बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायमा बढ्यो अस्वस्थ प्रतिस्पर्धा, यसरी हुन्छ डुप्लिकेसनदेखि ट्रेडमार्क चोरी

आइतबार, ०१ असार २०७६, १७ : ३१
आइतबार, ०१ असार २०७६

काठमाडौँ । व्यावसायिक अस्वस्थ प्रतिस्पर्धाकाबीच बजारमा डुप्लिकेसनदेखि ट्रेडमार्क चोरीका घटनासमेत बढ्न थालेका छन् । कमाउनकै लागि व्यवसायीहरू व्यवसायको गलत बाटोतर्फ प्रेरित हुँदै गैरकानुनी काम संलग्न हुनेगरेको पाइएको छ । व्यवसायको नियमविपरीत कुनै कम्पनीको ब्रान्डमा आधारित ट्रेडमार्क चोरीमा केही व्यापारीहरू संलग्न हुने गरेको तत्थ्य फेला परेको हो ।

कुनै अनधीकृत कम्पनीले बजारमा चलेका र प्रतिष्ठित ब्रान्डको ट्रेडमार्क चोरी गर्ने र आफ्नो व्यापार बढाउने खेल भइरहेको पछिल्लो केही घटनाले देखाएको छ । यसैको पछिल्लो उदाहरण हो बजारमा एकै ब्रान्डझैँ लाग्ने रेड बुल र रेड ब्लु ।

केही दिनअघि मात्र रेड बुलले रेड ब्लुमाथि ट्रेडमार्क चोरीको मुद्दा हालेपछि यसको वास्तविकता बाहिर आएको हो । यो घटना बाहिरिएसँगै रेड ब्लु नेपाली बजारमा ट्रेडमार्क दर्ताविना नै कारोबार भइरहेको समेत रहस्योद्घाटन भएको छ ।

नेपाली बजारमा आधिकारिक रूपमा रेड बुल कारोबार गरिरहेको गोर्खा ब्रुअरीले गत वैशाख ९ गते रेड ब्लुमाथि ट्रेडमार्क चोरीको मुद्दा हालेको घटना बाहिरिएको हो । बजारमा कारोबार भइरहेका पेय पदार्थ रेड बुल र रेड ब्लु उस्तै लाग्छन् । तर रेड ब्लुले रेड बुलको ट्रेडमार्क चोरेर व्यापार चम्काइरहेको बुझिएको छ ।

रेड ब्लुले रेड बुलको जस्तै गोरुको चित्र राखेको र बट्टाको साइज र डिजाइनसमेत मिल्दोजुल्दो बनाएर बजारमा आफ्नो ट्रेडमार्क चोरी गरेको भन्दै उद्योग विभागमा उजुरी दिएको थियो ।

यो घटना हुन नपाउँदै विनाट्रेडमार्क रेड ब्लुको कारोबार गरिरहेको रिलायबल नेपाल इम्पोर्ट एन्ड एक्सपोर्टले आफूले ट्रेडमार्कका लागि निवेदन दिएको जनाउँदै रेड बुलले व्यावसायिक टकराब साध्न रेड ब्लुलाई उजुरी गरेको कम्पनीले जनाएको छ । मुद्दाको खण्डन गर्दै सो रेड ब्लु कम्पनीले रेड बुलमाथि नै उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । पाटन उच्च अदालतले समेत रेड ब्लुलाई नै दोषी देखाउँदै रिट खारेज गरिदियो । 

सोही विषयमा उद्योग विभागले रेड ब्लुले गलत काम गरेको भन्दै कम्पनीमाथि रु ५ हजार जरिवाना लगाउँदै रेड ब्लु पेय पदार्थ आयातमा समेत रोक लगाइदिएको छ ।

यता भन्सार विभागले समेत ट्रेडमार्क दर्ताविनाका वस्तुहरू स्वदेश आयात गर्न रोक लगाइएकोे जनाएको छ ।

योसहित अहिलेसम्म ६०० ट्रेडमार्कसम्बन्धी उजुरी विभागमा परेको उद्योग विभागले जनाएको छ । यीमध्ये अधिकांश ट्रेडमार्क आवेदन दर्ता रोक्कासम्बन्धी मुद्दाहरू परेको र केही भने चोरीका उजुरीसमेत परेको उद्योग विगाका उपसचिव टङ्क महतले जानकारी दिएका छन् ।

‘हामीले प्रत्येक वर्ष उद्योग दर्ताका लागि आवेदन आह्वान गर्छौं । यस वर्ष पनि करिब ६ हजारको हाराहारीमा आवेदन आह्वान गरिएकोमा करिब ५ हजारले आवेदन दिएका छन् । उनले भने जसअन्तर्गत करिब ६ सय मुद्दामा ट्रेडमार्क दर्ता रोक्कासम्बन्धी उजुरी परेका छन् । केही भने ट्रेडमार्क चोरीका उजुरी रहेका छन् ।’

महतकाअनुसार विभागमा उजुरी परेका मुद्दाहरूमा विभाग लागिरहेको छ । यद्यपि प्रयाप्त जनशक्ति र स्रोत साधनको अभावमा बजार अनुगमन तथा नियमनमा विभाग लाग्न नसकेको उनको भनाइ छ । 

के हो ट्रेडमार्क ?

कुनै पनि कम्पनीको आफ्नो उत्पादन अङ्कित ब्रान्ड, लोगो वा वस्तुको बौद्धिक सम्पत्ति नै ट्रेडमार्क हो । ट्रेडमार्कविनाका कुनै पनि वस्तु तथा उत्पादनको आयात निर्यात तथा बिक्रीवितरण गर्न पाइँदैन, जुन उद्योग विभागमा दर्ता हुनुपर्छ ।

ट्रेडमार्कसम्बन्धी ऐनमा के छ ?

पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन, २०२२ को दफा १६ देखि दफा १९ सम्म ट्रेडमार्कसम्बन्धी कानुनी प्रावधानको व्यवास्था गरिएको छ । जसअन्तर्गत कसैले दफा १६ को उपदफा (२) उल्लङ्घन गरेमा वा दफा १८ को उपदफा (३) बमोजिम बदर भएको ट्रेडमार्क चलाएमा वा दफा १८ ख. उल्लङ्घन गरेमा विभागको आदेशले कसुरको मात्राअनुसार एक लाख रूपियाँसम्म जरिवाना हुन सक्नेछ र सो कसुरसँग सम्बन्धित सबै माल सामान जफत हुनेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता कैयौँ उत्पादन अहिले बजारमा विनाट्रेडमार्क कारोबार भइरहेका छन् । रेड ब्लु मात्र होइन, रेड स्टार, रेड याक, रेड डिमो लगायतका पेय पदार्थसमेत बजारमा दुरुस्तै ट्रेडमार्कमा बिक्री वितरण भइरहेका छन् । यी पेय पदार्थहरू मात्र होइनन् यसका अलबा अन्य वस्तुहरूमा समेत ट्रेडमार्क चोरी भइरहेका छन् ।

यस विषयप्रति संवनिधतः निकायको खासै ध्यान जान सकेको छैन । यस्ता वस्तुहरू भन्सारबाट सजिलै पास भइरहेका छन् भने हाम्रा बजारमा सजिलै कारोबार भइरहेका छन् ।

यसले बजारमा डुब्लिकेसन त बढाएकै छ, अर्कोतर्फ उपभोक्तासमेत झुक्याइरहेको छ । अर्को तर्फ आधिकारिक ट्रेडमार्क व्यवसायीको बजार साखसमेत गिराइरहेको छ । यसलाई बेलैमा रोक्न नसके कालान्तरमा व्यावसायिक क्षेत्र नै अमर्यादित र अस्तव्यस्त हुने पक्का छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप