बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युएनका पूर्व कर्मचारी पिटर बाल यौन दूराचारमा दोषी ठहर, दण्ड सजायका लागि अर्को बहस हुने

मङ्गलबार, २८ जेठ २०७६, २२ : ४९
मङ्गलबार, २८ जेठ २०७६

काठमाडौं बाल यौन दूरचारको अभियोगका काभ्रे जिल्ला कारागारका बन्दी जीवन बिताइरहेका क्यानेडियाली नागरिक पिटर ड्याल्गिस अन्ततः दोषी ठहर भएका छन् ।  जिल्ला अदालत काभ्रेले सोमबार आफ्नो फैसला सुनाउँदै पिटरलाई दोषी ठहर गरेको हो । 

जिल्ला अदालत काभ्रेले १४ महिना लामो मुद्दालाई सोमबार किनारा लगाएको हो । पिटर बाल यौन दुराचारको अभियोगमा दोषी प्रमाणित भएपनि दण्ड सजायका सम्बन्धमा भने फेरि अर्को बहस हुने पिटरका तर्फबाट कानुनी सहायता दिइरहेका कानुन व्यवसायी राहुल चापागाईँले रातोपाटीलाई बताए । सरकारी वकिलले पिटरलाई ९ वर्षको जेल सजाय र दुई जना पीडित बालकलाई मनासिब क्षतिपूर्तिको मागसमेत गरेका छन् । 

उनी संयुक्त राष्ट्रसंघ (युएन) का पूर्व वरिष्ठ कर्मचारीसमेत हुन् । ६१ वर्षीय पिटर युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा काम गरिसकेका व्यक्ति हुन् । 

यस्तो थियो पिटरको पक्राउ तथा घटना विवरण

नाम - पिटर जोन ड्यालग्लिस
मिति - २०७४ चैत्र २४ गते
स्थान - मण्डन देउपुर, काभ्रे
अभियोग - बाल यौन दुराचार
वर्ष - ६१
देश - क्यानडा
एक जना अति विशिष्ट विदेशी नागरिकलाई पक्राउ गर्न सिआइबीको टोलीलाई ज्यादै कठिन पर्यो । युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर एकिन गर्न पनि प्रहरीलाई ज्यादै कठिन पर्यो । तर जब सिआइबीमा एक अभिभावकले आफ्नो नाबालकमाथि बाल यौन दुराचार भएको गुनासो गरे, तर सिआइबी टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो । 

सन् २००२ देखि पटक पटक नेपाल आएका उनी वास्तवमा बाल यौन दुराचारकै लागि नेपाल आउने गरेका रहेछन् । सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सिनिएर एडभाइजरका रुपमा उनी नेपाल आएका थिए । त्यतिबेला दुई वर्ष नेपालमा बसेका पिटर त्यसपछि पनि नेपाल आउने र जाने गरिरहन्थे । 

त्यही बीचमा पिटर युएनको कन्ट्री रिप्रिजेन्टेटिभका रुपमा अफगानिस्तानमा ५ वर्ष काम गरे । त्यतिबेला पनि उनको ‘नेपाल प्रेम’ रोकिएन । सन् २००२ देखि नै उनले नेपालमा बाल यौन दुराचार गरेको प्रहरीको निष्कर्ष छ ।

त्यतिबेलादेखि नै पिटरले गरिब बालबालिकालाई पढाइदिने, आर्थिक सहयोग गर्ने र बदलामा बाल यौनदूराचार गर्ने गरेको प्रहरीको भनाई छ । पिटरले सन् २००२ देखि करिब ५० जना बालबालिकालाई आर्थिक तथा शैक्षिक सहयोग गरेको र उनीहरुमध्ये अधिकांशलाई पिटरले यौन दुराचार गरेको आरोप छ । 

सन् २००९ बाट भने नेपालमा नै पिटरले जग्गा जमिन किनेर ‘फार्म हाउस’ खोल्ने निर्णय गरे । पहिलोपटक आइएलओमा काम गर्दा चिनेका व्यक्ति थिए ठेंचोका चिरिकाजी महर्जन । महर्जन खासमा माली थिए र उनी सोझा व्यक्ति थिए । 

पिटरले तिनै महर्जनलाई विश्वासमा लिएर उनको नाममा शहरी क्षेत्रभन्दा धेरै टाढा काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गा किने । त्यही जग्गामा उनले ‘फार्म हाउस’ खोले । र, त्यही फार्म हाउसलाई उनले आफ्नो यौन दुराचारको अखडा बनाए । 

३ वटा मानार्थ पिएचडी तथा कैयन् सम्मान पाएका व्यक्ति पिटर हालका क्यानेडियन प्रधानमन्त्रीसँग पनि नजिक भएको प्रहरी बताउँछ । यस्तो व्यक्तिलाई पक्राउ गर्नका लागि करिब ३ दिन सिआइबी टोलीले ‘रेकी’ गरेको थियो ।

अन्ततः दुई जना पीडित बालकसँगै सुतिरहेको अवस्थामा सिआइबी टोलीले पिटरलाई आफ्नै फार्म हाउसबाट २०७४ चैत्र २४ गते बिहान ५ बजे रङ्गेहात पक्राउ गर्यो । र, यो मुद्दामा पिटरलाई जिल्ला अदालत काभ्रेले सोमबार मात्रै दोषी ठहर गरेको हो । 

यो पनि पढ्नुहोस्ः

एक ‘हाइप्रोफाइल’ बाल यौनदुराचारी : जसले प्रहरीलाई नै चकित बनाए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप