बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चालनमा आयो स्मार्ट पार्किङ, एप्सबाटै यसरी गर्न सकिन्छ पार्किङ बुकिङ

आइतबार, ०१ असार २०७६, ११ : ०४
आइतबार, ०१ असार २०७६

काठमाडौं– राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक विशेष समारोहका बीच स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् । 
उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे । 

‘अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न समस्या हुने गरेको छ । यो व्यवस्थासँगै अब न्यूरोड क्षेत्रमा सहज रुपमा पार्किङको सुविधा लिन सक्नुहुनेछ भन्ने विश्वास महानगरले लिएको छ ।’
शाक्यले निकट भविष्यमै स्मार्टपार्किङ अन्य स्थानमा पनि विस्तार गरिँदै लैजाने सो क्रममा बताए । महानगरलाई व्यवस्थित बनाउन आफू प्रयासरत रहेको बताउँदै शाक्यले स्मार्ट पार्किङपनि यही अभियानको एउटा हिस्सा भएको बताए । 

स्मार्ट पार्किङका सञ्चालक कम्पनी ह्विल्स ट्रुलीले पहिलो चरणमा विशाल बजार र धर्मपथमा यो सेवा उपलब्ध रहेको जनाएको छ । त्यसपछि क्रमशः न्यूरोडको प्यूखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्गमा उपलब्ध हुनेछ ।

तीन महिनाअघि स्मार्ट पार्किङ निर्माण र सञ्चालनको जिम्मेवारी पाएको ह्विल्स ट्रूलीका अनुसार उपलब्ध स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ क्षमता रहेको छ । 

स्मार्ट पार्किङको लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्नुपर्छ । एपले पार्किङ स्पेस भए नभएको जानकारी दिएसँगै एपबाटै आफूलाई आवश्यक ठाउँ बुक गर्न सकिनेछ । 

पार्किङको लागि १५ मिनेट पहिले नै बुक गर्ने व्यवस्था मिलाइएको छ । यदि बुक गरेको १५ मिनेट भित्र पार्किङ नगरे बुकिङ रद्द हुने ह्विल्स ट्रुलीले जनाएको छ । बुकिङ गर्ने समयदेखि नै शुल्क लाग्ने र बुकिङ गर्दा गाडी वा मोटरसाइकल नम्बर पनि इन्ट्री गर्नुपर्नेछ । मोटरसाइकलको लागि एक घन्टाको २५ रुपैयाँ र गाडीको लागि ८० रुपैयाँ शुल्क लाग्नेछ । 

जथाभावी सडकमा सवारी पार्किङ गर्ने समस्याको अन्त्य गर्दै व्यवस्थित र सर्वसुलभ पार्किङ सेवा दिन स्मार्ट पार्किङको अवधारणा अघि सारिएको  हो । 

अनावश्यक रुपमा पार्किङ खोजिरहनु नपर्ने हुँदा समयको बचत हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत सघाउ पुग्ने कम्पनीले अपेक्षा लिएको छ । 

अत्याधुनिक र सुरक्षित पार्किङ, महानगरपालिकाले सवारी उठाएर लैजाने चिन्ता नहुने, अनावश्यक जामको झन्झटबाट मुक्त भइने, समयको बचत हुने लगायत स्मार्ट पार्किङको विशेषता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप