शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सत्तारुढ सांसदकै निष्कर्ष : मुख्यमन्त्री राउत सरकार असफल

शुक्रबार, २४ जेठ २०७६, २० : २१
शुक्रबार, २४ जेठ २०७६

-किरणकुमार कर्ण

प्रदेश नम्बर २ आर्थिक वर्ष २०७६/०७७ को प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको छलफलको क्रममा सत्तारुढ तथा प्रतिपक्षी समेतले निकै आलोचना गरेका छन् ।

सत्तारुढ दल राजपा नेपालका सांसद विन्देश्वर यादवले परम्परावादी, मन्त्रीमुखी तथा वितरणमुखी प्रणाली अनुसारको कार्यक्रम प्रस्तुत भएको आरोप लगाएका हुन् । 

उनले प्रदेश सरकारले गरेको खर्च विवरणको आधारमा देशकै ८ नम्बरको सूचिमा आउने दाबी गर्दै मन्त्रीको स्वार्थ र सोचका कारण प्रदेश सरकार असफल भएको बताए ।

उनले भने– ‘मन्त्रीहरु अपनत्वमा डुबेर जनताले सरकारको अनुभुति गर्न सकेको छैन, झुठो आश्वासन दिएर हामीले जनतालाई कति दिनसम्म ठग्ने भन्दै प्रतिप्रश्न गरे ।’ 

नेपाली काँग्रेसका सांसद शिचन्द्र चौधरीले सरकारको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुँदा ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ उखानझँै भएको बताए । 

उनले सरकारले बिरगञ्जमा प्राविधिक विश्वबिद्यालय स्थापना गर्नु राम्रो कुरा भएपनि स्थापना भएको विश्वविद्यालयलाई नीति तथा कार्यक्रममा समावेश नै नगर्नु विभेदको पराकाष्ठा भएको बताए ।

उनले प्रदेश सरकारका मन्त्री र मन्त्रालय मुख्यमन्त्री मातहत नभएको बताउँदै मुख्यमन्त्रीले निरिहता प्रकट गरेको आरोप समेत लगाए । 

उनले भने, ‘मन्त्रीहरुले आतंक मचायो, मन्त्रीबाट बजेटको भद्रगोल स्थिति, आफ्नो क्षेत्रमा पोकाको पोक बजेट बाँड्ने परिपार्टी गर्ने अनि कर्मचारीको अभाव देखाएर पन्छिने, जबसम्म बजेट प्रणाली मजबुत बन्दैन प्रदेशको बिकास हुँदैन, त्यसैले बजेट प्रणालीलाई मजबूत बनाउ ।’

नेकपाका सांसद किशोरी साह कमलले भने, ‘सरकारको नीतिमा मन्त्रीले ‘नियत’ लगाएर काम गर्ने मनस्थिति मात्रै भइदिए पुग्छ ।’ उनले मैथिली तथा भोजपुरी भाषलाई विकास गर्नुको साटो सरकारले हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा ल्याएर विवाद निम्त्याउन खोजेको आरोप लगाए । 

उनले बजेट दुरुपयोगका दुश्साहस रोक्न आग्रह गर्दै जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृतको विषय नीति तथा कार्यक्रममा समावेश गर्न माग गरे ।

राजपाका सांसद परमेश्वर साहले प्रदेश सरकारले राजाराम प्रसाद सिंहको शालिक निर्माण गर्ने सुखद भएपनि पहिलो गणतान्त्रिक शहिद दुर्गानन्द झाको शालिक निर्माण गर्न कार्यक्रममा समावेशको लागि माग गरे ।

नेकपाकी सांसद मञ्जुकुमारी यादवले हिन्दी भाषालाई सम्पर्क भाषा बनाईनु असंवैधानिक भएको बताउँदै नेपाली भाषा सम्पर्क भाषा हुनुपर्ने माग राखिन् ।

नेकपाकै सांसद सुन्दरबाबु विश्वकर्माले मैथिली र भोजपुरी भाषालाई संरक्षण गर्नुको साटो हिन्दीलाई सम्पर्क भाषाको रुपमा थुर्पान खोजेको आरोप लगाए ।

संसद बैठकमा नीति तथा कार्यक्रममा संशोधन हालेका १३ सांसदहरुले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप