शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रकाशकीय : हाम्रो ध्येय निरन्तर खबरदारी

सोमबार, २७ जेठ २०७६, १२ : ५३
सोमबार, २७ जेठ २०७६

 २०७० जेठ २७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको रातोपाटी डटकम आजदेखि छैटौँ वर्ष पार गरी सातौँ वर्षमा प्रवेश गरेको छ । 

छैटौँ वार्षिकोत्सवको यस उपलक्ष्यमा डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटीलाई आफ्नो दैनिक जीवनसँग जोड्नुहुने हाम्रा सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार प्रकट गर्दछौँ । 

पाठकलाई सुसूचित गराउँदै राज्यको नीति निर्माण तहलाई झकझक्याउँदै जिम्मेवार र तथ्यपरक पत्रकारितामा हामी अहोरात्र क्रियाशील छौँ । नेपालको सङ्घीय मोडलको पहिलो अनलाइन रातोपाटीप्रति आदरणीय पाठकहरूले देखाउनुभएको स्नेह, विश्वास र सद्भावले हाम्रो सिङ्गो टिमलाई उत्साहित बनाएको छ ।  त्यसैले रातोपाटी अहिले लाखौँ पाठकको माया पाउँदै नेपालकै एक प्रतिष्ठित अनलाइनका रूपमा दरिन पुगेको छ । 
नेपाली राजनीतिका गौरवपूर्ण क्रान्ति, आन्दोलन र सङ्घर्षले स्थापित गरेका उपलब्धिलाई संस्थागत गर्ने कार्यलाई बितेका ६ वर्षको दौरानमा हामीले विशेष जोड दियौँ ।

 यो बीचमा संविधानसभाबाट नयाँ संविधान, तीन तहकै निर्वाचन, स्थानीयदेखि केन्द्र सरकार गठनले राजनीतिक स्थायित्व र राजनीतिक उपलब्धि संस्थागत भए पनि जनताका गुनासा दिनानुदिन बढ्दो छ । नेपाली जनतालाई सुखी र समृद्धि बनाउने देशको कार्यभार यतिबेला भए पनि त्यो अनुरूप अझै काम भएका छैनन् ।

 सुशासन, समृद्धि र विकासको मुख्य कार्यभारबाट मिडिया उद्योग टाढा रहन सक्दैन । यो छैटौँ वर्षको अवसरमा हामी आगामी दिनमा सुशासन, विकास र समृद्धिका लागि चौथो अङ्गले निर्वाह गर्ने भूमिकामा अग्रपङ्क्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाउँछौँ । 

समृद्धिको नारा कागजमा होइन आधारभूत जीवन जिउन नसकेका आम जनताका पक्षमा केन्द्रित हुनुपर्छ भन्ने रातोपाटीको स्पष्ट मान्यता रहेको छ । सँगसँगै फरक मत र मागप्रति निषेध होइन त्यसको सम्मान गर्न हामी सबैले सिक्नुपर्छ । 

सरकारका विरुद्ध भएका असन्तोषलाई पनि संविधानसम्मत र वार्ताका माध्यमबाट समाधान गरिनुपर्छ भन्ने रातोपाटीको धारणा छ । मुखले पारदर्शी बताए पनि अपारदर्शी बन्ने केन्द्र, प्रदेश र स्थानीय तहका सरकारलाई पारदर्शी र जनताप्रति जवाफदेही बनाउन हामी निरन्तर खबरदारी गर्ने छौँ । ‘सबैको सबैभन्दा राम्रो’ मूल ध्येयका साथ अघि बढिरहेको रातोपाटीलाई प्रमुख चुनौती आफैसँग छ । हाम्रा प्रतिस्पर्धी हामी आफै हौँ र हामी नै हरेक दिन दौडमा सामेल भइरहने छौँ । 

जनयुद्ध, जनआन्दोलन, तराई मधेस केन्द्रित आन्दोलनबाट प्राप्त समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक र धर्म निरपेक्षताको राजमार्गलाई मजबुत बनाउने र यसलाई कमजोर बनाउनेप्रति पनि हामी हाम्रा पाठकलाई सदा जागरुक र सतर्क बनाउने कामबाट कहिल्यै दृश्य अदृश्य बनिबनाउ एजेन्डा अघि सारेर पत्रकारिता गर्ने हाम्रो नीति छैन । 

हामीलाई कसैसँग पनि लिखित अलिखित अनुबन्धित भएर काम गर्नुपर्ने बाध्यता पनि छैन । सत्ता र शक्तिमा रहेका वा नरहेकाहरूमाथि निरन्तर प्रश्न उठाउने र जनताका तर्फबाट जनताकै लागि हरक्षण खबरदारी गर्ने अभियानमा हामी लागिरहने छौँ । 

आउँदा दिनमा रातोपाटीबाट सञ्चालित अनलाइन टीभीलाई सशक्त बनाउने र परिवर्तनको मार्गचित्रअनुसार हरेक प्रदेशमा प्रदेश कार्यालय राखेर जनताका सुखदुःखमा साथी बन्ने हाम्रो योजना छ । 

अन्त्यमा फेरि रातोपाटीको सिङ्गो परिवार, सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता र देशविदेशमा रहनुहुने अमूल्य पाठकबाट सदाझैँ स्नेह, सद्भाव र विश्वासको अपेक्षा गर्दछौँ । 

विजया शर्मा 
अध्यक्ष, डिस्कवरी न्युज नेटवर्क​ प्रालि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप