शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के होला मलेसिया रोजगारी ? मन्त्रीलाई छाया मन्त्रीको चुनौती

बिहीबार, २३ जेठ २०७६, १२ : ०१
बिहीबार, २३ जेठ २०७६

काठमाडौँ– सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने र युवाहरुलाई विदेश रोजगारीका लागि विदेश जानु नपर्ने दावी गरिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेको छ । 

मलेसिया नेपाली युवाहरुका लागि आकर्षक गन्तव्य मानिन्छ । तर, विगत एक वर्षयता नेपालीहरुका लागि मलेसिया रोजगारी बन्दजस्तै छ ।

 मलेसिया रोेजगारी बन्द र स्वदेशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना हुन नसक्दा हजारौँ नेपालीहरु बेरोजगार बन्नुपरेकाले मलेसिया रोजगारी खुलाउनुपर्ने भन्दै काँग्रेस सांसद डिला संग्रौला पन्तले यो प्रस्ताव दर्ता गरेकी हुन् । 

जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएपछि सरकारले त्यसबारे सदनलाई अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ । 

‘मलेसिया बन्द हुँदा लाखौँ नेपालीको रोजगारी गुमेको छ । मुलुकले ठूलो रेमिट्यान्स गुमाएको छ । सरकारले स्वदेशमा रोजगारी दिने भनेपनि भाषण र कागजमा मात्रै सीमित छ,’ छाया सरकारकी श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री समेत रहेकी पन्तको भनाई छ । 

छायामन्त्री पन्तले मंगलबार यस्तो प्रस्ताव दर्ता गरेपछि मलेसिया रोजगारी प्रकरण फेरि चर्चामा आएको छ । 

‘कूटनीतिक माध्यमबाट नेपाली कामदारको हकहित सुरक्षित हुनेगरी सक्दो चाँडो रोजगार खुला गर्नुपर्छ’, छायामन्त्री पन्तले रातोपाटीसँग भनिन्, ‘सरकारकै कारण मुलुकमा बेरोजगारी समस्या विकराल हुँदैछ । सरकारले यहाँपनि रोजगारी सिर्जना गर्न सकेको छैन र मेलेसिया पनि खुलाउन चासो दिएको छैन । यो समस्या तत्काल सम्बोधन हुनुपर्छ ।’ 

श्रम मन्त्रालयका अनुसार गत वर्षको आठ महिनामा ७७ हजारभन्दा बढी युवा मलेसिया गएका थिए । तर, यस वर्षको सोही अवधिमा तीन हजारभन्दा कम रहेको पन्तको भनाई छ । 

‘दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बितिसक्यो । किन र के कारणले मलेसिया खुल्न नसकेको हो ? सरकारले के पहलकदमी गरिरहेको छ ? यसबारे सरकारले संसदलाई जानकारी दिनुपर्छ’ पन्तको माग छ । 

मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण र मागपत्र प्रमाणीकरण गर्ने क्रममा आर्थिक चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने शुल्क समेत पारदर्शी हुन नसक्दा श्रमिकहरु ठगिएको गुनासो समेत आउने गरेको छ । 

तर सरकारले भने कामदारलाई अनावश्यक आर्थिक भार नपर्ने गरी मलेसिया पठाउने प्रयास भइरहरेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ गतेअघि स्वास्थ्य परीक्षण, सुरक्षा जाँच भएर कलिङ भिसा आइसकेकाका कामदारलाई श्रम स्वीकृति दिइसकेको जनाएको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले गत साता नै मलेसियाले टेक्निकल टीम पठाउने तयारी गरेपनि इद पर्वका सो प्रक्रिया अवरुद्ध बनेको र आइतबारदेखि पुनः छलफल गरेर यसबारे निर्णयमा पुगिने बताए । 

दुई देशका टेक्निकल टीम बसेर स्वास्थ्य परीक्षणबारे स्पष्ट धारणा बनाएपछि मलेसिया रोजगारीको टुङ्गो लाग्ने उनको भनाई छ ।

मलेसियाले नेपालमा रहेको संयन्त्रमाथि समीक्षा भइरहेको भन्दै नयाँ निर्णय नआएसम्म पुरानो संयन्त्रमार्फत कामदारको भिसा प्रक्रिया अघि बढाउन नेपलासमक्ष आग्रह गर्दै आएको छ । 

मलेसिया रोजगारका लागि भिसा प्रक्रियामा भीएलएन, वान स्टेप सेन्टर, सुरक्षा जाँच गर्ने नाममा कामदारमाथि अनावश्यक शुल्क लिइँदै आएको भन्दै त्यसको विरोध हुँदै आएको थियो । 

वैदेशिक रोजगार व्यवसायीहरुले पनि सरकारलाई मलेसिया रोजगारी खुलाउन पहल गर्न माग गर्दै चर्को दवाव दिँदै आएका छन् । उनीहरुले मलेसिया रोजगारी खुलाउन पटकपटक श्रम मन्त्रलायलाई लिखित र मौखिक दवाव दिँदै आएका छन् । पछिल्लो समय व्यवसायीहरुले व्यवसाय गरेवापत धरौटी रकम बढाउन लगाएपनि प्रमुख गन्तव्य मुलुकमा रहेको अड्चन खुलाउन प्रयास भने नगरेको गुनासो गर्दै आएका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप