शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी हुन्छ त माओवादी पार्टीको रूपान्तरण ?

मङ्गलबार, २४ साउन २०७४, १० : ३०
मङ्गलबार, २४ साउन २०७४

शुरुमा जानौँ, सचिवालय वैठकका निर्णयहरू


–नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालयको वैठक सम्पन्न भएको छ । खासगरी पार्टी विगठन कि सुदृढीकरण भन्ने बहस अहिले बजारमा तातेको छ । सचिवालय वैठक छलफल र त्यसको मूल स्प्रिटबारे यहाँ छलफल गरिने छ ।

–समाज सतत् परिवर्तनशील छ । हरेक वस्तुको जन्म र मृत्यु हुन्छ, पार्टीको पनि । फरक समयको हो, ढिलो या छिटो । पार्टीहरू अनादि कालदेखि अस्तित्वमा थिएनन् र अनन्तकालसम्म रहिरहँदैनन् । पार्टी एउटा निश्चित समाज व्यवस्थाको उपज हो ।


–ऐतिहासिक उद्देश्य र असाधारण परिस्थितिमा पैदा भएका पार्टीहरूका दायित्वहरू पनि असाधारण नै हुन्छन् । युग बदल्ने अभिभारासहित गठन भएको माओवादी पार्टीको अभिभारा पनि असाधारण छ । जब यो पार्टी आफ्नो अभिभाराबाट च्यूत हुन्छ र आफूलाई अन्य संसदवादी पार्टीहरूको औसत अवस्थामा झार्छ वा सीमित गर्छ तब माओवादी रहनुको औचित्य समाप्त हुन्छ । यही पृष्ठभूमिमा अध्यक्ष कमरेड प्रचण्डले या त रूपान्तरणसहितको नयाँ पार्टी  या त विघठन हामीसँग तेस्रो विकल्प छैन । धन्दा गरेर खाना पार्टी चलाउनु हुँदैन भनेर प्रस्ताव राख्नु भएको सही हो । यसको निष्कर्ष ऐतिहासिक अभिभारा बोक्ने पार्टी बनाउनुपर्छ भन्ने हो ।
 
१. सानो र चुस्त पार्टी समिति निर्माण :
यो सबैको सर्वसम्मत धारणा हो तर कसरी ? माथि नेताहरूको लर्को तल जमिन खालि । महाधिवेशन आयोजक समिति चार हजारभन्दा बढी सदस्य रहेको अज्ञात सङ्ख्याको छ । तल्ला समिति र जनवर्गीय सङ्गठनहरूको हविगत पनि उस्तै छ । भद्रगोल संरचनाले किचिएको पार्टी । एउटा निर्मम निर्णयद्वारा चुस्त समिति निर्माण गर्नै पर्छ ।
 
२. सङ्गठन साधन हो, पार्टीको रणनीति साध्य :
 सही साधनको प्रयोगबिना सही साध्य प्राप्त गर्न सकिँदैन । धारिलो बन्चरोले एक घण्टाभित्र काट्न सकिने रुख भुत्ते बन्चरोले दिनभर काट्न पनि मुस्किल पर्छ । हामीलाई धारिलो पार्टी चाहियो । आरनमा हालेर धार लगाएको पार्टी ।
 
३. पार्टी सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो :
 यसका चारवटा नियमहरू छन् । ती कागजमा मात्रै सीमित छन्, व्यवहारमा अर्कै लागू हुन्छ । सहमतीय र मन नदुखाउने सिद्धान्त लागू गर्दा यस्तो समिति प्रणाली बनेको हो । विशिष्ट अवस्थामा सहतीय प्रणाली लागू भए पनि त्यसैलाई आम नियम बनाउनु हुँदैन ।
 
४. लामो समय योगदान गरेर पार्टीलाई नै आफ्नो जीवन ठान्ने पाका कमरेडहरूलाई यथोचित भूमिका दिनुपर्छ :
 भरणपोषणको जिम्मा, अनुभवहरूको हस्तान्तरण गर्ने संस्थागत र वैज्ञानिक प्रणाली बनाऔँ जसले जीवनको उत्तरार्धमा आएर पार्टी र आफ्नै जीवनप्रति पश्चाताप गर्नु नपरोस् ।
 

५. युवाहरूलाई पार्टीभित्र प्रवेश, उचित स्थान र परिचालन :
 युवाहरू पार्टीका प्राण र रक्तसञ्चार हुन् । तिनलाई सही ढङ्गले परिचालन नगरीकन पार्टीले अपेक्षित परिणाम हात लगाउन सक्दैन । नेतृत्व निर्माण गर्ने वैज्ञानिक विधिको अभावमा एक पटकको सिनियर जिन्दगीभरको सिनियर जस्तो जुन अवैज्ञानिक मापदण्ड छ ऊर्जाशील मान्छेहरूको भूमिका सङ्कुचित भएको छ ।
माथिबाट गरिने मनोनित प्रणालीले नेताहरूलाई त शक्तिशाली बनाएको छ तर मतदाता सदस्यहरूलाई निरिह । शक्तिको स्रोत जनता र तल्ला कार्यकर्ता हुन् भन्ने सिद्धान्त मात्रै होइन, कार्यविधि पनि लागू हुँदैन तबसम्म गणेश प्रवृत्तिको अन्त्य हुँदैन । गणेश प्रवृत्तिले अन्ततः नेतृत्वलाई समेत विवादमा पारिरहन्छ । माथि फर्केको सङ्गठनलाई तल फर्काउने अहिलेको एक मात्रै विधि भनेको आन्तरिक चुनाव हो । चुनावमा जाँदाको नकारात्मक परिणाम, त्यसलाई सच्याउने वैज्ञानिक विधिको विकास सहित जानै पर्छ ।
 
६. नेतृत्वको नीतिबारे हाम्रो पार्टी र आन्दोलनमा पर्याप्त बहसहरू भएको छ तर कार्यकर्ता नीतिबारे खासै छलफल हुँदैन :
आम नियम जस्तै हो कि नीति बनाउँदा नेता निर्णायक हुन्छन्, कार्यन्वयन गर्न कार्यकर्ता निर्णायक हुन्छन् भने परिणाम हासिल गर्न जनता निर्णायक हुन्छन् । नेता, कार्यकर्ता र जनता एउटै गतिमा नहिँडीकन सकारात्मक परिणामको अपेक्षा गर्न असम्भव छ । हाम्रो पार्टीको कार्यकर्तासम्बन्धी सबैभन्दा ठूलो खराबी यो हो कि तिनलाई उपेक्षा गर्नु । तिनको हिसाब किताब नगर्नु । तिनको समस्याप्रति मूकदर्शक बन्नु । अतः आजको एउटा ज्वलन्त समस्या सही कार्यकर्ता नीतिको अभाव हो, जसले तिनलाई ऊर्जाशील र शक्तिशाली बनाओस ।
 
७. वर्ग विभेद :
फरक फरक वर्गमा अवस्थित मान्छेहरू एउटै पार्टीमा रहेर कुन चाहिँ वर्गको सेवा गर्ने ? आधारभूत रूपमा पार्टीको चरित्र गैरवर्गीय वा निर्वर्गीय होइन, श्रमजीवी वर्गीय हुनै पर्छ । पार्टीभित्र अभिजात वर्गीय र तन्नम पल्टिएका वर्गको खाडल कम्तीमा घट्नै पर्छ । कोही आलिसान जिन्दगी बाँच्नमा गर्व गर्ने र अरूले त्यसमै गला मिलाई दिनुपर्ने अवस्था असम्भव होला । पार्टीभित्र सापेक्ष समानताले मात्रै समाजमा पार्टीको साख उचो हुनेछ ।
 
८. काङ्ग्रेस र एमालेको संसदवादी राजनीतिको अनुशरण गर्ने तेस्रो पार्टी नेपाल र नेपाली समाजमा चाहिएको छैन :
 हामीले आफ्नो ऊर्जाको दुरूपयोग गर्नु आवश्यक  पनि छैन । हाम्रो राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद हाम्रो आस्था र टे«डमार्क होइन बरु विज्ञान हो । काल्पनिक समाजवाद, सामन्तवाद र पुँजीवाद भन्दा फरक यो वैज्ञानिक किन छ भने यो समाज विकासका तथ्यगत नियममा आधारित छ । सिङ्गो मानव जातिलाई समानता, स्वतन्त्रता र मुक्तिको दिशामा डोर्याउने हाम्रो औकात यति हो त ? के योभन्दा राम्रो हामी गर्न सक्दैनौँ ? के वैज्ञानिक समाजवादको ट्रेडमार्कमा पुँजीवादको  व्यापार गर्न सम्भव छ ? सम्भव र आवश्यक दुवै छैन । अतः वैज्ञानिक समाजवादको सिद्धान्तद्वारा निर्देशित पार्टी संरचना र राजनीतिक कार्यक्रमको विकास जरुरी छ ।
 
९. पार्टी भनेको अन्ततः र सारतः विचार हो :
 सही र साझा विश्व दृष्टिकोणविना पार्टी सञ्चालन गर्न कठिन छ । पार्टीमा एउटा डरलाग्दो रोग छ कि पार्टी स्कुलिङ निष्क्रिय छ । अध्ययन र खोज अनुसन्धान गर्ने संस्कृतिको ठाउँ दिनदिनैका व्यावहारिक समस्या समधान गर्ने तरिकाले लिएको छ । पार्टी व्यवहारवादको गोलचक्करमा फस्दैछ, नयाँ सिर्जना हुँदैन । यो कुनै वीर वा बहादुरले गर्ने पनि होइन । पार्टीको संस्थागत प्रणालीले गर्ने हो । किताबी किरो हुन होइन नयाँ अन्वेषण गर्न र समस्याको उन्नत समाधान खोज्न अध्ययन गर्ने संस्कृतिको विकास गरौँ ।

अन्त्यमा, पार्टी निर्माणको सुरुवात युवा, विद्यार्थी र मजदुरका सङ्गनात्मक संरचनालाई वैज्ञानिक विधिद्वारा समाधान गरेर गरौँ । जो तत्काल गर्दैछौँ । बिहानीले दिउँसोको सङ्केत गर्नेछ ।
लेखक माओवादी केन्द्रका पोलिटव्यूरोसदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामदीप आचार्य
रामदीप आचार्य

लेखक माओवादी केन्द्रका युवा नेता हुन् ।

लेखकबाट थप