केन्द्रीय संस्करण

त्यति पनि थाहा पाउन नसक्ने यो कस्तो सरकार ?

person explore access_timeजेठ २७, २०७६ chat_bubble_outline0

जनवादी गायक तथा सङ्गीतकार हुन् रामेश श्रेष्ठ । करिब ५६ वर्षदेखि उनी जनताको दुःख र अधिकार गीतमा गुन्जाउँदै आएका छन् । देशको अवस्था, जनताको अवस्था बुझेर गीत बनाउने, गाउने उनको गीतले जनताको दुःख र अधिकारका बुलन्द गर्ने काम गर्दै आएको छ । सार्वजनिक मञ्चमा जाँदा उनी कुनै माया, प्रेम तथा राजनीति दल विशेषभन्दा पनि जनताको सरोकारका कुरा गीतमार्फत राख्ने गर्छन् ।

पञ्चायतकालीन कठोर राजनीतिक व्यवस्थाविरुद्ध ‘गाउँगाउँबाट उठ...’ भन्दै जनतालाई जगाउने युवाहरूको समूह राल्फाका सदस्यसमेत रहेका उनका ‘सङ्घर्ष हो जीवन’, ‘आऊ मिलाऔँ हाम्रा हातहरू’ जस्ता कैयौँ गीतले सर्वसाधारणलाई सङ्घर्षका लागि ऊर्जा थप्ने काम गथ्र्यो । 

२०२३ सालदेखि हालसम्म पनि जनताको गीत गाउँदै आएका उनी अहिले वर्षाैं पुराना राल्फाकालीन गीत रेकर्डिङ गरेर ल्याउनमा व्यस्त छन् । पञ्चायत ढल्यो, बहुदल आयो । लोकतन्त्र र गणतन्त्र पनि घोषणा भयो । तर उनलाई भने अझै सन्तोष मिलेको छैन । जनवादी गायक रामेश श्रेष्ठको असन्तोष उनकै शब्दमा ।

परिणाम के होला ?
कला संस्कृतिको विषयमा राज्यले खास नीति अपनाएको छैन । जे छ, जस्तो छ, चल्दै जान्छ र चलाउँदै जाने हो । जे आइपर्छ गर्दै जाने हो, भन्ने बाटोमा सरकार हिँडिरहेको छ । नीति नियम बनाउने, लागू गर्ने, त्यो गर्दाको परिणाम के होला ? यी र यस्ता विषयमा विचार गरेर सरकारले काम गरे पटक्कै लागेको छैन । अहिले मात्र हैन, यस अगाडिका न काँग्रेस, न कम्युनिस्ट र न अन्य सरकार कसैको पालामा कलासंस्कृतिको विषयमा केही पनि भएन ।

कम्युनिस्ट आस छैन
कलासंस्कृतिप्रति अहिलेको सरकारको चरम लापरवाही छ । सत्तामा सधैँ आफू टिकिराख्ने हो कि होइन, सत्ता कुन टाइमा के हुने हो भन्ने असुरक्षा, अस्पष्टताले यस अगाडिका सरकारले कलासंस्कृतिको विषयमा कुनै पनि काम गर्न सकेन ।

केटा र केटीको यौन र प्रेमका विषय मात्र गीतमा प्राथमिकतामा पर्ने गरेका छन् । मेरो विचारमा प्रेमका हल्काफुल्का गीत बन्नु हुँदैन ।

अहिले भने अवस्था फेरिएको छ । झन्डै दुई तिहाइको सरकार जनताले दिएका छन् । शक्तिशाली सरकार त छ तर यो सरकार नेपाली कलासंस्कृतिका विषयमा गम्भीर भएको हामीलाई अनुभव भएको छैन । पहिले राजाको पालामा जुन चलन थियो त्यही ढङ्गले चलाउँदै जाने हो । समय टार्दै जाने हो भन्ने प्रवृत्ति अहिलेको सरकारमा पनि देखिएको छ । संस्कृतिबाट नै उठेको कम्युनिस्ट पार्टी अहिले सत्तामा छ । तर यसबाट पनि आस गर्ने अवस्था देखिएको छैन । 

विसं २०२२, ०२३ बाट कलासंस्कृतिको माध्यमले शासनसत्ता  परिवर्त गर्न सकिन्छ भनेर हामी राल्फा अभियानमा होमिएका थियौँ । पछि प्रगतिशील मार्क्सवादमा आस्थावान रहेर हामीले जुन संस्कृतिक अभियान चलायौँ । यस्तो परिपाटी आयो भने हामी सुरक्षित हुन्छौँ । हाम्रो जीवन, हाम्रो भविष्य र आउँदा सन्तती सुरक्षित हुन्छन् भनेर पञ्चायत, जनयुद्धलगायत समयका भयावह अवसथा पार गरेर हामी आएका छाैं । अहिलेको सरकारलाई जनताले गम्भीरतापूर्वक चल्ने विश्वस्त शक्ति भनेर दुई तिहाइ दिएको छन् । तर यो सरकारमा पनि जनताले त्यस्तो कुनै एउटा परिवर्तन लक्ष्य देख्न नमिलेको अनुभव जनताले गरिरहेका छन् । 

काँग्रेस र कम्युनिस्टको पालमा केही भएन
हिजो अभियान चल्दाको समय हामीले जनताको सुपरिवर्तन, असल जीवन र सफल भविष्य देखेका थियौँ । हिजोका केही पनि उद्देश्य पूरा भएको अनभूति भएको छैन । बरु राजा महेन्द्रले लोक सङ्गीतको निमित्त राष्ट्रियताको निमित्त जनताको समिटमा गएर, जनतासँग भिजेर काम गर्ने कोसिस गरेका थिए । नेपाली लोकगीतलाई उठाउनका निम्ति उनले धेरै कोसिस गरेका थिए । नेपाली पहिचानका निमित्त उनको पालमा धेरै कार्यहरू भएका थिए । जनताका लागि उनले ठूलाठूला प्रोजेट, राजमार्गहरू, जनतामा जाने गाउँफर्क कार्यक्रमहरूका साथै जनताको विचार लिने धेरै काम भएको थियो । तर त्यसपछि आएको हाम्रो काँग्रेस र कम्युनिस्ट सरकारको पालमा केही भएको र गरेको छैन ।

सामन्ती शैली नै छ
आम जनतामा गणतन्त्र, लोकतन्त्रप्रति निराशाका भावनाहरू पैदा हुँदै गइरहेको देख्न सकिन्छ । समयअनुसार हाम्रो देशमा पनि शासन व्यवस्था परिवर्तन भयो, व्यक्ति परिवर्तन भए । तर शैली सस्कार फेरिएन । सामान्ती सोच, संस्कार र त्यो एउटा परम्परारगत जीवन शैली त्यो झन् प्रहर भएर आयो । 

मैले अहिले सत्तामा रहेका साथीहरूसँग सहकार्य गरेका थिएँ । उहाँको अगाडि म अहिले सीधै भन्न सक्छु । तपाईंहरूले अकाश खाली गराएर त्यो सफा गर्ने, जमिन खाली गराएर त्यो सफा गर्ने सपना देखाउनुभयो । तर अहिले राजामहाराज, महारानी आएजस्तो हजारौँ जनातलाई दुःख दिने तपाईंहरूको जुन शैली देखिएको छ त्यो शैली रानी एलिजाबेथले पनि गरिन् होला ।

हामी पश्चिमाका कतिपय देशहरूलाई पुँजीवादी देश भनेर आबरु दिन्छौँ । ती देश पुँजीवादी सिस्टम भए पनि प्रगतिशील जनवादी सिस्टम त्यहाँ लागू गरिएको छ । व्यवहारमा पनि छ । नेपालमा चाहिँ कम्युनिजमका परिभाषा र परिचय के हो ? त्यो उहाँहरूले सोच्नुपर्ने कुरा हो । सत्तामा रहुन्जेल उहाँहरू सोच्नु हुन्न । उहाँहरू सत्तामा घँैटो टिकाउने, त्यही चिप्किरहने, सत्ताको उपभोग कसरी गर्ने ? त्यति मात्र सोच्नु हुन्छ ।

मैले जनताको गीत गाउन थालेको ५३ वर्ष भयो । कस्ता कलासंस्कृति जनताले मन पराउँछन्, जीवनमा हित गर्छन् । कम्युनिस्टका लागि मात्र होइन । आमा मानिस सबैको जीवनका लागि हित गर्ने कला संस्कृति, सोच, शैली व्यवहार, मान्यता र परम्परा स्थापित गर्न हामीले कस्तो कदम भन्ने मलाई पूर्ण ज्ञान छ । म जस्ता देशमा अन्य पनि बुद्धिजीवी छन् । तिनलाई एक पटक बोलाएर राज्यले सरसल्लाह र विचार केही पनि लिएको छैन ।


त्यो मात्र कम्युनिस्ट हो ?
कम्युनिस्ट भनेको एक किसिमको आदर्श हो । कम्युनिस्ट राज्य व्यवस्था कस्तो हुन्छ ? त्यहाँ काम गर्ने नेतादेखि कर्मचारीसँगले कस्तो ढङ्गले काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझेका छैनौँ । त्यो सिक्नुपर्छ भनेर मैले हरेक अन्तरवार्तामा भन्दै आएको छु । 

अहिले जति कम्युनिस्ट छन् ती होइन् । ती मार्क्सवादमा आस्था राख्ने मात्र हुन् । जसले प्रगतिशील ढङ्गले जीवन सञ्चालन गर्छ । त्यही अनुसारको आस्था र विचार राख्छ । त्यो मात्र कम्युनिस्ट हो । आजका कम्युनिस्टले ती सबै बिर्सिनुभएको छ । अहिले संसदवादी व्यवस्था पुँजीवादी व्यवस्था हो । यो धन हुनेले मात्र बनाउने सरकार हो ।
कम्युनिस्टले उतिबेला हामीले जनवादी सरकार बनाउने, स्थापित गर्ने हो, सुधार होइन । आमूल परिवर्तन गर्ने भन्थे । ती विषयमा कक्षा हुन्थ्यो । आज हिजोका कुरा कहाँ र कसरी लागू भए । आज सम्पूर्ण कम्युनिस्टले हिजोको आफ्नो जीवन, आफ्ना भनाइ नियालेर हेर्नुपर्छ, म हेर्नुस् भन्छु । 

सरकार आँधो छ 
अहिले सरकार सामन्ती सिस्टममा जाँदैछ । जनता प्रगतिशील भएर अगाडि बढिरहेका छन् । राजनीतिक पार्टीभन्दा जनता धेरै अगाडि बढेका छन् । अझ नयाँ पुस्ता धेरै अगाडि देखिएका छन् । उनीहरू राम्रोसँग बोल्छन्, बुझ्छन् र व्यख्या गर्छन् । विज्ञान प्रवृत्तिको पनि   उनीहरूलाई ज्ञान छ । उनीहरूलाई कसरी प्रयोग गर्ने, अहिलेसम्म कुन कुन नराम्रा कुरा छन् । ती कसरी हटाउने नयाँ पुस्ता सल्लाह गरिरहेका छन् । 

अहिलेको विषयमा सरकार आँधो छ । बाहिर के के भइरहेको छ । केही थाहा छैन । त्यही ५, ६ जना सल्लाहकार राखेका छन् । तिनले के सल्लाह दिन्छन् । सरकारमा रहेका त्यसरी चल्छन् । अहिले के भइरहेको त्यति पनि थाहा पाउन नसक्ने यो कस्तो सरकार ? सरकारमा रहने यी कस्ता मानिस हुन्, जो समयभन्दा धेरै पछाडि छन् ।
सरकारमा रहेका व्यक्तिहरू अहिले विभिन्न मिडियामा बोलेको हेर्ने हो भने लाग्छ उनीहरूलाई जनताको विषयको केही जानकारी नै छैन । केही पढ्दैन्, बुझ्दैन्, कसैको सुन्दैन् र केही हेर्दैन् । योभन्दा पिछडापन के होला ?

प्रगतिशील गीत बन्न गाह्रो छ
अझै जनताको आवाज गीतमा गुन्जाउनुपर्ने अवस्था छ । त्यसका लागि हामीहरू आफ्नो ढङ्गले काम गरिरहेका छौँ । कार्यक्रम दिइरहेका छौँ । हाम्रो अभियान अहिले पनि निरन्तर छ । त्यसका लागि पुराना राम्रा गीतहरू रिरेकर्डिङ गरेर अहिलेको युट्युबलगायत विभिन्न माध्यममा ल्याइरहेका छौँ । कार्यक्रम पनि भइरहेका छन् । हामीले पहिलेदेखि गुन्जाउँदै आएको आवाज अझै गुन्जाउनुपर्ने अवस्था छ ।

फरक यति हो अहिले यो आवाज अहिले हामीले मात्र गाइरहेका छैनौँ । जनताले पनि गाउन थालेका छन् । पशुपति शर्माको केही पहिले आएको गीत त्यसको उदाहरण हो । हाम्रोभन्दा पनि पछिल्लो समय आएको गीत तगडा छन् । हामी मध्यम वर्गका हौँ । तलबाट पनि फाइदा लिन सक्ने र माथिबाट पनि फाइदा लिन सक्ने । तल्लो वर्गका असल र इमानदार मानिसले पनि जनताका गीत धेरै गाइरहेका छन् । 
पछिल्लो समय गीत बनाउने विषय पनि हजारौँ छन् । अहिले यहाँ केटा र केटीको प्रेमबाहेकका केही देख्र्दैन् । एक फरक किसिमको सोच पैदा हुनुपर्यो । प्रगतिशील गीत बन्न यहाँ गार्यो छ । केटा र केटीको यौन र प्रेमका विषय मात्र गीतमा प्रथामिकतामा पर्ने गरेका छन् । 

मेरो विचारमा प्रेमका हल्का फुल्का गीत बन्नु हुँदैन । वातावरण, राजनीतिलाई शुद्धीकरण गर्ने खालका गीत बनाउनुपर्छ, बन्नुपर्छ । यी सबै विषयमा सरकार केही न केहीको छ ।

त्यस्तो गीतको खाँचो
अहिले राजनीतिकमा ठूलो परिवर्तन आएको छ । अब गीत सङ्गीतमा पनि जनजीवनको पक्षमा मोडिनुपर्छ । असल जीवन, उत्कृष्ट जीवन, सभ्य जीवन, श्रमशील जीवन र जीवनलाई उच्चतातिर डोर्याउने र अहिलेको नयाँ विज्ञान प्रविधिलाई बुझ्ने र त्यसलाई सदुपयोग गर्ने  खालका गीतहरू बन्नुपर्छ । अबको दिनमा मानव जातिका लागि असल, सुन्दर र स्वस्थ्य, उपयोगी, भ्रम चिर्ने, अन्ध विश्वासलाई चिर्ने, सुशासन स्थापित गर्ने गीतहरू हामीलाई चाहिन्छ । त्यस्तो गीतको खाँचो छ । 

प्रस्तुति : कुवेर गिरी
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...