शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेठ ३१ गते : प्रदेश ५ हेडलाइन, कहाँ के भयो ?

शुक्रबार, ३१ जेठ २०७६, १९ : ३८
शुक्रबार, ३१ जेठ २०७६

पाँच नम्बर प्रदेशसभा बैठक : नदिजन्य पदार्थको अवैध उत्खनन रोक्न माग
बुटवल । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले नदिजन्य पदार्थको अवैध उत्खनन रोक्न माग गरेका छन् ।  अवैध रुपमा खोला नाला मास्न काम रात दुई गुना दिन ४ गुना वृद्धि  भएको तत्काल रोक्नुपर्ने बताएका छन् । खुल्ला क्रसर उद्योगहरु खोल्ने, भ्याट बिल बिना काम गर्ने गरेको प्रदेशसभा बोल्दै वैजनाथ कलावरले बताए ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै नेकपाकै सांसद भोजप्रसाद श्रेष्ठले संघीय सरकारले केही ऐन संसोधनका नाममा साझा सूचिमा रहेका प्रदेशका अधिकारहरु कटौति गर्दा नदिजन्य पदार्थबाट राज्यलाई अर्बौंको राजश्व गुमेको बताउँदै अधिकार कटौतिकाविरुद्ध प्रदेश सरकाले संकल्प प्रस्ताव ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

सो कुरा यसअघिका बैठकहरुमा प्रमुख प्रतिपक्षी दलका सांसद डिल्लीबहादुर चौधरीले पनि पटक/पटक आवाज उठाउँदै आएका थिए ।

उनले प्रहरी र प्रशाशस सम्बन्धि सुरक्षासम्बन्धी अन्योललाई समाधान गर्न प्रदेश सरकारले छिट्टै प्रदेश प्रहरी र प्रदेश प्रशासन विधेयक ल्याउन सुझाव समेत दिए । नदीहरुमा मनपरी उत्खनन हुने गरेको भन्दै यसबाट राज्यलाई अर्बौंको घाटा भएको बताए । 

उनले योजना तथा सुशासन समिति नहुँदा अनियमितता र विकृति बढ्नुका साथै प्रदेश सरकारका नीति तथा कार्यक्रम, काम प्रभावकारी, पारदर्शी र मितव्ययी हुन नसकेको धारणा राखे ।

प्रदेशको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समितिको ६ महिना म्याद थपले फेरि अलमल्ल ल्याएको र यसले बजेट कार्यान्वयनमा समस्या ल्याउने उनले आशंका गरे ।

नेकपाकै अर्का सांसद कुलप्रसाद पोखरेलले नदिजन्य पदार्थ र वनहरुमा माफियाकरण भएको भन्दै माफियाकरण अन्त्य गरेर सुशासन कायम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले योजना छनौट गर्ने क्रममा सांसदहरुसँग समन्वय नगरेकोमा असन्तुष्टि जनाउँदै उनले समन्यायीक हिसाबले बजेट विनियोजन गर्न माग गरे ।

नेपाली कांग्रेसकी सांसद रमा अर्यालले मापदण्ड विपरित राति ८–९ बजेसम्मसम्म नदीहरुमा मनपरी ढंगले उत्खनन भएको, नदीबाट ढुंगा गिट्टी निकालिएको भन्दै आपत्ति जनाइन् । उनले नदीहरुमा भइरहेको जथाभावी उत्खननलाई प्रदेश सरकारले कडाईका साथ रोक्नुपर्ने माग गरिन् ।

संघीय समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डेयले बुटवल उपमहानगरपालिकाले बुटवल वडा नं १ को बस्तीमा डोजर चलाएर १६ परिवारलाई विस्थापित गरेको भन्दै बिरोध जनाए ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बुटवल उपमहानगरपालिकाले वस्ती हटाएर अदालतको अवहेलना गरेको दावी सांसद पाण्डेले गरे । वर्षायाम लाग्नै लाग्दा उपमहानगरले मानवीय संवेदनासमेत बिर्सेर विना विकल्प उनीहरुलाई विस्थापित गरेको भन्दै सांसद पाण्डेले आपत्ति जनाए ।

कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रदेश र स्थानीय तहले कानुन बनाएर प्रदेश लोकसेवा आयोग गठन गरेर समावेशीको सिद्धान्तका आधारमा कर्मचारी पदपूर्ति गरिनुपर्ने धारणा राखे । संघीय सरकारले गरेको पदपूर्ति विज्ञापन समावेशीको सिद्धान्त विपरित रहेको उनले बताए ।

राजपा सांसद कल्पना पाण्डे लम्सालले बजारमा मल, बिउको अभाव भएकाले किसानले दोब्बर मूल्य तिरेर किन्न बाध्य भएको बताइन् । उनले नदीजन्य पदार्थ उत्खननका सम्बन्धमा अर्थ उद्योग तथा वातावरण समितिले लेखा समितिको मानमर्दन गरेको भन्दै आपत्ति जनाइन् ।

सांसद लम्सालले लोकसेवा आयोगले समावेशी समानुपातिक ढंगले पदपुर्ति विज्ञापन गर्नुपर्ने माग गरिन् । सांसद सुष्मा यादवले तराईका किसानले स्वदेशमा मल र बिउ नपाउँदा भारतबाट कमसल खालका बिउ र मल ल्याउन वाध्य भएको बताइन् ।

पाल्पामा जङ्गली च्याउ खाएर  ६ को मृत्यु
निस्दी गाउँपालिका पाल्पामा जङ्गली च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये ज्यान जानेको सङ्ख्या ६ पुगेको छ । गत शुक्रबार  च्याउ खाएर केही बिरामी भएका थिए । 

जङ्गली विषालु च्याउको तरकारी पकाएर खाएकामध्ये निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी  चारवर्षीय विष्णुसिं ठकुुरी, सातवर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको सङ्घीय सांसद दलबहादुर रानाले जानकारी दिए । 

बिरामीमध्ये  निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंँका विभिन्न अस्पतालमा निधन भएको हो । नजिकैको जङ्गलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए । 

रामीलाई नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँलगायत काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता गरेका छन्  ।  अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र  धनकुमारी सिंहको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका विकटका  चार परिवारका सदस्य बिरामी परेका हुन् । प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए । 

बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा आज कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए । 

आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुगेका सांसद रानाले मृतकका परिवारलाई उचित राहत प्रदान गर्न र बिरामीको सबै स्वास्थ्योपचार सेवा सरकारबाट व्यहोर्न पहल गरिएको जानकारी दिए । 

उनले पटक पटक पाल्पाका विकट भेगमा च्याउ खाएकै कारण ज्यान जाने खतरा यसअघि पनि भएकाले च्याउ खाँदँ सचेत रहन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलिका साथ सबै विरामीको स्वास्थ्यलाभको कामना गरेका छन् । 

हतियारसहित पाँच जना पक्राउ
रुपन्देहीको सैनामैना नगरपालिका –५ बुद्धनगरबाट हतियारसहित पाँच जना पक्राउ परेका छन् ।

बिहीबार राती अन्दाजी १ बजे इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रबिनराज मैनालीको कमाण्डमा खटिएको टोलीले शंकास्पद रुपमा हिँडिरहेका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका – ६ का २० वर्षीय अर्जुन मुसहर, सोही स्थानका २० वर्षीय सुरज दर्जी, २२ वर्षीय मनिस परियार, २९ वर्षीय सालिकराम सुवेदी र १८ वर्षीय प्रदीप मुसहर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता धर्मराज भण्डारीले बताए ।

चेकजाँच गर्ने क्रममा अर्जुन मुसहरको साथबाट घरेल बनावट पेस्तोल १ थान र सुरज दर्जीको साथबाट पेस्तोलमा लाग्ने गोली १ थान फेला परेकोले तत्काल ५ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले जानकारी दिए ।

पाणिनिको संरक्षण गर्न गुरुयोजनाको गृहकार्य
संस्कृत व्याकरणको उद्गम थलो पाणिनि तपोभूमिको दीर्घकालीन गुरुयोजना बनाएर विकास र संरक्षण गर्न गृहकार्य भैरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारले बजेट छुट्टाएर काम अघि बढाइएको छ ।

संघले छुटाएको १० लाख रुपैयाँले विज्ञ राखेर गुरुयोजना बनाउने, प्रदेशले विनियोजन गरेको २० लाख रुपैयाँ बजेटले निर्माणाधीन भ्यू टावर पूरा गर्ने, विद्युत विस्तार र लिफ्ट प्रविधिबाट खानेपानी तान्ने काम यसैवर्ष गरिने भएको हो । 

सडक मर्मत, निर्माणाधीन पोखरीको काम पूरा गर्ने, मूर्ति राख्ने र अन्य पूर्वाधारका काम गर्न पाणिनि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुटाएको छ ।

चार सय वर्ष पहिले पाकिस्तानबाट ऋषिमुनी पाणिनि नाम गरेका व्यक्ति अर्घाखाँचीको पोखराथोक र पणेनाकोबीच जंगलमा ३० वर्षसम्म विश्व शान्तिको कामना गर्दै तपस्या गरेको इतिहास छ । उनले तपस्यासँगै विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचनासमेत गरेको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ ।

पाणिनि गाउंपालिका अध्यक्ष अच्युत गौतमले ऋषिमुनीले शान्तिको कामनाको लागि तपस्या गरेको ठाउँ र संस्कृत व्याकरणको उद्गम थलो भएकाले गुरुयोजना बनाएर यसको संरक्षण र पूर्वाधार निर्माणको काम शुरु गरिने बताए । 

आजदेखि रुपन्देहीमा फुटबलको जिल्ला लिग शुरु
आजदेखि फुटबलको रुपन्देही जिल्ला लिग सुरु हुने भएको छ । जिल्ला फुटबल संघको आयोजनामा हुने लिगमा जिल्लाका २० वटा क्लबको सहभागिता हुनेछ ।

बुटवलको भूपू सैनिक जवई खेल मैदान र तिलोत्तमा रहेको झरना स्पोर्टस क्लबको खेल मैदानमा हुने लिगलाई ४ समूहमा विभाजन गरी प्रतियोगिता सुरु गर्न लागिएको बताइएको छ । १४ गतेसम्म चल्ने लिगमा समूह ‘ए ’तर्फ गोर्खा व्याईज स्पोर्टस, सौभाग्य, सिम्रिक, बुटवल युनाइटेड र लुम्बिनी स्पोर्टस क्लब रहेका छन् ।

त्यसैगरी  समूह ‘बी’ तर्फ इन्टर स्पोर्टस, भूपू सैनिक जवई, सयपत्री, चाँदनी र ख्रिष्टियन युथ क्लब रहेका छन् भने समूह ‘सी’ मा अमरज्योति, कालिका स्पोर्टस, माछापुच्छ«े, सुनौलो संगम र झरना स्पोर्टस क्लब रहेका छन् । त्यसैगरी समूह ‘डी’ तर्फ लिस्नु, फर्साटिकर, नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार, सिद्धार्थ र दुर्गा मन्दिर क्लब रहेका छन् ।

बिहान र साँझ गरी प्रत्येक दिन २ वटा प्रतियोगिता हुने खेल संयोजक लोक पुनले जानकारी दिए । लिग विजेताले नगद १ लाख ११ हजार प्राप्त गर्नेछ भने उपविजेता नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी सेमीफाइनलमा पुग्ने २ टिमले नगद १० हजार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप