शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डको सानदार जित

आइतबार, २६ जेठ २०७६, ०८ : २७
आइतबार, २६ जेठ २०७६

जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८० रनमा समेटिएको थियो ।

बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । सकिबले एक सय २१ रन बनाए । मुसफिकर रहिमले ४४ रन, महमोदुल्लाले २८, मोसादेक हुसेनले २६ र प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले १९ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्स र जोफरा आर्चरले तीन तीन विकेट लिए । मार्क उडले दुई तथा लियाम प्लुनकेट र अडिल रसिदले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ८६ रनको विशाल योगफल खडा गरेको थियो । इङ्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान जासन रोयले शतकीय पाली खेले । आक्रामक ब्याटिङ गरेका उनले एक सय ५३ रन बनाए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट र जस बट्लरले पनि अर्धशतकीय रन बनाए ।  रोय र बेयरस्टले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए । रोयले ५१ र जस बट्लरले ६४ रन बनाए । कप्तान इयोन मोर्गनले ३५, लियाम प्लुनकेटले २७, जोए रुटले २१ र क्रिस वाक्सले १८ रन बनाएका थिए । बंगलादेशका मोहमद सैफुद्दिन र मेहदी हसनले दुई दुई विकेट लिए । मसरफे मोर्तजा र मस्ताफिजुर रहमानले एक एक विकेट लिएका थिए ।

जारी विश्वकपमा इङ्ल्यान्डको दोस्रो जित हो । इङ्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो । दोस्रो खेलमा भने घरेलु टोली इङ्ल्यान्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो । बंगलादेशको भने तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप