केन्द्रीय संस्करण
मेराे जीवन

एनआरएन कृष्णप्रसाद तिमिल्सिनाको जीवन :  छिट्टै अगाडि बढ्ने माध्यम व्यापार नै हो

person explore access_timeजेठ १८, २०७६ chat_bubble_outline0
Photo Credit : Rajendra Paudel
कुवेर गिरी

रातोपाटी

कृष्णप्रसाद तिमिल्सिनाएनआरएन तथा समाजसेवी हुन् । उनी करिब १८ वर्षदेखि बेलायतमा रहँदै आएका छन् । नेपालमा मात्र होइन, उनी यूकेमा पनि समाजसेवीको रूपमा चिनिन्छन् । 
यूकेका उनको रेस्टुरेन्ट र सुपर स्टोरको समेत व्यवसाय छ । २००१ मा वर्किङ भिसामा यूके पुगेका उनी २००७ बाट एनआरएनमा आबद्ध भएका थिए ।

साधारण सदस्यका रूपमा एनआरएन यूकेमा छिरेका उनी २००९ देखि २०११ सम्म एनआरएन यूकेको कार्यसमिति सदस्य रहे । त्यसपछि अर्काे कार्यकाल उपाध्यक्ष हुँदै शेष घले एनआरएनको केन्द्रीय अध्यक्ष रहँदा उनी केन्द्रीय सदस्य बने । यूकेमा मात्र होइन नेपालमा समेत बैङ्किङ, सेयर लगायतमा लगानी गरेका तिमिल्सिना वर्षमा दुई तीन पटक नेपाल आउने गर्छन् । नेपाल  आउँदा व्यापार, घुमघाम र पारिवारिक भेटघाट सबै हुने उनी बताउँछन् ।  धादिङको साविक धुवाकोटमा जन्मिएका तिमिल्सिनासँग नेपाल आएको अवसरमा रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानीः

मेरो पेसा पकाउने
मेरो मनपर्ने खाना साधारण दालभात तरकारी र अचार नै हो । तरकारीमा साग धेरै मनपर्छ । नपर्ने अहिलेसम्म त्यस्तो केही छैन । तर माछा, मासु कम खान्छु । मेरो खास पेसा पकाउने हो । नेपालमा स्कुले शिक्षा सकेर म भारत पसेको थिएँ । भारतमा मैले होटल म्यानेजमेन्ट अध्ययन गरेँ । त्यसैले पकाउनेदेखि होटल म्यानेजमेन्ट गर्नेसम्म जुनै कुरा पनि आउँछु ।
म सबै थोक पकाउन सक्छु । मेरो काम नै रेस्टुरेन्टको हो तर साथीभाइ भए भने मात्र रेस्टुरेन्ट जाने गरेको छु । नत्र बिहान बेलुकाको खाना म घरमै खान रुचाउँछु । कहिलेकाहीँ बच्चाहरूलाई घुमाउन लैजादा रेस्टुरेन्टमा खुवाउँछु ।  

महँगो राम्रो
पोसाकमा साधारण सर्ट, पाइन्ट, कोट लगाउँछु । मेरो प्रायः पहिरन आकाशे र ग्रिन कलरको हुने गर्छ । म कहिलेकाहीँ रेडिमेड पनि किन्छु तर अधिकांश पहिरन सिलाएर लगाउने गरेको छु । मैले धेरै पहिलेदेखि सिलाउने विशाल बजारमा एउटा ट्रेलर छ । नेपाल आएको बेला सुट, सट जहिले पनि त्यही सिलाउँछु । यो पटक पनि केही सिलाएको छु । 
विदेशमा किन्नु पर्दा रेडिमेट किन्छु । नेपाल बारम्बार आउने भएकाले धेरै यही सिलाउँछु । पहिरनमा ब्रान्ड रोज्छु । महँगो भयो भने राम्रो हुन्छ भन्ने मेरो मान्यता हो । कार्यक्रममा नेपाली पहिरन दौरा सुरुवालमा जानुपर्यो भने ढाकाको टोपी लगाउँछु । पहिरनमा मेरो वार्षिक एक लाख बढी खर्च छ ।

समय भए एक्सरसाइज 
नियमित एक्सरसाइज गर्न मनपर्छ । तर गर्न भ्याउदिनँ । सातामा दुई तीन पटक मर्निङ वाक जान्छु । यूकेमा जहाँ बस्छु त्यहाँ नजिक जिम क्लब छ । समय भएको दिन त्यहाँ गएर एक्सरसाइज गर्छु ।
 
बिहानको समय पढ्छु
अध्ययन गर्न मनपर्छ । समाचारपत्र पढ्छु । अनलाइन मिडिया पनि पढ्छु । पुस्तक कम पढ्छु । अनिवार्य अध्ययन गर्नुपर्ने किताब पढ्छु । बिहानको समय पढ्न मनपर्छ । रियल जीवनीमा आधारित पुस्तक मनपर्छ । जिवा लामिछानेको पुस्तक भर्खर पढेर सकेँ । महात्मा गान्धीको जीवनी पनि भर्खर पढेको पुस्तक हो ।

युरोपका सबै देश पुगेँ 
घुम्नै पर्छ भन्ने छैन तर घुमफिर गर्नु परिरहेको छ । म सामाजिक काममा धेरै सक्रिय छु । यो कामले मलाई धेरै ठाउँ घुमाउने गरेको छ । प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ घुम्न मनपर्छ ।  देशको धेरै ठाउँ पुग्न सकेको छैन । चितवन, हेटौँडा, पोखरालगायत केही जिल्ला पुगेको छु । विदेशका भने धेरै देश टेकिसकँे । एनआरएनमा लागेपछि विभिन्न देशहरू जानुपर्दाे रहेछ । अहिलेसम्म अस्ट्रेलिया पुगेको छैन । युरोपका सबै देश पुगिसकेँ ।

फुर्सद कम हुन्छ
फुर्सद कम हुन्छ । मेरो एकसाथ तीन काम चलिरहेको छ । एउटा आफ्नै बिजनेस गरिरहेको छु । अर्काे सुरुदेखि गरिरहेको आफ्नो रेस्टुरेन्ट व्यावसाय पनि हेरिरहेको छु । बचेको समय समाज सेवामा पनि दिन्छु । त्यसैले फुर्सद थोरै हुन्छ । फुर्सद भएको समय परिवारलाई दिन्छु । 

भारतमा क्रिकेट खेल्थेँ
खेलकुदमा रुचि हुँदाहुँदै पनि समय दिन भ्याएको छैन । मेरो मनपर्ने खेल क्रिकेट हो । हेर्न पनि यही मनपर्छ । भारत धेरै बसेको कारणले पनि क्रिकेटको बारेमा धेरै ज्ञान छ । म्याचहरू हेर्छु । भारतमा रहँदा क्रिकेट खेल्थे । 

ब्रान्डेड मोबाइल 
अहिले मसँग दुईवटा मोबाइल छ । एउटामा नेपालको सिम छ । अर्काेमा यूकेको सिम राखेको छु । फोटो खिच्न, समाचार हेर्न, सामाजिक सञ्जाल चलाउन मोबाइल प्रयोग हुने गरेको छ । मेरो हातमा जहिले पनि लेटेस्ट र ब्रान्डेड मोबाइल हुन्छ । बजारमा जुन भित्रिन्छ त्यो म किनिहाल्छु । किनभने जुनै समय पनि मसँग हुने भनेको एक मोबाइल हो । अर्काे गाडी । त्यसैले मोबाइल र गाडी ब्रान्डेड हुनुपर्छ भन्ने मेरो मान्यता हो । 
 
टीभी थोरै हेर्छु
टीभी थोरै हेर्छु । कहिले काहीँ समाचारका लागि हेर्छु । भारतमा चुनाव हुँदा अमेरिकामा चुनाव हुँदा लगायत हेर्छु । घरमा ६४ इन्चको सामसुङ ब्रान्डको टीभी छ ।

फिल्मबाट युरोप
नेपाल आएको समय म एउटा नेपाली फिल्म हेर्छु ।  यस पटक ‘जात्रै जात्रा’ फिल्म हेरेँ । भारतमा बस्दा केही फिल्म हेर्थे ।
नेपालमा पहिलो हेरेको फिल्म नेवारीमा ‘सिलु’ हो । मेरो विदेशमा सेटल हुने इच्छा नै फिल्मले जाग्रित गरेको हो । भारतमा रहँदा मैले ‘दिलवाले हुल्हनिया ले जायंगे’ हेरेको थिएँ । यो फिल्म २०, २५ पटक हेरेको होला । स्कुल पढ्दा युरोप भन्ने महादेश भनेर पढेको थिएँ । 
युरोप के हो भन्ने यो फिल्मबाट थाहा पाएँ, जाने । त्यसले ममा युरोपमा बस्ने मोह पलायो । 

रोग छैन
अहिलेसम्म केही रोग छैन । 

केटी नहेरी विवाह
मैले मागी विवाह गरेको हो । स्कुल पढ्दा परिवारले विवाह गराएका थिए । बुबाले खोजेको केटी हेर्दै नहेरी विवाह गरेँ । सो समय प्रेम भन्ने थाहा पनि थिएन । जसलाई म चाहान्छु उहाँले मलाई चाहानु हुन्न, जसले मलाई चाहान्थ्यो । त्यो मलाई थाहा नै हुँदैन थियो । मेरो जीवनमा यस्तो धेरै पटक भएको छ ।

..त्यो लुकाउनुपर्छ 
कहिलेकाहीँ साथीभाइसँग मापसे गर्नुपर्ने हुन्छ । यस्तो समयमा थोरै लिन्छु । सातामा एक, दुई दिन मापसे गर्छु । मदिरामा यही ब्रान्ड भन्ने छैन । घरमा पनि राख्ने गरेको छु । कहिले काहीँ साथीभाइका लागि मदिरा घरमा स्टोर गर्नुपर्ने हुन्छ । तर गाउँबाट बुबाआमा जाँदा त्यो लुकाउनुपर्ने बाध्यता छ ।
   

राम्रा गीत सुन्छु 
गीतसङ्गीत मनपर्छ । नेपाली टिपिकल्ली लोक दोहोरी, राम्रा गीत सुन्छु । मैले गीत सुन्ने भनेको ड्राइभ गर्दा हो । विदेशमा रहँदा नेपालबाट भाइबहिनीले पेन ड्राइभबाट गीत पठाउँछन् ।

भूल भएको छैन 
जीवनमा भूल धेरै भएका होलान् । तर त्यस्तो गरियो है भनेर पछुताउनुपर्ने भूल भएको छैन । केही व्यावसायमा आफूले गरेको लगानीले धेरै समय बितिसक्दा पनि प्रतिफल दिँदैन । यस्तो अवस्थामा अर्काेमा लगानी गरेको भए, हुन्थ्यो भन्ने लाग्छ । 

धर्ममा विश्वास राख्छु
मेरो राशि कुम्भ हो । ग्रह दशा खासै हेर्ने गरेको छैन । नेपाल आएको बेला बुबाआमाले हेराइदिनु हुन्छ । ग्रह शान्ति, पूजाआजा गर्न लगाउनुहुन्छ । म धर्ममा विश्वास पनि राख्छु ।

सपना छ
त्यस्तो केही छैन । अहिले मेरो सपना देख्ने उमेर पनि होइन । यो समय देखेको सपना पूरा हुन गाह्रो छ । अहिले जुनजुन व्यवसाय गरिरहेको छु । त्यसलाई अगाडि लैजाने सपना छ । बिजनेसबाटै देश विदेशमा चिनिने सपना छ ।  मेरो बुझाइमा छिट्टै अगाडि बढ्ने माध्यम व्यावसाय नै हो । 


तीन बिजनेस छन् 
२००६ बाट मैले यूकेबाटै व्यवसाय थालेको हो । सुरुमा मैले रेस्टुरेन्ट व्यवसाय सुरु गरेको थिएँ । अहिले २, ३ ठाउँमा पार्टनरसिपमा रेस्टुरेन्ट छन् । २०११ मा जब म एनआरएनमा लागे । त्यहाँका साथीहरूसँग धेरै कुरा बुझेँ । त्यसपछि मिलेर नेपाल लगायत विभिन्न देशमा केही सेक्टरमा लगानी गरेको छु । मेरो युकेमा रेस्टुरेन्ट, सुपरस्टोर लगायतमा लगानी छन् । नेपालमा बैङ्किङ क्षेत्र, सेयर मार्केट लगायतमा छन् ।  

मेरो मृत्यु 
मृत्यु सत्य हो । चाहेर नचाहेर पनि जानुपर्छ । मेरो अहिले मृत्यु भयो भने पनि खुसी हुनसक्छु । र हुनुपर्छ पनि । किनभने मैले अहिलेसम्म जति जीवन बिताएँ राम्रोसँग बिताएको छु । म सँग जन्मिएका कोही ४ वर्षमा मरे, कोही २०  वर्ष पनि पुग्न पाएनन् ।  तर म ४० काटिसके । त्यसैले मलाई खुसी हुनुपर्छ भन्ने लाग्छ । अर्काे कुरो बुढो भएर आफूले केही गर्न नसक्ने अवस्थासँग बाच्न नपरे हुन्थ्यो भन्ने मेरो चाहना छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...