शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरालाई कसरी बनाउन सकिन्छ थप सुन्दर सहर ?

बुधबार, २९ जेठ २०७६, १९ : २८
बुधबार, २९ जेठ २०७६

पोखरा– पर्यटनको केन्द्र मानिन्छ पोखरा । मानव निर्मित संशाधन भन्दा पनि प्राकृतिक सम्पदाले यहाँको सुन्दरता उँचो बनाएको छ । चारैतिर हरियाली डाँडा, उत्तरमा हिमालको पानारोमा भ्यू, ताल तलैया पोखराको मुख्य आकर्षण हुन् । यहीँ दृश्यले लोभिएर वर्षेनी लाँखौ पर्यटक पोखरा ओरिन्छन् । 

पोखरावासी यही सुन्दरता बेचेर नै बाँचेका छन् भन्दा फरक पर्दैन । बिडम्बना पछिल्लो समय पोखराको प्राकृतिक सौन्दर्य दोहन बढ्दो छ । विकासको नाममा बद्नाम बढ्दो छ । पोखराको सुन्दरता क्रमशः मासिँदै छ । बढ्दो प्रदूषण, अव्यवस्थित संरचना, तालतलैया र सिमसारमाथिको अतिक्रमण, जथाभावी सडक विस्तार, अव्यवस्थित होर्डिङ्ग बोर्ड, जेलिएर यत्रतत्र छरिएका तारहरुले पोखरालाई कुरुप बनाइरहेको छ । 

हचुवाको भरमा थालिएका विकास आयोजनाले भोली पोखरालाई कहाँ पु¥याउँछ भन्नेमा नागरिकहरुलाई संशय उत्पन्न गराएको छ । बढ्दो सहरीकरणले पोखराको सुन्दरता जोगाउन चुनौती थपिएको जानकारहरु बताउँछन् । लामो समयदेखि पोखरा महानगरपालिकासँग नजिक रहेर विकासका खाका कोर्न सहयोग गर्दै आएका आर्किटेक्ट इन्जिनियर बाबुराम भट्टराईका अनुसार बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न महानगरले विज्ञहरुको समूहसँग बसेर योजना बनाउन आवश्यक देखिन्छ ।

‘अबको सिटी ५० वर्षसम्म कुन तरिकाले हिँड्ने भनेर महानगरले विज्ञहरुको सुझाव लिनु आवश्यक छ,’ उनले भने, ‘यसको लागि मास्टर प्लान नै बनाएर ल्यान्ड जोनिङ गरेर । कहाँ हाइराइज जोन, कहाँ रेसिडेन्सियल जोन बनाउने, कहाँ इन्ड्रस्टियल जोन बनाउने भनेर छुट्याउनुपर्छ ।’

योजनाबद्ध तरिकाले विकास निर्माणका कार्य अघि बढाउँदै लग्यो भने सुन्दर महानगर बनाउन सफल हुने उनको तर्क छ । प्राकृतिक सुन्दरता बेचेर मात्रै सँधै कमाउँछु भनेर बस्न नहुने उनको धारणा छ । ‘पोखराले सधै प्रकृति मात्र बेचेर कमाउँछु भनेर सोच्नु पनि गलत छ,’ उनले भने, ‘प्रकृतिको साथसाथै अन्य संरचना पनि आवश्यक छ । एक÷दुई दिन त हामीले सुन्दरता मात्र देखाउला त्यसपछि के देखाउने ?’ 
आवधिक योजना नै बन्न नसक्नाले पनि विकास कसरी गर्ने भन्ने बारेमा नेतृत्व अघि बढ्न नसकेको उनको ठहर छ । रुप फेर्ने खालका ठुला आयोजना सञ्चालन गर्ने महानगरको कुनै योजना अहिले अगाडी बढेको छैनन् । 
गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा अहिले झनै अस्तव्यस्तताको नमुना बन्दै गएको छ । भू–उपयोग नीति बनेको छैन । संरचनाहरूको मापदण्ड छैन । सडक, पानी, ढल, खुला क्षेत्र, पार्क आदिको व्यवस्थापन छैन । नत, यातायत गुरु योजना नै छ । नत ट्राफिक व्यवस्थापन नै गतिलो छ । 

एकातिर जनप्रतिनिधि निर्वाचित भएर आए पछि सिंहदरबार घरघरै आउँछ भन्ने पोखरेलीको अपेक्षा थियो । अर्कातिर केन्द्रले केही अधिकार केही दिएन भनेर गुनासो गरि हिड्ने जनप्रतिनिधि छन् ।  तिव्र शहरीकरणको क्रममा रहेको देशकै ठुलो महानगरलाई एकीकृत विकासको खाचोँ टड्कारो महशुस भएको देखिन्छ । 

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीेले अबको ५० वर्षमा विकास निर्माणका काम कसरी अघि बढाउने भनेर महानगर दूर दृष्टि सहितको प्याकेजको योजना बढाउन लागिपरेको जानकारी दिए । कर्मचारी समायोजनदेखि ऐन कानुन बनाउने साथै स्पिड समात्ने कर्मचारीको अभावको कारण महानगरले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाई छ ।

‘अहिले त हामीलाई समस्या छ,’ उनले भने, ‘कर्मचारी समायोजनदेखि ऐन कानुन बनाउने साथै स्पिड समात्ने कर्मचारीको अभाव रहेकाले समस्या परेको हो । अब ती सबै समस्या फुलफिल गरिसक्यौं अब ती समस्या रहँदैनन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप