बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्याका रुपमा पूर्वी डाँडो देखिएपछि...

बिहीबार, ३० जेठ २०७६, २१ : ५७
बिहीबार, ३० जेठ २०७६

पोखरा– जहाज उडान, अवतरणमा प्राविधिक समस्या हुने देखिएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काटिने भएको छ । पोखरा महानगरपालिका २६ अघौंचोकबाट दक्षिण पश्चिम, विमानस्थलदेखि पूर्वमा पर्ने रिठ्ठेपानी डाँडालाई काट्नुपर्ने भएको हो ।

जहाज उडान अवतरणमा प्राविधिक समस्या हुने भएकाले रिठ्ठेपानीको डाँडा काट्नुपर्ने विमानस्थलका आयोजना प्रमुख बिनेस मुनाकर्मीले जानकारी दिए । ‘सुरक्षित उडानका लागि डाँडोलाई २४.७ मिटर काट्नुपर्ने भएको छ,’ उनले भने, ‘त्यसको लागि वातावरणीय प्रभाव मूल्याँकनको स्टडी पनि भैसकेको छ ।’

स्थानीय जग्गा धनीसँग समन्वय गरी डाँडो छिट्टै काट्ने उनले सुनाए । बर्खायाम सुरु भएकाले पनि काम अघि बढ्न ढिलाई भइरहेको उनको भनाई छ । ‘बर्षा सुरु भइसक्यो । त्यसैले पनि अलिकति ढिलाई भइरहेको छ,’ उनले भने, ‘अब स्थानीयसँगको समन्वयमा छिट्टै काम अघि बढाउँछौ ।’ 

तोकिएको समय अघि नै निर्माण सक्ने गरि विमानस्थलको काम धमाधम भइरहेको छ ।  सन् २०२० को अन्तिम सम्म निर्माण सक्ने गरि काम भई रहेको विमानस्थल आयोजनाले जनाएको छ ।

स्थानीयको दुई मत
डाँडा काट्ने विषयमा स्थानीयको दुई मत छ । जहाज अवतरण र उडानको लागि प्राविधिक हिसाबले पूर्वी भाग मात्र उपयुक्त देखिएपछि यसअघि नै प्राविधिकहरुले २ सय सिट क्षमताको विमानले मात्र उडान भर्ने बताएका छन् । चारैतिर डाँडाले घेरिएको हुँदा अरु ठाउँबाट उडान भर्न गाह्रो हुने विज्ञहरु बताउँछन् । लामो समयको रस्साकस्सीपछि सुरु भएको विमानस्थल निर्माणमा डाँडा कटान गर्नु पर्ने भएपछि अर्को जटिलता थपिएको हो । 

धेरै जसो सार्वजनिक जग्गा भएपनि सो जग्गा केही व्यक्तिको पर्छ । डाँडा काट्नका लागि केही स्थानीय सकारात्मक छन् भने केही विरोधमा । पोखरा २६ वानियाँ पाछामा रहेको डाँडा २४.७ मिटर उचाइ काट्नका लागि तीन सय ८१ रोपनी क्षेत्रफलको डाँडा काट्नुपर्ने हुन्छ । यो मध्ये ८१ रोपनी जग्गा व्यक्तिको नाममा छ भने ३ सय रोपनी जग्गा सार्वजनिक । जंगलसँग जोडिएको जग्गामा टेलिकमको टावर र तल्लो भागमा पातलो बस्ती छ ।

विमानस्थलमा जहाज उडान र अवतरण गर्दा चालकलाई मानसिक रुपमा दवाब पर्ने देखिएपछि प्राविधिकले डाँडाको २४.७ मिटर उचाई काट्नुपर्ने बताएका थिए । उक्त कामलाई पोखरा महानगरको सहयोगमा अघि बढाइ रहेको आयोजनाले जनाएको छ ।

तोकिएको समयभन्दा एक वर्षअघि नै सञ्चालनमा आउने दाबी गरिएको विमानस्थलमा जहाज उडान र अवतरणका लागि डाँडानै काट्नुपर्ने भएपछि विमानस्थल निर्माण लम्बिने होकी भन्ने चिन्ता नागरिकहरुमा बढाएको छ । 

राष्ट्रिय गौरवको यो आयोजना अहिले ४० प्रतिशत काम सम्पन्न भएको छ । यो आर्थिक बर्षमा ४२ प्रतिशत काम सक्ने आयोजनाको लक्ष्य छ । विमानस्थलको रन वे यसअघि नै तयार भइसकेको छ । आकस्मिक अवतरणका लागि विमानस्थल यसअघि नै तयार भई सकेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप