केन्द्रीय संस्करण

सिंजा उपत्यका, मार्सी चामल र नेपालको पहिचान

person explore access_timeजेठ ३०, २०७६ chat_bubble_outline0

 सिंजा उपत्यका र मार्सी चामल दुवै एक अर्कोसँग जोडिएका चर्चित नाम हुन् । गत वर्ष मेडिकल माफिया दुर्गा प्रसाईंको घरमा प्रधानमन्त्री के.पी. शर्मा ओली र उनका समकक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मार्सी चामलको भात खाएको प्रसङ्ग सञ्चार माध्यममा प्रसारित भएपछि भने मार्सी चामलको चर्चाले शिखर नै छोयो । मार्सी धान जुम्ला जिल्लाको प्रख्यात अन्नबाली मानिन्छ ।  सिंजा उपत्यका मार्सी धान उत्पादन हुने उर्वर भूमिका रूपमा पनि प्रख्यात छ । सिंजाको परिचय यति मात्रले पुग्दैन सिंजा उपत्यका खस राज्यको उत्पत्ति र नेपाली भाषाको उद्गमस्थल समेतका दृष्टिले उत्तिकै महत्त्व राख्ने क्षेत्र पनि हो ।

धेरैले भन्ने गर्छन्, सिंजा उपत्यका नेपाली भएर जन्मेपछि एक पटक भ्रमण गर्नै पर्ने ठाउँ हो । समयक्रमले यो पङ्क्तिकारलाई पनि सिंजा पुर्यायो र मार्सी चामलको भात खाने अवसर  पनि  जुर्यो । 
गत हप्ता प्युठान भ्याली एकेडेमीका संस्थापक सदस्यहरू र केही शिक्षकहरू जुम्ला जिल्लास्थित  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्राविधिक शिक्षालय र खस राज्यको उद्गमस्थल सिंजा उपत्यकाको अध्ययन भ्रमण गर्नेक्रममा जुम्ला पुगेका थियौँ । साथै जुम्ला जिल्लाको निकट मुगु जिल्ला र सो जिल्लामा रहेको प्रख्यात स्वर्गकी अप्सराको प्रतीकको रूपमा रहेको रारा तालको समेत अवलोकन भ्रमण गरेका थियौँ । यो अध्ययन भ्रमणका क्रममा देखेका, भोगेका, सुनेका र अध्ययन गरेका विषयवस्तुहरू प्रस्तुत लेखको स्रोत बनाइएको  छ । 

    वि.सं. १२०७ तिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले सिंजा उपत्यकामा खस साम्राज्यको स्थापना गरेका थिए । नागराजलाई जावेश्वर पनि भनिन्थ्यो रे । तिब्बती वंशावलीमा जावेश्वरलाई नागराज भनी उल्लेख गरेको ऐतिहासिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । खस राज्य पूर्वमा नुवाकोट, पश्चिममा कुमाउ गढवाल, उत्तरमा तिब्बत र दक्षिणमा कपिलवस्तुसहित तराईका धेरै भू–भागसम्म फैलिएको थियो । नागराजका सन्तान अशोक चल्लपछि जितारी मल्लले चल्लको सट्टा मल्ल लेखेको भन्ने इतिहासकारको भनाइ छ । खस राज्यको अस्तित्व नेपाल एकीकरण हुनुपूर्व २२६ वर्षसम्म रहेको थियो । खसहरू पूर्व शोभियत गणराज्य अजरबैजानको ककेसस पहाड हुँदै इरान, इराकको बाटोबाट भारतको हिमाञ्चल र उत्तराखण्ड प्रवेश गरेको ऐतिहासिक दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ । यसरी  हिमाञ्चल र उत्तराखण्ड प्रवेश गरेका खसहरू ११औँ शताब्दीको अन्त्यतिर सिंजा उपत्यका प्रवेश गरी बसोवास गर्दै आएको देखिन्छ ।

माथिका हरफहरूमा सिंजा उपत्यकाको विषयमा ऐतिहासिक ग्रन्थहरूमा उल्लेख भएका विषयहरूमा सानो चर्चा गरेँ ।  सिंजा उपत्यका जुम्ला जिल्लाको पुरानो राजधानी हो । यो उपत्यका सिंजा नदी (हिमा) ले सिंचित गरेको उर्वरभूमिको रूपमा समेत परिचितछ  । सिंजा उपत्यकालाई नेपालको कस्मिर भनेर पनि चिनिन्छ । मेरो भ्रमण दलमा रहेका एकाजना प्रतिष्ठित व्यापारी दम्पतीले यो उपत्यका साँच्चिकै स्विजरल्यान्ड जस्तो रहेछ । यो त प्रकृतिको अनुपम उपहार हो । नेपाल र नेपालीले सिंजालाई चिनेको  रहनेछ भनेर चिन्ता व्यक्त गरे । उनीहरूले सिंजा उपत्यकाको मुक्तकण्ठले प्रशंसा गरे र मोहित पनि भए । उनी भन्दै थिए– गत् वर्ष १५ दिनसम्म स्विजरल्यान्ड बस्दाको झझल्को दियो सिंजाले । उनीहरूले भने जस्तो सिंजा साँच्चिकै प्राकृतिकको अनुपम उपहार नै रहेछ ।   

उत्पादनका दृष्टिले स्वर्णिम भूमिरहेछ सिंजा । जुम्लीहरूले सिंजा उपत्यकालाई पूर्ण विषादीमुक्त र अर्गानिक क्षेत्र घोषणा गरेका रहेछन् । सघन र अन्तरवाली कृषि उत्पादन प्रणालीलाई अनुसरण गरिएको रहेछ । स्याउ र फलफूल उत्पादनका लागि भने सिङ्गै जुम्ला जिल्ला प्रख्यात रहेछ । जैविक विविधता र जडीबुटी उत्पादनका दृष्टिले समेत नमुना क्षेत्र रहेछ सिंजा । सिंजालीहरू कूल र प्रकृति पूजाका उपासक रहेछन् । मस्टो पूजालाई विशेष महत्त्व दिएको पाइयो ।

जुम्ला पाराशर गोत्रीय पण्डित परिवारहरूको जन्मथलो पनि हो । जुम्ला जिल्लाको सेरीढुस्का भन्ने गाउँबाट वि.सं. १४१३ सालमा पण्डितका जिजु दुर्लभ पण्डित प्युठान आएको पारशर गोत्रीय पण्डितहरूको वंशावलीमा उल्लेख छ । हाल सेरीढुस्काको नाम परिवर्तन गरी श्रीनगर नामकरण गरिएको रहेछ । सेरी ढुस्कामा बस्ने पाराशर गोत्रीयहरूले रेग्मी थर लेख्ने गरेको पाइयो । पण्डितका जिजुहरूले सिंजाका राजाको दरबारमा पण्डित्याइँ गर्ने गरेकाले सिंजाका राजाले पण्डितका जिजुलाई पण्डितको उपाधि दिएको भन्ने जनश्रुति रहेको छ । यसरी हेर्दा पारशर गोत्रीयहरूको जन्मथलो पनि सिंजा नै भएको र जिजुहरू बसाइँ सराइ गरी सेरीढुस्का आएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । पण्डित मात्र होइनन् खस जातिका धेरै जात जातिहरूको उद्गमस्थल सिंजा उपत्यका भएको इतिहास साक्षी छ ।

सिंजा उपत्यका र सिङ्गो जुम्ला जिल्लामा उत्पादन हुने प्रमुख खाद्यान्न बाली हो मार्सी धान । जुम्लीहरू मार्सी धान पनि रातो र सेतो २ प्रकारको उत्पादन गर्दारहेछन् । हिमा र तिला दुवै नदीको तटमा हजारौँ बिघा जमिनमा धान रोपाइँ हुँदै थियो । नेपालको अधिकांश भू–भागमा पुरानो रैथाने जातको अन्नबाली लोप भइरहेको परिवेशमा जुम्लामा भने पुरानो रैथाने जातको मार्सी धानलाई संरक्षण गरिएको रहेछ । सेतो मार्सीको तुलनामा रातो मार्सी चामल महँगो रहेछ । रातो मार्सीको प्रतिकिलो रु. १५० का दरले बिक्री हुँदो रहेछ । प्रधानमन्त्री ओली र प्रचण्डले मार्सी भात खाएको प्रसङ्ग सञ्चार माध्यममा आएपछि रातो मार्सीेको माग काठमाडौँ लगायत देशका महत्त्वपूर्ण सहर ब्यापारीहरूले माग बढाएकोे स्थानीयहरूको भनाइ थियो । विशेषत काठमाडौँका सम्भ्रान्त वर्गका चुलोमा मार्सी चामलको भात पाक्न थालेपछि मार्सी चामलको माग दिनप्रतिदिन बढ्दै गएको स्थानीय ब्यापारीहरूको भनाइ थियो ।

शासकहरू मिठो खान चाहान्छन् । अर्गानिक खाद्य वस्तु खाएर निरोगी र दिर्घायु जीवन जिउन चाहान्छन् । जुम्लामा बस्ने हुने खाने जुम्लीहरूका लागि मार्सी चामलको भात सामान्य लागे पनि गरिब जुम्लीका लागि रातो मार्सीको भात खान पाउनु सहज छैन । शासकहरूले मार्सी चामलको भात पहिलेदेखि नै खाँदै आएका रहेछन् । राणा प्रधानमन्त्री चन्द्र शमशेरले जुम्लाबाट प्रत्येक दिन प्रतिकिलो मार्सी चामल पठाउन जुम्लीहरूलाई उर्दी लगाएका रहेछन् । रातो मार्सीको धानलाई फोकेर एक मानाका दरले जुम्लीहरूले रातो मार्सी चामल हुलाकमार्फत चन्द्र शमशेरको दरबारमा पठाउने गरेको जुम्लावासीको भनाइ थियो ।

यसले पनि प्रमाणित हुन्छ कि रातो मार्सी शासकको नजर र खान्कीमा पहिलेदेखि नै परेको रहेछ । ओली र प्रचण्ड पनि शासक नै हुन । दुवै जना खानाका शोखी र भोगी दुवै छन् भन्ने सुनिन्छ । 
यसरी रातो मार्सी चामल जनताको खाना नभई शासकको खानामा दर्ज भएको  विभिन्न तथ्यहरूबाट पुष्टि हुन्छ  । आज रातो मार्सी उत्पादन गर्ने जुम्लीहरू राष्ट्रिय विकासको मूल प्रवाहमा जोडिन सकेका छैनन् ।

राज्यबाट र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट कर्णालीका लागि विनियोजन गरिएको रकम बालुवामा पानी हाले जस्तो भएको छ । कर्णाली क्षेत्र पर्यटन, जडीबुटी, जलविद्युत, खाद्यान्न आदिका दृष्टिले समेत उर्वर क्षेत्र रहेछ । तर स्थानीय, प्रदेश र केन्द्र सरकारले उक्त क्षेत्रको विकासमा खासै ध्यान दिन नसकेको स्थानीयवासीको गुनासो पाइयो । जुम्ला जिल्लाको छिमेकी जिल्ला मुगुमा रहेको रारा ताल  साँच्चिकै स्वर्गकी अप्सरा जस्तो रहेछ । तर राराको विकास हुन सकेको रहेनछ ।

समग्र रारा क्षेत्रलाई पर्यटनको हब बनाउन सकिने प्रचुर सम्भावना रहेछ । सरकारी र निजी साझेदारीमा रारा तालको विकास र संरक्षण गरी यो क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्न सक्ने प्रचुर सम्भावना रहेछ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...