केन्द्रीय संस्करण
विचार

‘यी सात आन्तरिक चुनौतीले नै देशको बर्बादी’

person explore access_timeजेठ २५, २०७६ chat_bubble_outline2

राष्ट्रिय सुरक्षाको सीमा हुँदैन । आजको युगमा जनतादेखि राष्ट्रपतिसम्म, बालुवादेखि सुनसम्म अनि प्रोपोगान्डादेखि इन्टेलिजेन्स (खबर) सम्म सबै राष्ट्रिय सुरक्षाका सहयोगी हुन् । यो विषयमा कुनै एउटा व्यक्ति वा संस्था मात्र विज्ञ हुँदैन । 

अर्थात ‘वान फर अल, अल फर वान’को सिद्धान्तमा आधारित हुन्छ । यसका लागि सबैभन्दा ठूलो शक्ति भनेको जनताको मनोबल नै हो । जबसम्म ‘मेरो देश मेरो गौरव’ भन्ने भावना आम जनतामा जगाउन सकिन्न, यही कमजोरीमा आन्तरिक र बाह्य तत्वले देशको राष्ट्रिय सुरक्षामा चुनौती दिन्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा आन्तरिक चुनौतीले नै देशको बर्बादी पारिरहेको छ । तीमध्ये केही निम्न छन् ।
  

 पहिलो हो– राष्ट्रिय मनोबल । देशका लागि यो जतिको शक्तिशाली तत्व केही हुन्न । नेपालीहरु नेता, बुढापाका, जेठाबुढामा विश्वास र आशा राख्ने संस्कारी हुन् । वचनमा विश्वास गर्ने हाम्रो समाजलाई केही वर्षयता सरकार प्रमुख, सरकार र कर्मचारीहरुबाट झुटको पुलिन्दा बाँढेर देशको मनोबल खस्केको छ । नीति, नियम, विकासको कुरामा समेत सरकार प्रमुखले ठट्टामा उडाउने, नपुग्ने कुरामा वचन दिने, पाँच पैसाको काम गरेर पाँच सय पच्चीसको धाक लगाउने, समाजले न पचाउने शब्दहरुको पटक पटक प्रयोग गर्ने, सरकारमा मन्त्रीहरुका बोली र व्यवहार सिनेमाका भिलेनका जस्ता हुने । अनि राजनीतिक भ्रष्टचार गराउने योजनाकार ठूला साना कर्मचारीहरुले नै जनतालाई अत्याचार गरेका छन् ।

घुस र भनसुन न भई कर्मचारीहरुले जनताका लागि सिन्का भाँच्दैनन् । रिनसिन गरेर छोराछोरी पढायो । देशमा केही अवसर पाउँदैनन । खाडी र मलेसियाका कामदारका लागि ती छोरा छोरी जान बाध्य छन् । किसान र सरकारको सम्बन्ध छैन । विचौलियाहरुले सरकारको जस्तो नियन्त्रण गरेर किसान मार्छन् । नेताहरु चुनावमा बुढाबुढीलाई सामाजिक भत्ता बढाउँछु भन्छन् तर सरकार बनाएपछि विर्सन्छन् । यस्ता पक्ष र पाटा भनेको देशभित्रै दुस्मन जन्माउने कारखाना हुन् । जब जनताको मन मर्छ, तब देशको राष्ट्रिय सुरक्षा पनि सँगसँगै मर्नेछ । गोली, बन्दुक, बम र फौजले कदापि देश बलियो बन्दैन, यो जमानामा ।

आफ्नो देशको इतिहास नभएका र नैतिक शिक्षाविहीन पाठयक्रम पढाइँदा नेपालीमा नेपालको महत्त्व हराउँदै गएको छ । आफ्नो देशभन्दा अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकहरुलाई नेपालीले बढी माया गर्न थालेका छन् । जुन राष्ट्रिय सुरक्षामा ठूलो चुनौती हो ।

    दोस्रो पक्षभनेको धर्म, राजनीति, शिक्षा, संस्कार, संस्कृति तथा न्याय–निसाफमा नेपाली पन मार्नु हो । केही वर्गले धर्मलाई ‘अफिम’ भन्छन् । यो पश्चिमा र विविध अधिकारको नाममा आएको छाडा परिवेश हो । पूर्वीया संस्कृतिमा धर्म भनेको मुलुकी ऐनभन्दा कडा अलिखित कानुन नियम हुन्, जसले समाजमा विकृति रोकेर, मनोबल बढाएर अन्ततः राज्यलाई सहयोग पु¥याउँछ । यो पक्ष भत्काइयो । देशको घाँटी हेरेर, हावा पानी, माटो, जनता र भाषाको विश्लेषण गरेर नेपालका नेताहरुले राजनीति गर्न भुले । विभिन्न लोभमा परेर काम नै नगरी भाषणले मात्र सिङ्गापुर र स्विजरल्यान्ड बनाउने राजनीतिले नेपाललाई बर्बाद पारेको छ । संस्कार, संस्कृति भनेको व्यक्तिदेखि देशका गौरव हुन् । यसले नैतिकता सिकाउँछ भने कूकृत्य गर्न रोक्छ । तर हाम्रा नेता पढेका विद्वान (भनौदा) कर्मचारी समेतको योजनामा परी विदेशी लोभ–लाभमा सबै नासिँदै छन् । अनि आफ्नो देशको इतिहास नभएका र नैतिक शिक्षाविहीन पाठयक्रम पढाइँदा नेपालीमा नेपालको महत्त्व हराउँदै गएको छ । आफ्नो देशभन्दा अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकहरुलाई नेपालीले बढी माया गर्न थालेका छन् । जुन राष्ट्रिय सुरक्षामा ठूलो चुनौती हो ।
 

   तेस्रो पक्षभनेको भ्रष्टाचार । नेपालमा बिनालगामको घोडा दौडेझैँ सरकारमा बस्नेदेखि मन्दिरमा बस्नेलेसम्म भ्रष्टाचारमा तँछाड–मछाड गर्दैछन् । मन्दिर, मस्जित, गुम्बा, विद्यालय, विश्वविद्यालय, वन, खोला, प्रधानमन्त्री निवास लगायतका लाखौँ रोपनी जग्गा मन्त्री, नेता, कर्मचारी र विचौलियाको मिलेमतोमा बेचिएका छन् । प्रधानमन्त्री र पार्टीका अध्यक्षका तहबाट गरिने अर्बौं अर्बका भ्रष्टचारलाई राजनीतिक उनीहरुको अधिकारकै रूपमा प्रयोग गरिएका छन् । पियनदेखि माथिका पदमा नियुक्ति पाउन पैसाको झोला बुझाउने र पढेर होइन, चोरेर उत्तीर्ण हुनै पर्ने संस्कार झाँगिएको छ । विद्यावारिधि गर्नेदेखि ५ कक्षा पढ्नेसम्मका मान्छेले ‘नेपाल’ भन्दैनन् । केवल नेता, दल, जात, क्षेत्रकै दलाली गर्छन् । कूटनीतिकदेखि सुरक्षा अङ्ग (सेनाबाहेक) का ठूलाबडा नियुक्तिमा समेत पैसाकै व्यापार हुन्छन् । विदेशी सङ्घसंस्था र राष्ट्रकै कालो धनमा चुनाव लडेर व्यवस्थापिका पुग्छन् । देशका प्रधानमन्त्रीहरु नै खुलमखुला विदेशीहरुले धर्म प्रचारको निमित्त प्रदान गरेका लाखौँ डलर लिएर तक्मा पनि लगाउँछन् । जनताको इच्छाविपरीत र नेपाल सरकारको पूर्वस्वीकृतिविना लिइने कुनै पनि रकम वा जिन्सी सामान सफेद घुस हुन । त्यस्ता सफेद घुस लिनेलाई देशले पदच्यूत गराएका नजिर संसारमा धेरै छन् ।

दुर्भाग्यवस, नेपालमा भने ‘चोरलाई चौतारो’ भनेझैँ भएको छ । नेताहरु सरकार प्रमुख, मन्त्री हुँदा घुस खुवाउने र बिल भर्पाइ बनाइदिने सचिवहरु निवृत्त भएपछि भ्रष्टाचारबाट नेता बचाउन तिनैलाई पुनः अख्तियारमा नियुक्त गरिन्छ । पैसामा व्यक्ति, समाज, शैक्षिक संस्था, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, धार्मिक संस्थासमेत बिकेपछि त्यो देशमा कसैले पनि नैतिक बन्धनमा बाँधिनुपर्दैन । त्यसपछि देशको राष्ट्रिय सुरक्षा ओरालो लागिसकेको हुन्छ । नेपालमा त्यही भएको छ ।
  

 चौथो पक्ष भनेको न्याय मर्नु हो । सुरक्षाको अर्थ हुन्छ ‘फ्रिडम फ्रम फियर’ अर्थात डर त्रासविहीन जीवन । त्यो भनेको संयुक्त राष्ट्र सङ्घले परिभाषित गरेको ह्युमन सेक्युरिटी हो । न्यायालय नै मान्छेको गाँस, बाँस र कपासको सुरक्षा गर्छ । करिब एक दशक यताको नेपालको न्याय क्षेत्र हेर्ने हो भने उसबेला भन्ने गरेको ‘निराजको मुलुक’ बनेको छ । राजनीतिक दलका झोला बोक्नेले नै न्यायालयको पकड बनाउँदा र त्यसमाथि विभिन्न देशका गैरसरकारी संस्थाले सेलिब्रेटी बनाएका पात्रहरुलाई बेन्च सुम्पिँदा नेपाल न्याय मरेको देश बन्दै गएको छ । पाँच अर्ब भ्रष्टाचार गर्ने भ्रष्टलाई पाँच लाखमा छुटाइने, जबरजस्ती करणी, ठूला साना भ्रष्टाचार, ज्यानमारा, मानव तस्कर आदि सजिलै उम्कन्छन् । न्यायलाई पैसामा किन्न सकिने अवस्था बनेपछि जनतामा माफियाहरुको त्रासले ‘बाँच्छु’ भन्ने भन्दा ‘मरिन्छ’ भन्ने डरले यस्ता कुकर्मको विरोधमा समेत मान्छे बोल्दैनन् । अनि देशकै प्रधानमन्त्री प्रधानन्यायाधीश बनेर यो मान्छे भ्रष्टाचारी होइन, यो जग्गा दलाल होइन, होली वाइन ग्रहण गल्ती होइन भनी अन्यायी भाषा बोल्छन् भने त्यो देशमा राष्ट्रिय सुरक्षाले होइन आम असुरक्षाले बास गर्छ । न्याय मरेको नेपालमा मन मरेका जनता दिन प्रतिदिन बढिरहेका छन् ।
  

 पाँचौँ पक्ष भनेको नेपालको परराष्ट्र नीति । करिब दुई दशकयता नेपालको परराष्ट्र नीति कर्कलाको पातमा हालेको पानी जस्तै भएको छ । अचम्मको कुरो त नेपालको परराष्ट्र मन्त्रालयमा काम गर्ने पढे लेखेका र लोक सेवा उत्तीर्ण गरेर आएको पियनदेखि सचिवसम्मले आआफ्नो कामको धर्म छाडे । यी स्थायी सत्ता हुन् । तर नेता र परराष्ट्र मन्त्रीकै चम्चे बने । अनि राजनीतिक दलबाट आएका मन्त्री र उनका दलको नेताको मनसायअनुसार कूटनीति चलाए, चलाउँदैछन् । यिनले सार्क मारे, असंग्लग्न पराराष्ट्र नीतिको सिद्धान्त मारे अनि नेपाल दुई ढुङ्गाबीचको तरुल भन्ने यर्थातता बिर्से । गुन र बैगुनको विश्लेषण नै नगरी नेपालले चीनको बीआरआई, अमेरिकाको इन्डोप्यासेफिक, भारतको बीबीआईएन र बिमस्टेक, एसिया प्यासेफिक समिटको नामले क्रिस्चियनहरुको होली वाइन ग्रहण, बेला न कुबेला भेनेजुयला, कोस्टारिका भ्रमणका घटनामा संलग्न भइरहेको छ । उता मानव अधिकारलाई लात मार्न लाग्दै गर्दा संयुक्त राष्ट्रसङ्घको नजरमा समेत नेपाल खोटो बन्दैछ । आजको दिनमा के नेपालले मनपरीसँग शक्ति राष्ट्रहरुको मनमरी गठबन्धनमा गाँठो पर्न मिल्ला ? वर्तमान सरकारको आत्मारतिको कारणले नेपालले लिएको परराष्ट्र नीति अस्पष्ट छ । जसबाट न त भौगोलिक मित्र नै न त हवाई मित्र नै विश्वासमा छन् । नेपाललाई अप्ठेरो पर्दा भोलिको दिनमा संयुक्त राष्ट्रसङ्घदेखि छिमेकीले सम्म साथ न दिने अवस्था सिर्जना भइरहेको प्रष्टै छ । यो राष्ट्रिय सुरक्षाका लागि महाभूल भइरहेको छ ।

    छैटौँ पक्ष भनेको सुरक्षा अङ्गहरुको मौनता । राष्ट्रिय सुरक्षामा चुनौती आउन नदिने कामका आँखा र कानको काम गर्दै सरकारलाई सुझाव र परेमा चेतावनीसमेत दिन काम नेपालको हकमा राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरी बल र नेपाली सेनाको हो । अमेरिका, बेलायत, भारत, चीन, जापान, अस्ट्रेलियालगायतका विकसित मुलुकमा समेत देशका सुरक्षा अङ्गहरुले त्यहाँका नेता, सरकार, सरकार प्रमुख, अन्य कर्मचारीलाई समेत राष्ट्रिय सुरक्षामा खलल पुग्ने कुरामा स्वदेश तथा विदेशमा बोल्न, सन्धि, सम्झौता गर्न र गोप्य भेटघाट गर्नसमेत नियन्त्रण गर्छन् । तर नेपालमा भने भारत, चीन, अमेरिका, भेनेजुएला, कोस्टारिका, कम्बोडिया पुगेर नेताले बोल्ने र गर्ने काममा हाम्रा सुरक्षा अङ्गहरुले चासो राख्दैनन् ।

देशकै प्रधानमन्त्री प्रधानन्यायाधीश बनेर यो मान्छे भ्रष्टाचारी होइन, यो जग्गा दलाल होइन, होली वाइन ग्रहण गल्ती होइन भनी अन्यायी भाषा बोल्छन् भने त्यो देशमा राष्ट्रिय सुरक्षाले होइन आम असुरक्षाले बास गर्छ ।

त्योभन्दा पनि सङ्गीन कुरो त देश टुक्र्याउँछु भन्ने समूह बोलिरहँदा देखादेखी देशको सिमाना मिचिँदा, दिन दाहाडै नागरिकता विदेशीलाई समेत बाँडिदा, सिमानामा नेपाली मारिँदा, नेपाली भूभाग हराएको नेपाली नक्सा वितरण हुँदा, पैसा लगायतका लाभ लिएर राजनीतिक तहबाट धर्म परिवर्तन गर्ने व्यापार चलाउँदा, नं २ प्रदेशमा पहाड नराखी प्रदेश बनाइँदा, खुला सिमाना छाडिँदा, हाल नेपाललाई उत्तर कोरियाली आतङ्कारी ह्याकर पालेको बात लगाएको छ अमेरिकाले, विदेशी गै्रहसरकारी संस्थाहरुले मनपरी गर्दा, कूटनीतिक नियोगहरुको देशभित्र नाङ्गो नाच देखिँदासमेत राजनीतिक नेताझैँ हाम्रा सुरक्षा अङ्गहरु मौन बसेर जागिरेको मात्र धर्म निभाउने काम राष्ट्रिय सुरक्षामा सबैभन्दा ठूलो चुनौती बनेको छ । यो अवस्थामा गृह, रक्षा वा कुनै मन्त्रालयको पहलमा राष्ट्रिय सुरक्षा नीति बनाउँछु भन्नु वा बनाइयो भन्नुको अर्थ केही रहँदैन ।
  

 सातौँ पक्षभनेको काम नगरी धनी बन्ने प्रवृत्ति । उसबेलाको माओवादी युद्धले जन्माएको कूसंस्कार हो । यसले अहिले नेपाल सरकार, समाज, न्यायालय, संसद् लगायत सम्पूर्ण ठाउँमा जरो गाडेको छ । चोरेर, ढाँटेर, मान्छे मारेर, धम्क्याएर, भ्रष्टाचार गरेर जे भए पनि सबैलाई पैसा चाहिएको छ । खेत जोत्ने, बारी, खेतमा काम गर्ने, कर्मचारीले जनताका लागि सेवा दिने, शिक्षकले पढाउने, न्यायालयले न्याय दिने जमानाको समाप्ती भई ‘इजी मनी अर्निङ’ संस्कार बढेकाले सांसददेखि पियनको दर्जा सबै ठाउँमा बिक्री भइरहेका छन् । कानुनी शासन नहुनु र देशमा काम गरी खाने अवसर नहुँदा देश युवा शक्तिविहीन भएको छ । यिनै आदि इत्यादि कारणले नेपालको राष्ट्रिय सुरक्षामा आफैले निम्त्याइएका चुनातीहरुले घेरिएका छन् । यसलाई मनन गरेर समयमै प्रतिकार नगर्ने हो भने देशकै एकता र अस्थित्वमा शङ्का गर्न सकिन्छ ।
    अन्त्यमा, राणाकाल र पञ्चायतकालमा समेत विदेशी सेनाः ब्रिटिस गोर्खा, इन्डियन गोर्खा, सिङ्गापुर पुलिस, विदेशमा जागिरे नेपालीहरुको अभिलेख राख्थ्यो । अहिले पनि नेपालीहरु अमेरिकी, फ्रन्स, ब्रिटिस, भारतीय सेना र सिङ्गापुर पुलिसमा विधिवत काम गर्दैछन् । त्यसै गरी काम गर्नका लागि लाखौँ नेपाली खाडी लगायतका मुलुकमा छन् । ती सबैको अभिलेख राज्यले पक्कै राख्नुपर्छ र आजको दिनमा सबैले पढ्न पाउने गरी वेबसाइटमा राख्नै पर्छ । अनि नेपाली नागरिकता हुने ती सबैलाई हरेक चुनावमा विदेशबाटै मत दिन पाउने समेत व्यवस्था हुनुपर्छ, जसले नेपालको राष्ट्रिय सुरक्षामा थप मनोबल बढाउनेछ ।
 

कमेन्ट

  1. June 8, 2019, 11:39 p.m. DIliram
    100 % true and logical for current situation of nepal.
  2.  0 Reply
  3. June 8, 2019, 4:55 p.m. Bishnu Thapa Magar
    डा साब तपाइकाे बायसिँग कुरा सबैले पतयाछन भनेकाे यसकाे अपबात म मात्त्र नभइ धरे छन। बजारमा हलाछ भन्दै हल्ा गरनेकाे पछि लाग्छ भन्नु भयकाे हाेला काेहि लाग्ने वाला छैन मखर् बाहेक
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...