मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको सदावहार जीवन बिमा योजना, घातक रोगका लागि ५० लाखसम्मको बिमा

आइतबार, २६ जेठ २०७६, १८ : ४२
आइतबार, २६ जेठ २०७६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरू ल्याएर लोकप्रिय बन्न सफल भएको छ । केही महिनाअघि मात्र ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएर नेपाली बिमा क्षेत्रमै चर्चित बनेको यस कम्पनीले फेरि अर्को सेवाग्राहीमुखी योजना बजारमा ल्याएको छ । 

कम्पनीले आजैदेखि लागू हुने गरी समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमका बीच उक्त बिमा योजना सार्वजनिक गरेको हो ।

सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, ‘आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहन्छन् । सेवाग्राहीहरूको यही चाहनाअनुसारको बिमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ ल्याएको हो ।’

उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बिमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजीवन जोखिम बहन गर्नु र बिमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता हो ।

विशेषताहरू:

कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बिमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बिमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ ।

यो बिमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बिमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ । बिमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बिमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ ।  त्यस्तै, बिमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ ।

बिमालेख चालू भएको अवस्थामा बिमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बिमा लेखअन्तर्गत पूरा बिमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ ।

एकल बिमाशुल्क योजनामा बिमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बिमाङ्क रकम र आर्जित बोनस वा एकल बिमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बिमाङ्कबराबरको रकम प्रदान हुनेछ । 

९० प्रतिशतसम्म कर्जाको सुविधा

यस योजनामा बिमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बिमाशुल्क भुक्तानी गरेपश्चात बिमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बिमाशुल्क योजनामा बिमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बिमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त हुनेछ ।

करिब ३२ प्रतिशत बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रहेको छ भने लगानी रू. ६७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।

१ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप