बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आफ्नै पहिचानको लडाईमा एलजीवीटीआइ

बुधबार, २९ जेठ २०७६, २० : ०८
बुधबार, २९ जेठ २०७६

काठमाडौं– लामो समयदेखि आफ्नै पहिचानको लडाईमा रहेका एलजीवीटीआइहरु पून एक ठाउँमा भेला भएका छन् । एलजीवीटीआइ  समुदायको संवेदनशीलतालाई लिएर मितिनी नेपालले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

लामो समयदेखि महिला समलिंगीहरुका हक अधिकार र संरक्षणका लागि कार्य गर्दै आएको मितिनी नेपालले समलिंगीहरुको हक अधिकार स्थापितका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ । 

कार्यक्रममा बोल्दै समलिंगी महिला लक्ष्मी घलानले ‘म महिला हुँ तर मलाई पुरुषसँग सहवास गर्न मन पर्दैन, मलाई महिलासँगै अन्तरंग हुन मन पर्छ ’ त्यसैले आफुजस्तै समाजमा रहेका समलिंगीहरुलाई आफ्नो अस्तित्व स्विकार गरी समाजमा खुलेर आउन आग्रह गरीन् । हाम्रो समाजमा यौनका कुरा खुलेर नगर्ने भएकाले विभिन्न कार्यक्रमहरुको आयोजना गरी चेतना जगाउने प्रयास गरेको उनले बताईन् । 

अध्यक्ष घलानले भनिन्, ‘यदि कोही महिलाले आफूलाई पुरुषसँग सम्बन्ध राख्न रुची हुँदैन, महिलासँगै राख्छु भन्छिन् उनको चाहना र फरक यौनिकता हामीले किन अस्वीकार गर्ने ? यो कुनै विकृति होइन, रोग होइन । प्राकृतिक रुपमा केही मानिसहरुमा यस्तो अवस्था सिर्जना हुन्छ भने त्यो प्राकृतिक विषयलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

कार्यक्रममा बोल्दै वशन्तीकुमारी कडायतले आफू राज्यको नीतिका कारण पीडित भएको बताइन् । आफूलाई राज्यले महिलाको रुपमा चिनेको, नागरिकतामा पनि महिला नै उल्लेख भएको तर आफू भावनात्मक रुपमा केटा भएको बताए । 

पुरुषको आवाज, पहिरन र शैली भएका कडायतले आफूलाई राज्यले न्याय नगरेको दुखेसो पोखे । उनले आफू महिला नभएकोबारे आफू, परिवार र समाजलाई बुझाए पनि राज्यलाई भने बुझाउन नसकेको बताए । उनले आफ्नो नाम विपिन भएको र त्यही नामबाट राज्यले नागरिकता दिनुपर्ने विचार राखे ।

एलजीवीटीआइ समुदायमा लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, इन्टरसेक्स जस्ता फरक फरक समूह छन् । यी सबैको फरक फरक शारीरिक र मानसिक अवस्था हुन्छ । यौनिकताको विषयमा मानिसहरु खुलेर बोल्न गाह्रो मान्ने भएकाले समाजमा हेलाको पात्र बन्ने डरले लुकाएर बस्नुपरेको कार्यक्रममा उपस्थित एएलजीवीटीआइहरुले बताए ।

कार्यक्रममा डा. अजयबाबु रिजालले भने, ‘एलजीवीटीआइ कुनै रोग होइन भन्ने कुरा ५० वर्षअघि नै पुष्टि भइसकेको विषय हो । रोग नभएपछि उपचार गर्न पनि परेन । जो जस्तो अवस्थामा छ, उसलाई त्यसैमा सम्मानपूर्वक बाँच्न दिनु नै सही अर्थमा समावेशीता हुन्छ । परक यौनिक हुनु कसैको दोष होइन, यो सबै प्राकृतिक कुराहरु हुन् ।’

संविधानको धारा १२ मा लैंगिक पहिचान सहितको नागरिकता पाउने, धारा १८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद गर्न नपाइने, धारा ४२ मा सामाजिक न्यायको प्रशंग उठाइए पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा समास्यामा परेको एलजीवीटीआइहरुको दुखेसो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप