ।

बहुराष्ट्रिय कम्पनीले बैकसँग ऋण लिने, घरजग्गाको कारोबार गर्ने र सो कारोबारमार्फत ठुलो परिमाणमा जमिन एकाधिकार दलाल पूँजीवादको कब्जामा जाने गरेको भन्दै उहाँले त्यसैमा केन्द्री भएर भुमिसुधार मन्त्रालयले योजना बनाउनुपर्नेमा जोड दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप