केन्द्रीय संस्करण

नेपाली समाजमा विकसित यौनजन्य हिंसा

person explore access_timeअसार १, २०७६ chat_bubble_outline0

-बबिता पोखरेल

नेपाल विविधताले भरिपूर्ण भएको देश हो । सर्वोच्च शिखर सगरमाथा, शान्तिको अग्रदूत गौतम बुद्धको जन्मस्थल, हिन्दुहरूका आरध्यदेव पशुपतिनाथ विश्वमा परिचित देश हो । प्राकृति सम्पदा खोला नाला, ताल तलैया, पहाड, चुरे पर्वत, वनजङ्गल भएको जडीबुटी प्रशस्त भएको देश हो । हिमालयको देश भनेर विश्वसामु चिनिन्छ । धार्मिक विकासमा हिमवत् खण्ड आफैमा चर्चित छ । वैदिक सनाता धर्मको पवित्र तीर्थस्थल र मुक्तिनाथ, देवघाट, मनकामना, विन्ध्यवासिनी स्वर्गद्वारी, मौलाकालिका जस्ता अलौकी शक्ति बोकेको देश हो नेपाल हो । यस्तो सभ्यता र सुसंस्कृत देशमा जन्मेका हुर्केका नाबालिका,

छोरीचेलीहरूको सुरक्षा हुन सकिरहेको अवस्था छैन । यो सुन्दा पनि आफैमा हिनता बोध महसुस हुन्छ । 

नेपाली समाजमा भए गरेका घटनाहरू अहिले सामाजिक सञ्जाल, युट्युब, अनलाइन र पत्रपत्रिकाहरूमा छ्यापछ्याप्ती आउन थालेका छन् । इन्टरनेटमा सहज पहुँचले यसमा आउने समाचार नेपाली समाजको खबर प्रायः मृतक चेलीमाथि बलात्कार, अबोध बालिकालाई आफ्नै बाबु, काका हजुरबा, मामा, दाजु, भाइ तथा छिमेकीबाट बलात्कृत आदि हुने गरेका छन् । बोक्सीको आरोपमा मानिसलाई दिसा खुवाएको र अबोध शिशुलाई जिउँदै काटेर टुक्रा टुक्रा पारेका समाचार आउने गगरेका छन् । 

यस्ता आपराधिक घटना दिनहुँजसो भइरहेका हुन्छन् । घर विद्यालय, सवारी साधन, कार्यस्थल जुनसुकै क्षेत्रमा पनि यौनजन्य हिंसा भइरहेका छन् । यसले आम नेपाली छोरीचेलीलाई असर परिरहेको छ । अपरिचित व्यक्ति मात्र होइन आफन्त, विद्यार्थी, वृद्धा, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका छन् । साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका घटना यत्रतत्र आइरहेका छन् । 

एउटी अबोध बालिकाले सुन्दर संसारको कल्पना गर्न पाएकी हुदिनँ । तर यस्ता हिंसाबाट उनीहरूको संसार नै भताभुङ्ग बनाइदिन्छन् । कैयौँ छोरीचेलीको पीडा कल्पना नै गर्न नसकिने अवस्था छ । हरेक समय कुनै न कुनै बालिका हिंसाको बनेको समाचार आइपुग्छ । यो कल्पनाभन्दा बाहिरको कुरा हुन जान्छ । यसले नेपाली समाज चेतनाको विकासमा होइन, अधो गतिमा बढिरहेको अवस्थामा छ । अहिलेको अवस्थामा छोरीचेली घर, आँगन, छिमेक अनि बाटोमा एक्लै हिँड्न सक्ने अवस्था छैन ।

हाम्रो समाज कताबाट कतातर्फ जाँदैछ ? भन्ने के समाजले साँचै विकासको गति लिएको यही हो । कतै बाबु दोषी छ त कतै काका, मावली गएकी भान्जी मामाद्वारा, स्कुल गएकी छात्रा शिक्षकद्वारा, घरमा एक्लै छोडिएकी बालिका आफ्नै दाजुद्वारा बलात्कृत भएकै छन् । बालिका हुन् या वृद्धा जुनसुकै उमेर समूहका महिला आफ्नै परिवारमा पनि डराउनुपर्ने अवस्था आएको छ । आफ्नै बाबुबाट छोरी बलात्कृत भएका घटना पनि सञ्चारका माध्यमबाट सुनिने गर्छन् । कामदारको रूपमा रहने महिलाको अवस्था त झनै डरलाग्दो पाइन्छ । मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्ने शिक्षकबाट पनि विद्यार्थीहरू यौनहिंसामा परिरहेका छन् । विभिन्न बहानामा छात्रालाई एक्लो पारी जिस्क्याउने, अनावश्यक रूपमा छुने, अश्लील शब्द प्रयोग गर्ने, अश्लील चित्र भिडियो देखाउने, कोट्याउने लगायतका दुव्र्यवहार गरिरहेका हुन्छन् । विद्यार्थी खुलेर यस्ता समस्या आफ्नो अभिभावकलाई सुनाउन र त्यसको प्रतिकार गर्न सकिरहेका हुँदैनन् । जसको कारण यौनजन्य क्रियाकलापमा कमी आउन सकेको हुँदैन ।

हाम्रै समाजले बालिका (छोरी) लाई लक्ष्मी, सरस्वती र देवीको रूपमा पूजा गरेर सम्मान गर्दछ । अहिले समाजमा आएको विकृतिले यिनै बालिकालाई बलात्कारको शिकार पनि बनाई रहेको छ । विगतको राज्यको विद्यमान पितृसत्तात्मक सामाजिक संरचना, लैंङ्गिक, सामाजिक, सांस्कृतिक र आर्थिक विभेदकाले बालिकाहरू झनै शोषित र जोखिम अवस्थामा छन् । घर, परिवार, समुदायदेखि देशका हरेक क्षेत्रमा बालिकाले भेदभाव, दुव्र्यवहार, शोषण, अन्याय सहनुपरेको छ । 

अहिले झनै डरलाग्दो अवस्था आएको छ । छोरी भएकै कारण गर्भमै मर्नुपर्ने अवस्था आएको छ । धेरै छोरीहरू जन्मन नपाउँदै मृत्युवरण हुने अवस्था छ । जन्मिहाले कुनै पनि बेला जुनसुकै ठाउँमा यौन शोषण र यौन हिंसाका शिकार हुने त्रास छ । किशोरी हुनुको प्राकृतिक नियम महिनावारीलाई पनि अपसगुन, अछुतोको रूपमा व्याख्या गर्ने अन्धपरम्पराका कारण सधैँ अपहेलित हुनुपरेको छ । माया, विशेष स्याहार, स्वास्थ्य सेवा र आराम गर्ने समयमा चाहिने अवसरलाई घृणा, दुव्र्यवहार र हिंसाका साथ सामाजिक रूपमा नै तिरस्कृत र अपमानित हुँदै आएका छन् । बालिकाको विकासको मूल अवरोध सामाजिक विभेद, सांस्कृतिक तथा हानिकारक परम्परावादी प्रचलन रहेको प्रष्ट देखिन्छ ।

    यौनजन्य हिंसा अहिले एक सामाजिक समस्याको रूपमा देखिएको छ । एकातर्फ आम जनमानसमा कानुनी अनभिज्ञता रहेको छ भने अर्कोतर्फ कानुनी प्रावधानअनुसार प्रमाण पुर्याउन कठिनाइ देखिन्छ । पारिवारिक सदस्यबीच यस्ता विषयमा खुलेर कुरा राख्न नसक्ने र सामाजिक रूपमा इज्जतसँग तुलना गर्ने परिपाटीले गर्दा यौनजन्य हिंसामा न्यूनीकरण आउन सकेन । यसर्थ सबैले खुलेर यौनजन्य हिंसामा परेको भन्नेलाई सम्मान गरी पीडकलाई कानुनी कठघरामा ल्याउने र दोषीलाई तिरस्कृत गर्ने हो भने यस्ता दुव्र्यवहारमा कमी आउन सक्ने देखिन्छ ।
बलात्कारको घटनालाई लिएर जताततै सरकार र ऐन कानुनको विरोध भइरहेको छ । तर विरोध गर्दैमा यस्ता घटना कम गर्न सकिँदैन । बलात्कारीलाई फाँसी हुने कानुन ल्याउँदैमा बलात्कारको घटना कम हुँदैन । कानुन जादुको छडी हैन । 

कानुन परिवर्तन गर्दैमा मात्र बलात्कार कम गर्न सकिँदैन । बलात्कार कम गर्न सबैमा नारी आमा हुन्, नारी चेली हुन् अनि नारी हरेक पुरुषको जीउने आधार पनि हुन् भनेर सबैको मानसिकता बदाल्नु जरुरी छ । सबै पुरुषहरूले नारीप्रति हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म हरेक दिन नारी बलात्कृत भइरहन्छिन् ।

बालबालिकासम्बन्धी ऐन २०७५ ले पनि विभेदको अन्त्य र बालिकामाथि हुने दुव्र्यवहारबाट संरक्षणका लागि विशेष व्यवस्था गरेको छ । यसको व्यावहारिक कार्यान्वयनको लागि मूल कडीका रूपमा समाजका विद्यमान बालिका तथा महिलामाथि हुने सबै खाले भेदभावको अन्त्य गरी देश विकासमा बालिकाको समान सहभागिताका पूर्ण सुनिश्चितता हुनु वाञ्छनीय छ ।

हाम्रो समाजमा जतिसुकै विकास र परिवर्तनको कुरा आए पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । यहाँ पुरुषवादी सोचाइ परिवर्तन हुन सकेको छैन । समाजको अवस्था र मानिसको मानसिकतालाई हेर्दा बलात्कार गरी मार्नु र छाड्नुमा त्यति ठूलो फरक छैन् ।

बलात्कारबाट पीडितले जहिले पनि पुरुषवादी समाजबाट पटक पटक भावनात्मक बलात्कार भइरहनुपर्छ । बलात्कृत चेलीलाई ज्यूँदै मारिरहन्छ । समाजको डरले कतिपय बलात्कारका घटनाहरू बाहिर आउँदैनन् । आइहाले पनि पैसा र पहुँचवालाहरूले दुई चार हजार रुपियाँ धरौटी रकम तिरेर तिनै बलात्कृत चेलीको अघि खुलेआम घुमिरहन्छन् ।

पैसा र पहुँच नहुनेहरू पाँच वर्षदेखि २० वर्षसम्म जेल बस्छन् । त्यही बलात्कृत महिला अनि सोझा जनताले तिरेको करकै पैसाबाट दाल, भात अनि भत्ता बुझेर बस्छन् । हरेक महिलाप्रति हेर्नै दृष्टिकोणलाई फराकिलो बनाउनसके सभ्य र कुहल व्यक्तित्वको पहिचान दिन सकिन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...