केन्द्रीय संस्करण

जनताको मनोबल उठाउन सक्ने नेतृत्वको खोजी

person explore access_timeजेठ २७, २०७६ chat_bubble_outline0

धेरै सैद्धान्तिक विषयभन्दा पनि हामीले ख्याल गर्नैपर्ने पक्ष हो आजको संविधानको सिद्धान्त र अधिकार । नयाँ संविधान घोषणामा देखिएको जनताको उत्साह कम हुँदै जानुका कारण के होलान् भनेर हेर्ने हो भने हामीले भनेको लोकतन्त्रको प्रश्न पहिलो बन्छ, जसले जनतालाई सर्वशक्तिमान बनाएको छ । जनताद्वारा निर्देशित मात्र नभई समानुपातिकता र समावेशितालाई स्वीकार गरेको छ ।

सबै विभेदको अन्त्यको घोषणा मात्र नभई सामाजिक न्यायको विषयलाई प्राथमिकतामा राखेको छ । लोकतान्त्रिक मूल्य मान्यताका आधारका रूपमा प्रतिस्प्रर्धा, प्रेस तथा वाक स्वतन्त्रतामा मात्र सीमित नरही मौलिक अधिकारका रूपमा स्वास्थ्य, शिक्षा, रोजगार, आवास एवं खाद्य सम्प्रभुतालाई प्राथमिकताका साथ स्पष्ट गरेको छ । आर्थिक आत्मनिर्भतालाई जोड दिँदै समाजवादतिरको यात्रालाई आफ्नो गन्तव्य बनाएको छ । संविधानमा उल्लेखित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य मान्यता र सिद्धान्तले जनतामा उत्साह थियो ।

हामी नयाँ प्रणालीमा आयौँ भन्नेमा विश्वस्त थिए र हो पनि संवैधानिक रूपले हामी अत्यन्त नयाँ चरणमा प्रवेश गरेका छौँ । तर कार्यान्वयनको सुरुवाती वर्षमा नै जनतामा आएको निरासा देखिन थालेको  छ । यसले राम्रो सङ्केत गरेको छैन । यसको कारण पत्ता लगाउन र बेलैमा उपचार गर्न जरुरी भएको छ । यसको प्रमुख कारण नयाँ संविधानमा उल्लेखित सिद्धान्त र कार्यान्वयन गर्ने नेतृत्वको सोच बीचको अन्तरविरोध हुनु हो । यो अन्तरविरोधले परिर्वतन व्यवहारतः संस्थागत हुन गइरहेको छैन । यसले समग्र परिवर्तन र नयाँ संविधान कार्यान्वयन हुनेमा जनस्तरमा विश्वास घट्दै गइरहेको छ ।

सिद्धान्त र व्यवहारबीचको तालमेल, भनाइ र गराइबीचको तालमेल, हाम्रो आवश्यकता र हाम्रो सोचबीचको अन्तरले उपलब्धिको रक्षा गर्ने कुरामा समस्या देखिएको छ । उपर्युक्त अन्तरविरोधलाई समाधान गर्ने युद्ध आन्दोलनको बलमा निर्मित संविधानप्रति, त्यसका सैद्धान्तिक मूल्यप्रति र जनताका अधिकारप्रति, संरचनाहरूको निमार्ण र अधिकारप्रति नेतृत्व प्रतिबद्ध हुनुपर्छ ।

अबको नेपालको गन्तव्य समाजवादतिर हो । समृद्धिका लागि हामीले प्रादेशिक सन्तुलन कायम गर्दै ठूला परियोजनामार्फत युवाको शक्तिको परिचालन गरी आर्थिक हलचल पैदा गर्दै श्रमिक र गरिबहरूको जीवनमा परिर्वतन आएको हुनुपर्छ । हाम्रा पूर्वाधारहरू वर्तमान घिसेपिटे तरिकाद्वारा नभई लाखौँ युवाहरूलाई, साधन स्रोत सम्पन्न, श्रम सहकारीहरूमा बदल्दै ठूला–ठूला परीयोजनाहरू सञ्चालन गरेर पारदर्शी रूपमा सम्पन्न गर्दै स्वरोजगार हुने नीति अपनाउनुपर्छ ।

हाम्रा राजनीतिक पार्टीहरूले सामान्तवाद र निरङ्कुशताविरुद्ध सङ्र्घष गरेकै कारण आजको परिर्वतन सम्भव भएको हो । साथसाथै यो कुरा पनि बुझ्न त्यतिकै महत्त्वपूर्ण छ कि हामी निरन्तर सामन्तवादी सम्बन्ध र संस्कारमा हुर्किएका हौँ । त्यसको नकारात्मक प्रभावलाई कतै न कतै चिन्तनमा देखापर्नुको कारण नयाँ प्रणालीमा पुरानो विरासतको प्रेतात्माले काम गरेको देखिन पुग्छ ।

राजनीतिक दलहरू सिद्धान्तबाट विचलित मात्र छैनन् कि बदलिएको परिवेश अनुरूप  आफूलाई ढाल्न नसक्नुबाट ठूलो समस्या देखिएको छ । त्यसकारण नयाँ प्रणालीमा पुरानो संस्कारको झल्को देखिँदैछ । नयाँ व्यवस्था र पुरानो संस्कृति अर्काे अन्तरविरोध बनेको छ ।

पार्टीभित्र जनवादी प्रक्रिया लागू नहुनुले पार्टीमा मात्र नभई सरकारमा समेत सीमित नेताहरूको एकाधिकार चलिरहेकै छ । पार्टीको अनुशासन, सैद्धान्तिक मान्यता र आदर्श लागू हुनुको सट्टा नेताको हठ सिङ्गो राष्ट्रमा थोपरिएको छ । प्रतिस्पर्धाको राजनीतिमा आम कार्यकर्ताको भूमिका र जनताको योगदानबाट विजय प्राप्त हुने तर विजय पश्चात जनप्रतिनिधिले अर्थात पदाधिकारीहरू, जनता र पार्टीप्रति उत्तरदायी नहुने कारणले गर्दा राजनीतिमा विकृतिहरू मौलाइरहेका छन् ।

समग्र सैद्धान्तिक मूल्य मान्यताभित्र नबस्नुले राष्ट्रको मार्गचित्रअनुसार अगाडि बढन गम्भीर प्रभाव पनि परेकै छ । जस्तो संविधानमा मात्र हैन आफ्नो लक्ष्यसमेत समाजवाद भएको नेकपाको समाजवादी नीति र कार्यक्रमविहीन देखिन्छ  । लोकतन्त्रको वकालत गर्ने काङ्ग्रेस अलोकतान्त्रिक बनेको छ । राजनीतिक दलहरूभित्रका समस्या समाधान गर्न पार्टीभित्रको लोकतन्त्रको, जनवादको भरपुर प्रयोगका साथ आफ्ना मूल्यहरूमा चल्ने नभई राष्ट्रले सही मार्ग समात्न सक्दैन । सरकार र राजनीतिक पार्टीभित्रको सामन्ती संस्कार अन्त्य गरेर मात्र सामाजिक क्षेत्रका सामन्ती  अवशेषहरू अन्त्य गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई पूर्णरूपमा स्थापित गर्न सकिन्छ । अर्काे कुरा लोकतान्त्रिक परिर्वतन भन्दै संसदमा सत्तापक्षले गल्तीको ढाकछोप गर्ने र प्रतिपक्षले सही कुराको पनि विरोध गर्ने पद्धति राष्ट्र निर्माणका पक्षमा छैन । यसमा सत्तापक्ष होस् या प्रतिपक्ष सहीलाई सही र गलतलाई गलत भन्ने संस्कृति विकास गर्नै पर्छ ।

अर्काे कुरा, हामीले हिजो आन्दोलनमा लगाएको तागतलाई आज आर्थिक विकासमा लगाउने हो । आजको हाम्रो उद्देश्य उत्पादन बढाउन र सामाजिक न्याय स्थापना गर्ने हो । उपलब्ध साधन स्रोतहरूको व्यापक परिचालन गरी सबैका लागि रोजगार हुने वातावरण सिर्जना गर्दै र राज्यले पछि परेका वर्ग र क्षेत्रका लागि थप लगानी गर्न नाना, छाना र खाना नपाएका जनताका लागि त्यसको व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो ।

नेपालमा परम्परागत रूपमा गर्दै आएका विकासका मोडेलहरू र त्यसको परिचालन गर्ने नेतृत्व असफल हुँदै आएको छ । आजको पहिलो काम राज्यसत्ताको स्थायी सरकारको पुनर्संचना नहुनु र निरङ्कुश शासनकै बेलाको सेवाभावप्रतिको अरुचि आजका जनताको आकाङ्क्षाहरू पूरा हुँदैनन् । जनआकाङ्क्षाअनुसार नचल्दा निर्वाचित निकायहरू आज पनि विवादमा रुमल्लिएका छन् । तसर्थ एकातिर स्थायी संरचनालाई आमूल परिर्वतन, काममा प्रतिस्प्रर्धा र कामका आधारमा पुरस्कृत एकातिर आवश्यक छ भने  अर्कातिर परिवर्तित नयाँ  संरचनाहरूमा जनउत्तरदायी सैद्धान्तिक मूल्यहरू विकसित हुन जरुरी छ ।

समृद्धिको कुरा गर्दा विभिन्न खोज अनुसन्धानबाट पुष्टि भएको कुरा हो– राष्ट्रको विकासको लागि नेतृत्व नै मुख्य कारण हो । नेतृत्वले आफ्ना सम्पूर्ण संयन्त्र र संस्थाहरूमा उच्च नैतिकतासहित जनताप्रति उत्तरदायी भई काम गर्न गराउन प्रतिबद्ध छ भने त्यहाँ विकास सम्भव भएको छ ।  त्यसका लागि नेतृत्वमा त्यागको संस्कृति आवश्यक छ । सिद्धान्तप्रति प्रतिबद्ध नेतृत्व चाहिन्छ ‘भन्ने एउटा, बोल्ने अर्काे’ नभएर आफ्नो बोलीप्रति प्रतिबद्ध भएको । वरिपरि खडा हुने घेरा तोडेर जनताका आकाङ्क्षालाई मात्र घेरा माने जनताका आवाज र विज्ञहरूका विज्ञताको समायोजन गर्ने, उच्च मनोबल भएको नेतृत्व, विकास, समृद्धि तथा समाजवादका लागि जनतामा विश्वास दिलाउन सक्ने, जनताको मनोबल उच्च पार्र्दै आफ्नो योजनामा परिचालन गर्न सक्ने नेतृत्व आजको आवश्यकता  हो ।

जनतालाई सशक्तीकरण गर्दै प्रगतिशील उत्पादन शक्तिको विकास र उत्पादनका साधनहरूमा सरकार र जनतासमेतको साझा स्वामित्व स्थापित गर्दै जान, निजी क्षेत्रको नेतृत्वमा हुने उत्पादनबाट सिक्दै सँगै जनताका सामूहिक प्रयासहरूलाई प्रेरित र प्रतिस्पर्धी गराउन जरुरी छ । विदेशमा गएर भौँतारिरहेका र देशभित्र रहेका युवालाई यो युवा बहुल देशमा राष्ट्रनिमार्णको लागि युवा योगदानको दशक घोषणा गरेर अगाडि बढ्न सक्नुपर्छ । यसका लागि युवापिढीलाई स्पष्ट हाम्रो लक्ष्य देखाउन सक्नु र भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने हो भने युवाहरू योगदान गर्न तत्पर हुन्छन् ।

नेतृत्वमा देखिएका सामन्ती संस्कृति, अलोकतान्त्रिक मूल्य, नातावाद, गुटवाद सिद्धान्तप्रति बेवास्ताको अन्त्य गर्दै सबै घेरा तोड्ने साहस राष्ट्र निर्माणको भिजन र त्यसलाई योजनामा बदल्दै कार्यान्वयन गर्ने तदारुकता, त्याग गर्न सक्ने र जनताको मनोबल उठाउन सक्ने नेतृत्व जरुरी छ । राष्ट्र निर्माणमा जनताको मनोबल र समर्थन ठूलो कुरा हो ।

आज नेतृत्वप्रतिको विश्वास टुट्दै जाँदा, भनाइ र गराइमा, सिद्धान्त र व्यवहारमा अन्तर देखिनुबाट, सामन्ती प्रेतात्माको संस्कार र दलालहरूको घेरा तोड्न नसक्नुको कारण युवाहरूले नेतृत्वलाई विश्वास गर्न सकेका छैनन् । यसका लागि नेतृत्वले आफ्नो स्वार्थ र पुरानो आदत त्याग गरेर राष्ट्रका लागि समर्पित हुने हो भने हाम्रो युवा शक्ति आफैमा ठूलो पुँजी हो । त्यही पुँजीको परिचालन र हाम्रा स्रोत साधनको उपयोगबाट हामी समृद्धिको र सामाजिक न्यायको बाटोेमा अगाडि बढने छौँ । युवाहरू राष्ट्रप्रति अत्यन्त संवेदनशील छन् । हाम्रो नेतृत्वले ठूला शक्ति राष्ट्रका स्वार्थहरू टकराइराखेको बेला नेतृत्व यो वा त्यो रूपमा आत्मसर्मपण गर्ने अवस्था राष्ट्रका लागि हानिकारक छ ।

नेपाल आफ्नो राष्ट्रिय हित तथा  नेतृत्वले आफ्नो सत्ता स्वार्थको लोभमा कतै नढल्किएर शक्ति सन्तुलन कायम गर्दै राष्ट्रको हित अनुरूप परराष्ट्र सम्बन्ध स्थापना गर्न आवश्यक छ । युवाहरूले आत्मसर्मपणको कुनै बहानाबाजी मन पराउँदैनन् । राष्ट्रको स्वाभिमान र स्वतन्त्रतालाई आत्मैदेखि रक्षा गर्ने नेतृत्व आजका युवाहरूको रोजाइ हो । भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन स्थापना गर्ने साहस युवाहरूले नेतृत्वमा देख्न चाहेका छन् । दलालहरूका घेरा, परिवारवादका घेरा, तोडेर अगाडि बढ्ने नेतृत्व युवाहरूको रोजाइ हो । यो कुरा नेतृत्वले बुझेर राष्ट्रको समग्र विकासमा युवालाई साथमा लिन आफ्नो सङ्कीर्ण घेराबाट माथि उठ्न जरुरी छ  ।

अबको नेपालको गन्तव्य समाजवादतिर हो । समृद्धिका लागि हामीले प्रादेशिक सन्तुलन कायम गर्दै ठूला परियोजनामार्फत युवाको शक्तिको परिचालन गरी आर्थिक हलचल पैदा गर्दै श्रमिक र गरिबहरूको जीवनमा परिर्वतन आएको हुनुपर्छ । हाम्रा पूर्वाधारहरू वर्तमान घिसेपिटे तरिकाद्वारा नभई लाखौँ युवाहरूलाई, साधन स्रोत सम्पन्न, श्रम सहकारीहरूमा बदल्दै ठूला–ठूला परीयोजनाहरू सञ्चालन गरेर पारदर्शी रूपमा सम्पन्न गर्दै स्वरोजगार हुने नीति अपनाउनुपर्छ । नेतृत्वमा देखिएका सामन्ती संस्कृति, अलोकतान्त्रिक मूल्य, नातावाद, गुटवाद सिद्धान्तप्रति बेवास्ताको अन्त्य गर्दै सबै घेरा तोड्ने साहस राष्ट्र निर्माणको भिजन र त्यसलाई योजनामा बदल्दै कार्यान्वयन गर्ने तदारुकता, त्याग गर्न सक्ने र जनताको मनोबल उठाउन सक्ने नेतृत्व जरुरी छ । राष्ट्र निर्माणमा जनताको मनोबल र समर्थन ठूलो कुरा हो ।

यसका लागि राजनीतिक पार्टीहरू र जनप्रतिनिधिहरू जनताप्रति जवाफदेही हुनुपर्छ । कर्मचारीतन्त्रमा प्रतिस्पर्धा र सुविधासहितको नयाँ प्राण हाल्नुपर्छ । नेताहरू जनतासँग  एकाकार हुनुपर्छ । त्यो भनेको राष्ट्रका लागि भिजन, नीति, योजना, त्यसको कार्यान्वयन र प्रतिफल राष्ट्र र जनताको पक्षमा हुने कुरा हो । जनताका मनोभावना र आकाङ्क्षा नेतृत्वको मस्तिष्कमा बसिरहे भने नेतृत्वका हरकदम जनउत्तरदायी हुन्छन् । हामीले भनेको परिवर्तन लिखित दस्तावेज, योजनामा मात्र सीमित नभई सहरी क्षेत्रका ठेलागाडा चलाउनेहरूमा र ग्रामीण क्षेत्रका डोको नाम्लो बोकेर जीवन विताउने जनतामा देखिनुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...