शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनको आगामी नेतृत्वका लागि पन्तको उम्मेदवारी रहने

आइतबार, १९ जेठ २०७६, २२ : ३९
आइतबार, १९ जेठ २०७६

बेल्जियम – गैरआवासीय नेपाली संघ (एनआरएन) का वरिष्ठ उपाध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा हुने नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । 

अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेपनि चुनावी माहोल तयार गर्नकै लागि विश्वका विभिन्न देशमा सक्रियता बढाएका पन्तले आइतबार एनआरएन बेल्जियमले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चुनाव लड्ने बताएका हुन् । 

साे कार्यक्रममा भाग लिन जर्मनीबाट बेल्जियम पुगेका उनले निर्वाचनमा जाँदा कुनै टीम वा प्यानल बनाएर जाने पक्षमा भने आफू नरहेको बताएका छन् । 

‘एनआरएनको विधानमा टीम बनाएर चुनावमा भाग लिन नपाइने व्यवस्था छ  । म आफू निर्वाचन प्रक्रियामा गएको खण्डमा टीम नबनाइकन चुनावमा सहभागी हुने जानकारी गराउँछु’,  अन्तर्क्रिया कार्यक्रममा पन्तले भने, ‘व्यक्तिगत रुपमा मेरो कुनै साथी आइदिए हुन्थ्यो भन्ने चाहना हुनसक्छ । त्यो चाहना मेरो मनभित्रको चाहना हुनसक्छ । तर मेरो टीम यो छ, फलानो फलानोलाई भोट दिनुस् भनेरचाहिँ नभन्ने कुरा जानकारी गराउन चाहान्छु ।’

विधानमै टीम बनाएर जान नपाइने भनिएपनि विभिन्न गलत बाटोबाट  प्यानल खडा गर्ने काम गरिनु गलत हुने उनको भनाई छ । 

उनले नेपालमा एनआरएनले धेरै लगानी भित्रिसकेको भन्दै अब सामूहिक लगानीपनि भित्र्याउन लागिपरेको बताए । 

‘एनआरएनभित्रै व्यक्तिहरुको लगानीमा मिडिया, हाइड्रो, बैंक, हस्पिटालिटीलगायतमा लगानी भएका छन्’ पन्तले भने, ‘अहिले सामूहिक लगानीको रुपमा फण्ड बनाएर लगानी गर्नेगरी नेपाल सरकारसँग सहमति भएको छ । यसबाट धेरैभन्दा एनआरएनले शेयर हालेर लगानीकर्ता बन्न सक्नुहुन्छ ।’

उनले एनआरएनले विदेशमा सिकेको ज्ञान सिप र प्रविधिलाई नेपाल लैजाने पनि बताए । 

एनआरएनले अघि सारेको भिजन २०२० को एजेण्डालाई अनुसरण गर्ने हो संस्थाका लागि अरु एजेण्डा आवश्यक नपर्ने पनि पन्तले बताए । 

अर्को प्रसंगमा पन्तले  अहिलेको मुख्य चुनौति भनेको  सदस्यतालाई व्यवस्थित गर्नु भएको बताए । 

त्यसका लागि अनलाइन सिस्टममार्फत सदस्यता नवीकरणको प्रक्रिया थालिएको उनको भनाई छ । 

एनआरएन बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष आईसीसी सचिव जानकी गुरुङ र युरोप संयोजक शिवकुमार बरुवाल रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप