शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एक नेपालीको हत्या

शनिबार, २५ जेठ २०७६, १३ : ५१
शनिबार, २५ जेठ २०७६

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।  

भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ । 

 चन्द भारतमा मजदूरी गर्दै आएका थिए। हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ ।  मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीको वयानमा बताएका थिए । 

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ । 

घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दुरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप