बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘खेलकूद क्षेत्रलाई पर्याप्त बजेट छुट्याउन सकिएन’

शनिबार, २५ जेठ २०७६, १५ : ४३
शनिबार, २५ जेठ २०७६

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि रु तीन अर्ब ९९ करोड पाएको बताए । 

स्रोत साधनको सीमाका कारण खेलकूद क्षेत्रमा जति बजेट विनियोजन हुनुपर्ने थियो त्यो हुन नसकेको उल्लेख गर्दै उनले खेलकूद क्षेत्रले अपेक्षा गरे अनुसारको बजेट विनियोजन नभएको जानकारी गराए । 

खेलकूद क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई बजेट कार्यक्रमका हिसाबले र नीतिगत हिसाबले मार्गदर्शन गरेको उनको भनाइ थियो । 

बजेट कम रहे पनि खेल क्षेत्रलाई प्राथमिकतामा नपारेको भन्ने कुरा यथार्थ नभएको उनले बताए । उनले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजनाबद्ध ढङ्गले अघि बढेको उल्लेख गरे । 

उनले भने, ‘खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न सक्दैन, यसका लागि सरकार सातै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको काममा लागेको छ ।’ 

खेलकूद क्षेत्रमा देखिएको विवाद अन्त्य गर्दै अघि बढ्न सरकार लागि परेको उहाँले जानकारी दिए । सबै पक्ष एकताबद्ध भएर अघि बढ्न नसकेको खण्डमा खेल क्षेत्रको विकास सम्भव नभएकाले उनले आफूले जिम्मेवारी सम्हालेपछि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप