शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका अध्यक्षद्वारा नेयमारको आलोचना

मङ्गलबार, २४ साउन २०७४, १० : २५
मङ्गलबार, २४ साउन २०७४

बार्सिलोना । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पूर्व खेलाडी नेयमारले क्लब छाडेर पेरिस सेन्ट जर्मेन जाँदा देखाएको व्यवहारको आलोचना गरेका छन् ।

सन् २०१६ मा ब्राजिलियन फरवार्डले क्लबमा नयाँ करार गर्दा नै आफूलाई उनले क्लब छाड्ने कुराको शंका रहेको पनि बार्टोमेउले खुलासा गरेका हुन् ।

२५ वर्षीय खेलाडीले हालै मात्र विश्व किर्तिमानी २२.२ करोड युरोमा लिग वान क्लबसँग अनुबन्ध भएका छन् ।

बार्टोमेउले भने, ‘उनले देखाएको व्यवहार ठीक थिएन । बार्सिलोनाको खेलाडीबाट हामी यस्तो व्यवहार आशा गर्दैनौँ ।’
नेयमारले क्लब छाड्ने हल्ला लामो समय चलेपनि उनले यस विषयमा केही पनि बोलेका थिएनन् । तर, गत बुधबार उनले ट्रेनिङमा आउँदा क्लबका अधिकारीहरुलाई आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए ।

त्यसको दुई दिनपछि नै उनले नयाँ क्लबसँग अनुबन्ध गरेका थिए । नेयमारले आफूलाई ‘ठूलो चुनौती’ चाहेको बताउँदै क्लब छाड्ने निर्णय गरेको जानकारी दिएका थिए ।

गत अक्टोबारमा नै नेयमारले बार्सिलोना छोड्न चाहेको थाहा पाएको बताउँदै बार्टोमेउले भने, ‘हामीले नेयमारले क्लब छाड्नेछन् भन्ने थाहा पाएर नै उनको रिलिज क्लज २२.२ करोड युरो राखेका थियौँ ।’

‘जब हामीलाई थाहा भयो कि उनले क्लब छाड्ने छन्, हामी शान्त रह्यौँ किनभने जे भए पनि क्लबका लागि ठीक थियो,’ उनले थपे, ‘उनी क्लबमा बसेको भए हामीसँग उत्कृष्ट खेलाडी हुन्थ्यो । र, यदी उनी छाड्ने नै भए भने पनि किन्ने क्लबले उनको लागि ठूलो धनराशी खर्च गर्नुपथ्र्यो । जसबाट हामी नयाँ र प्रतिस्पर्धी खेलाडी किन्न सक्थ्यौँ ।’

उनले नेयमारले क्लबको हिस्सा बन्दै पछिल्ला चार वर्ष सफलता हात पारे पनि उनी अब इतिहास भइसकेको जिकिर गरे ।
बार्टोमेउले नेयमारलाई क्लबमा राख्नका लागि सबैले प्रयास गरे पनि असफल भएको बताए । उनले बार्सिलोनाभन्दा ठूलो कुनै पनि खेलाडी नभएको बताउँदै उनलाई क्लबले जान दिएको पनि जिकिर गरे ।

नेयमारको बिक्रीबाट आएको रकमको सही उपयोग गर्ने पनि उनले जानकारी दिए । बार्सिलोनाले नेयमारको स्थानमा लिभरपुलका फिलिपे काउन्टिन्हो, बोरुसिया डर्टमण्डका ओसमान डेम्बेलेलगायतका खेलाडीहरुलाई मुख्य लक्ष्य बनाएको खबरहरु बाहिर आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप