शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यका बाहिरकै ठुलो खानेपानी आयोजना सुरु हुँदै

आइतबार, २६ जेठ २०७६, २३ : ००
आइतबार, २६ जेठ २०७६

पोखरा– उपत्यका बाहिरकै ठुलो खानेपानी आयोजना पोखरामा सुरु हुने भएको छ । मर्दी खोलाको पानीलाई प्रशोधन/शुद्धिकरण गरी पिउनका लागि योग्य बनाउने लक्ष्यका साथ काम अघि बढाइने भएको हो । 
यो योजनालाई मेलम्चीपछि खानेपानीको क्षेत्रमा दोस्रो ठुलो आयोजनाको रुपमा लिइएको छ । ‘खानेपानी आयोजनामा यो मेलम्चीपछिको दोस्रो ठुलो आयोजना हो,’ आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले भने, ‘काठमाडौं उपत्यका बाहिर सुरु हुन लागेको आयोजनाको हकमा चाहि पहिलो ठूलो आयोजना ।’

तीन वर्षमा आयोजनाको काम सक्ने लक्ष्य अनुसार काम अघि बढाइने उनले सुनाए । ‘३ वर्षभित्रमा आयोजना सक्ने लक्ष छ,’ उनले भने, ‘यो आयोजनाबाट पोखरा महानगरपालिका भित्रका करिब साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने छन् ।’

खानेपानी सुधारका लागि नेपाल सरकारलाई जापान सरकारले ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेपछि सोही सम्झौताअनुसार नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउने भएको उनले जानकारी दिए । 

आयोजनाको सुधार तथा विस्तारको लागि जापानको याचियो इन्जिनियरिङ कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको उनले सुनाए । जापानले दिएको कूल अनुदानमध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेसन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलब २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिने छ । आयोजनाले पोखरा महानगर भित्र फूलबारी, पस्र्याङ र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्ने छ । खानेपानी मन्त्री बिना मगरले २८ जेठमा आयोजनाको शिलन्यास गर्ने छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप