शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरमुखको क्यान्सरविरुद्धको खोप सञ्चालन हुने

बिहीबार, ३० जेठ २०७६, १६ : १६
बिहीबार, ३० जेठ २०७६

काठमाडौँ । नेपालमा प्रत्येक वर्ष क्यान्सरका नयाँ बिरामी बढ्दै गइरहेका छन् । महिलालाई हुने क्यान्सरको अनुपात हेर्दा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ ।  

पाठेघरको मुखको क्यान्सर पछिल्लो समय महिलाको मुख्य समस्या भएको छ । यस क्यान्सरले गर्दा धेरै नेपाली महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । 

नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामको लागि अब खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । 

आर्थिक वर्ष ०७६÷०७७ मा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोपका लागि बजेटमा परेको र राष्ट्रपतिको नीति तथा कार्यक्रममा पनि बजेट विनियोजन गर्ने कुरा भइरहेको हुँदा खोपको पूर्वतयारीमा लाग्ने सरकारको भनाइ छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको भन्दै सरकारले त्यस विरुद्ध खोप कार्यक्रम ल्याउन लागेको हो ।  

यस प्रकारको क्यान्सरमध्ये ७० प्रतिशत रोग ह्युमन प्याटिलेमा भाइरस (एचपीभी) बाट मात्रै लागेको अध्ययनले देखाएको छ । यो खोप ९० प्रतिशत प्रभावकारी रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर प्रत्येक वर्ष दुई लाख ७० हजारभन्दा बढी महिलाको पाठेघरको मुखको क्यान्सरको कारणले मृत्यु हुने गरेको तथ्याङ्क छ । 

नेपालमा प्रत्येक वर्ष करिब १० हजार २० जनामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमा ५० प्रतिशत महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ । यो विकराल समस्यालाई न्यूनीकरण गर्न पनि एचपीभी खोप आवश्यक रहेको छ ।

पाइलट प्रोजेक्टमा १५ हजार सहभागी 
एचपीभी खोप अभ्यासका रूपमा नेपालमा २ जिल्लामा सुरु भइसकेको छ । सन् २०१५ मा कास्की र पोखराको विभिन्न विद्यालय तथा स्वास्थ्य केन्द्रहरूमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु गरिएको थियो । सो समयमा दुई जिल्लाको गरी झण्डै १५ हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । यी दुई जिल्लामा कक्षा ६ मा अध्ययन गर्ने र  विद्यालय बाहिरको १३ वर्ष उमेर समूहका किशोरीलाई एभपीभी खोप दिइएको थियो । यो खोप छ महिनाको अन्तरमा दुई चरण लगाइएको थियो ।

सो समयमा दुई जिल्लामा अभ्यासका रूपमा सञ्चाल गरेको क्यान्सरविरुद्धको खोप कार्यक्रम सरकारको नियमित कार्यक्रममा थिएन । गावीलगायत संस्थाहरूको सहकार्यमा सो समयमा पनि कार्यक्रम सुरु गरिएको थियो । 

आ.व. ०७६÷०७७ को बजेटमा पनि विनियोजन भएको र  राष्ट्रपतिको नीति तथा योजनामा पनि परेको हुँदा वर्ष सो खोप कार्यक्रमको पूर्ण रूपमा लागू गरिने परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए । 

अहिले सरकारको कार्यक्रममा परेको छ । अब खोप कार्यक्रम सञ्चालनलाई तीव्रताका साथ अगाडि बढाउने प्रमुख डा. गौतमले बताए । यो आ.व.मा एचपीभी खोपका लागि बजेट विनियोजन भएको अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भए पनि बजेटको आकार भने सार्वजनिक गरिएको छैन । स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. विकास देवकोटाले अर्काे आर्थिक वर्षबाट भने नेपालमा एचपीभी खोप सुरु गर्न सकिने बताए । 

अहिलेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोपको बारेमा सबै नीति नबनेको हुँदा कति वर्षसम्मकालाई खोप लगाउँने, कुन कम्पनीको खोप दिने, कति डोज दिने जस्ता सबै कुरामा निणर्य गर्न  बाँकी रहेको महाशाखाको भनाइ छ । यो खोप खासगरी बालिकाको यौन जीवन सुरु हुनुभन्दा अगाडि दिँदा राम्रो हुने चिकित्सकले बताएका छन् ।  

एचपीभी खोप किन लगाउने
पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एचपीभी अर्थात ‘ह्युमन प्यापिलोमा भाइरस’ हो । यसका कारण नेपालमा धेरै महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । त पाठेघरको मुखको क्यान्सर अन्य कारणले पनि हुन्छ । गोप्य अङ्गको सरसफाइमा ध्यान नदिँदा, धेरै जनासँग यौनसम्पर्क गर्दा, धेरै सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, अत्यधिक धूमपान गर्ने महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको हुने सम्भावना धेरै हुन्छ । तर सबैभन्दा बढी भने एचपीभी भाइरसकै कारण हुन्छ । यो भाइरसका कारण हुने क्यान्सरबाट जोगिन भने भ्याक्सिन दिन सकिन्छ, जसलाई एचपीभी भ्याक्सिन भनिन्छ । एचपीभी भ्याक्सिन नेपालमा पनि पाइन्छ ।  

यो अन्य भ्याक्सिनभन्दा निकै महँगो पनि छ । निजी स्वास्थ्य संस्थामा एउटै भ्याक्सिनको लगभग ६ हजार रूपैयाँ जति पर्छ । यौन जीवन सुरु गर्नुभन्दा अघि यो भ्याक्सिन दिनु राम्रो मानिन्छ । तर ९ देखि ४५ वर्षसम्मका महिलाले समेत भ्याक्सिन लिन सक्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप