शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुई तेल ट्याकंरमाथिको आक्रमणपछि इरान–अमेरिका बीच द्वन्द्वको सम्भावना बढ्यो

आइतबार, ०१ असार २०७६, १२ : ४४
आइतबार, ०१ असार २०७६

एजेन्सी । अघिल्लो हप्ता गल्फ अफ ओमनका दुई तेल ट्याङ्करमाथि आक्रमण भयो । आक्रमणमा कसको हात भन्ने विवाद चुलिँदै गएर द्वन्द्वको सम्भावना बढेको छ । 

अमेरिकी रक्षा मन्त्रालयले विहीबारको आक्रमणमा इरानी फौजको एउटा हिस्साको हात रहेको दावी गरेको छ ।

उसका अनुसार तेल ट्याङ्करमा आक्रमण हुनु अघि त्यस क्षेत्रको निगरानी गरिरहेको अमेरिकी ड्रोनमाथि मिसाइल हानिएको थियो । त्यो मिसाइल इरानतर्फबाट आएको अमेरिकाको दाबी छ । तर इरानले भने अमेरिकाले लगाएको सबै आरोपहरु खण्डन गरेको छ ।

अमेरिकी रक्षा अधिकारीले बताए अनुसार ड्रोनले दुई तेल ट्याङ्कर नजिक एउटा इरानी वाहन पुगेको तस्विर पनि खिचेको थियो । तथापि तिनले आक्रमणको समयको तस्विर भने सार्वजनिक गर्न सकेका छैनन् । 

तेल ट्याङ्करमाथिको आक्रमण एक महिना भित्रको दोस्रो आक्रमण हो ।

अमेरिकाले अर्को एउटा भिडियो जारी गरेको छ जसमा इरानी नौसनिक कमाण्डो एउटा क्षतिग्रस्त ट्याङ्कर जहाजबाट नपड्किएको बम हटाइरहेको दाबी गरिएको छ ।

हुनत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्वादको सम्भावनातर्फ पनि संकेत गरेका छन् तर यस विवाद बढ्दै गएर ठूलो स्तरको क्षेत्रिय द्वन्द्व सुरु हुने हो कि भन्ने डर पनि उत्तिक्कै देखिन्छ ।

क्षेत्रीय शक्ति इरान र वासिङ्टनबीच तनाव चुलिरहँदा तेल बजारमा पनि तरङ्ग महसुस गरिएको छ । आक्रमण भएको खाडि क्षेत्र हुँदै विश्वको ठूलो मात्रामा तेल बोक्ने ट्याङ्कर आवत जावत गर्ने गर्छन् । 

अन्तर्राष्ट्रिय स्तरमा आरोप प्रत्यारोप

संकटलाई सम्बोधन गर्नेबारे अमेरिकी राष्ट्रपति ट्रम्पले मिश्रित सन्देश दिइरहेका छन् । तेल ट्याङ्करमाथि त्यो समय आक्रमण भएको थियो, जब ट्रम्पको वार्ताको प्रस्ताव बोकेका जापानी प्रधानमन्त्री सिन्जो आबे तेहरानमा थिए ।

आबेको प्रस्ताव इरानका सर्वोच्च नेता अलि खमेनीले अस्वीकार गरिदिएका छन् । त्यसपछि लगतै ट्रम्पले आबेको कुटनीतिक प्रयासमा आफ्नो सम्बद्धता फिर्ता लिए । त्यस घोषणापछि उनले एउटा ट्वीट गरेका छन्, जसमा उनले इरानी नेता तयार नभए आफूहरुलाई पनि कुनै हतार नभएको लखेका छन् ।

ब्रिटिश राजनीतिज्ञले भने यस घटनाको पक्ष विपक्षमा तर्क राखेको देखियो । विहीबारको आक्रमण इरानले नै गरेको हो भन्ने ‘विश्वसनीय प्रमाण’ प्रति प्रतिपक्षी नेता जेरेमी कोरबिनले प्रश्न उठाए ।

कोरबीनले ब्रिटिश विदेश मन्त्रालयको त्यो विश्लेषणको आलोचना गरेका थिए जसले ‘इरानी सेनाभित्रको एक विभागले आक्रमण गरेको’ ‘लगभग निश्चित भएको’ लेखेको छ । 

एउटा ट्वीट गर्दै कोरबिनले भनेका छन्, ‘ब्रिटेनले खाडि क्षेत्रमा जारी तनाव कम गर्ने हिसाबमा अघि बढ्नुपर्छ, झन् बढाउने तिर होइन ।’

कोरबीनको टिप्पणी लगतै सत्तारुढ कन्जरभेटिभ पार्टीका विदेश मन्त्री जेरेमी हन्टले कोरबिनको टिप्पणीलाई ‘निराशाजनक र पहिले थाहा भएको’ बताए ।

साउदी अरब र संयुक्त अरब एमिरेटले आक्रमणको लागि इरानतर्फ औँल्याएका छन् । अरब लिगका प्रमुखले इरानलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

उता रुसले आक्रमणको दोष लगाउने कुरामा हतार नगर्न सतर्क गराएको छ । रुसको विचारमा इरानलाई दोष लगाएर अमेरिकाले त्यस क्षेत्रमा तनाव बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप