बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश २ मा ३५ अर्बको बजेट: कृषि, पर्यटन, सडक, सिञ्चाई र विद्युत बजेटका प्राथमिकता

शुक्रबार, २४ जेठ २०७६, १९ : ००
शुक्रबार, २४ जेठ २०७६

जनकपुर– २ नम्बर प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६/०७७ का लागि अनुमानित ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।  चालु आर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटमध्येको करिब १० प्रतिशत मात्र खर्च गर्न सकेकाले आउने आर्थिक वर्षमा सोही योजनालाई निरन्तरता दिँदै  केहि थप गरेर असार १ गते बजेट ल्याउन लागेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७५/०७६ मा करिब ३० अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने आउँदो आर्थिक वर्षमा ५ अर्ब बढेर अनुमानित ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी भइरहेको छ । 

प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा अनुमानित ३५ अर्ब रुपैयाँको कूल बजेटका कार्यक्रमहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा जनकपुर–वीरगञ्ज–राजविराजसम्म प्रादेशिक पारवहन अन्तर्गत सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागेको छ ।

प्रदेश सरकारले ल्याउन लागेको बजेटमा सडक बोर्ड गठन गरी पारवहन कार्यविधि जारी गरी प्रदेशको ८ जिल्लालाई एक अर्कासँगको समन्वय तथा सहकार्य हुने खालका मुख्य राजमार्गमा प्रादेशिक बस सेवा सञ्चालन गर्ने योजना समेटेको छ ।  प्रदेश सरकारको प्राथमिकतामा कृषि, धार्मिक पर्यटन, सडक, सिचाई र विद्युत लगायतका महत्वकांक्षी योजनाहरु रहेको छ ।

प्रदेश सरकारले लगानी गर्ने क्षेत्रलाई पहिचान गरी लगानी गर्नतर्फ प्रदेश सरकारको बजेट केन्द्रित हुने बताइएको छ । जस्तैः कृषि उपज बढाउन सिँचाइका स्रोतको रूपमा डीप ट्युबवेल र बोरिङहरूको योजना प्रदेश सरकारले अगामी वर्षको बजेटमा राखेको जनाएको छ ।

प्रदेशमा पर्यटन विकास तथा प्रवद्र्धनका लागि धार्मिक पर्यटनको क्षेत्रमा एउटा पालिकाबाट अर्को पालिकासम्म जोड्ने बाटो र सडक निर्माणको काम तथा सप्तरीको सखडादेखि सहलेश र बाराको गढीमाई हुँदै पर्साको रामभौरीभाठा हुँदै ठोरीसम्म पर्यटनको उपयुक्त गन्तव्य सम्म पुग्ने सडक निर्माण गर्ने नीति रहेको जनाइएको छ ।

प्रदेश अन्तर्गत होटल व्यवसायलाई बढावा दिई धार्मिक पर्यटनमा जोड दिने प्रदेश सरकारको नीति रहेको छ भने बिजुलीमा आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले ३ सय मेगावाटको सोलार केन्द्र पनि स्थापना गर्न लागेको छ । 

यस विषयमा ८ जिल्लाका पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न पालिकासँग जग्गा लिइने छ भने थप कार्ययोजना बनाई कार्यक्रम अघि बढाउने लगायतका कार्यक्रम समावेश गरिएको छ । चालू आर्थिक वर्षको ५० मेगावाटको सोलार केन्द्रका सम्बन्धमा सम्भाव्यताको अध्ययन भइसकेको र चौधरी समूहसँग एमओई पनि भइसकेको बताइएको छ ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले वर्तमान चालू आर्थिक वर्षमा करिब ३० अर्ब रुपैयाँको बजेट ल्याइएकोमा आगामी आर्थिक वर्षका लागि ५ अर्ब रुपैयाँ थपेर अनुमानित ३५ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको जानकारी दिए । 

उनले अनुदान,वित्तिय, सशर्त सहितका अनुदान लगायत गरि ३५ अर्ब रुपैयाँको बजेट आउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप