शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डको अन्तरवार्ताले उठाएका यी हुन् ६ प्रश्न

बिहीबार, १६ जेठ २०७६, २१ : ५५
बिहीबार, १६ जेठ २०७६

काठमाडौं–पार्टी एकता गर्दाको गोप्य सहमतिको खुलासासहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको एक अन्तवार्ताले सत्तारुढ नेकपाका भित्र तरंग पैदा गरेको छ । एक नीजि टेलिभिजनलाई दिएको उक्त अन्तरवार्ताले एउटा सन्देश र केही प्रश्नहरु उठाएको छ ।

प्रश्न १–के बजेटमा प्रचण्डको असन्तुष्टि छ ?

प्रचण्डले जुन दिन अन्तरवार्ताका लागि रोजेका छन्, यसले उठाउने सवैभन्दा पहिलो प्रश्न हो– सरकारले जेठ १५ गते ल्याएको बजेटप्रति के उनी असन्तुष्ट छन् ? किनकि प्रचण्डले बजेट आउने दिन नै नेकपाभित्र तरंग हुने अन्तरवार्ता दिएका छन् । त्यति मात्र होइन बजेट आएको दुई दिन वित्दा पनि प्रचण्डले बजेट राम्रो–नराम्रो भन्ने कुनै प्रतिक्रिया दिएका छैनन् । सत्तारुढ दलकै धेरै नेता र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको समेत बजेटमाथि प्रतिक्रिया आउदा प्रचण्डले मुख खोलेका छैनन् । यसले प्रचण्ड बजेटप्रति असन्तुष्ट छन् र नेकपाभित्र तरंग ल्याउने अन्तरवार्ता दिएका होलान भन्ने अनुमानलाई बल पुग्छ ।

प्रश्न २–के प्रचण्डलाई सरकारको काम चित्त बुझेको छैन ?

अन्तवार्तामा आफू पदको लोभी नरहेको र सरकारले राम्रो गरे पूरै पाँच वर्ष काम गर्न सक्ने बारम्बार दोहोराएका छन् । यसको सिधा अर्थ हुन्छ– प्रचण्ड सरकारको काम कारवाहीबाट सन्तुष्ट छैनन् । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र विकास निर्माणमा सरकारको काममाथि प्रचण्डको असन्तुष्टि देखिन्छ । विगतमा दुई पटक प्रधानमन्त्री हुँदा सोचे जसरी काम गर्ने समय र सुविधा नपाएको संकेत गर्दै प्रचण्डले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गर्न पाए भ्रष्टाचार नियन्त्रण, शुसासन कायम, विकास निर्माण र जनजीविकाका सवालमा धेरै गर्न सकिने सन्देश पनि दिएका छन् ।

‘मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन् बोल्या हो कि भन्ने पनि मान्छे छन् । तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन ।

म समर्थन गरिराख्छु ।’ प्रचण्डको भनाई छ, ‘म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्नेमा म छैन । तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु ।’

प्रश्न ३–बहसको ढोका खोलेका हुन् ?

प्रचण्डको अन्तवार्तामा स्पष्ट सन्देश छ– सत्तारुढ नेकपाभित्र सत्ता संघर्ष शुरु भैसक्यो । यसलाई प्रचण्डको अन्तर्वार्तासँगै सार्वजनिक भएको पार्टी एकता हुँदा गरिएको एउटा भित्री सहमतिले पुष्टी गर्छ । तत्कालीन एमाले अध्यक्ष ओली र उपमहासचिव विष्णु पौडेल र तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र केन्द्रीय कार्यालय सदस्य जनार्दन शर्माले हस्ताक्षर गरेको पाँच बुँदे सहमतिको चौथो बुँदामा छ– समानता र समान अवधीका आधारमा आश्यकता अनुसार सरकारको नेतृत्व गर्ने । अहिलेसम्म यो सहमतिबारे नेकपाका शीर्ष नेता र आन्तरिक पंक्तिमा बहस थियो । तर, प्रचण्डको अन्तर्वार्ताले यो बहसलाई सार्वजनिक विषय बनाएको छ । नेकपाभित्रै मात्र नभएर अरु राजनीतिक दलभित्र पनि यो विषय छलफलमा आउन सक्छ ।

प्रश्न ४–प्रधानमन्त्रीलाई दबाव दिएका हुन् ?

पार्टीभित्र छलफल गर्न सकिने र प्रधानमन्त्रीलाई नै विश्वासमा ल्याएर आलोपालो सत्ता साझेदारीको विषय भित्रभित्र हल गर्न सकिने ठाँउ थियो । तर, अन्तवार्ता मार्फत नै प्रचण्डले सहमति अनुसार अगाडि बढ्नुको विकल्प छैन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवको १५ महिनापछि पद छाड्ने मानसिकता बनाउन सन्देश दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले पटक–पटक ‘यो सरकार पूरै पाँच बर्ष जान्छ’ भन्दै आएका थिए । प्रधानमन्त्रीको यस्तो भनाई आईरहदा प्रचण्डले दावेदारी पेश गरेका छन् । सरकार र पार्टीबीच समन्वय नभएको भन्दै नेकपाका धेरै शीर्ष नेताको असन्तुष्टि छ । प्रचण्डको यस्तो दावीले असन्तुष्टहरुलाई आफु नजिक बनाउन सक्छ । यसले प्रधानमन्त्री ओलीमाथि दवाव बनाउन सक्छ ।

‘पार्टी एकता गर्दा पक्कै पनि हाम्रो बीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।’ प्रचण्डले भनेका छन्, ‘केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिबद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न् । यो विषय फेरि के हो भने उहाँ र मबीच सहमति भयो, पार्र्टीिभत्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।’

प्रश्न ५–प्रधानमन्त्रीलाई विकल्प खोज्न सन्देश दिएका हुन् ?

प्रचण्डको अन्तवार्तामा उठेको अर्को महत्वपूर्ण प्रश्न हो–के उनले प्रधानमन्त्रीलाई एक पदका लागि तयार रहन सनदेश दिएका हुन् ? आफ्नो अन्तवार्तामा प्रचण्डले सहमतिअनुसार प्रधानमन्त्री दिन वा नभए एकल पार्टी नेतृत्व दिनुपर्ने दावी पेश गरेका छन् । अहिले नेकपामा दुई अध्यक्ष छन् । अबको एक बर्षपछि महाधिवेशन गर्ने र एकल नेतृत्वमा जाने नेकपाभित्र सहमति छ । यही सहमतिको जगलाई उठाएर प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्न ओलीलाई सन्देश दिएका छन् ।

प्रचण्डले अन्तवार्तामा भनेका छन्, ‘अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ । तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ । म अहिले कसैप्रति आशंका गर्दिन । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न् । मैले लिन नि अप्ठ्यारो मान्दिन ।’ प्रचण्डको यो भनाईमा पनि त्यही देखिन्छ ।

प्रश्न ६–प्रचण्डले अब ‘बार्गेनिङ’ शुरु गरेका हुन् ?

प्रचण्डको अन्तवार्ताको सवैभन्दा मुख्य प्रश्न हो–के प्रचण्डले सत्ता साझेदारीका लागि बार्गेनिङ शुरु गरेका हुन् । अन्तर्वार्तालाई मिहीन ढंगले हेर्दा प्रचण्डले यस्तो ‘बार्गेनिङ’ शुरु गरेको देखिन्छ । उनले प्रधानमन्त्रीमाथि दवाव बनाउने र पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद आफुलाई दिन माग गरेका छन् ।

प्रचण्डले आफुले उठाएको मुद्दालाई फराकिलो बनाउने र प्रधानमन्त्री ओलीसँग ‘बार्गेनिङ’ गर्ने रणनीति लिएको देखिन्छ । नत्र सरकारले बजेट ल्याएकै दिन प्रचण्डले सत्तारुढ दलभित्र तरंग पैदा गर्ने र बालुवाटारलाई दवाव दिने अन्तर्वार्ता दिने थिएनन । पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ ।

र, तलाउमा ढुंगा
पार्टीको संगठनात्मक एकता करिब करिब टुंगिएर पार्टी तल्ला कमिटीका अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म जाने तयारी नेकपामा शुरु हुँदै थियो । यसबाहेक नेकपाले देशव्यापी अभियचान चलाउने तयारी पनि गर्दै थियो र यसका लागि शनिवार अर्थात जेठ १८ गते सचिवालयको बैठक समेत डाँकिएको थियो । तर, त्यसभन्दा दुई दिन अगाडि अन्तर्वाता दिएर प्रचण्डले नेकपाको तलाउभित्र ढुंगा फालेका छन् । यसको तरंग र असर कति हुने हो पक्कै पनि हेर्न लायक हुनेछ ।

प्रचण्ड आफुले यस्तो तरंगसँग खेल्न तयार रहेको सन्देश दिएका छन् । उनको अन्तर्वार्तामा छ, ‘म पार्टीको अध्यक्षको नाताले पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले यसलाई बचाउने, सुदृढ गर्ने, एकताको आधारमा टेक्ने, जे सहमति गरिएको हो त्यो इमान्दारिता साथ कार्यान्वयन गर्ने ।

के का लागि भन्दा देश र जनताका लागि । जनताको विकासको आकाँक्षाका लागि । तर त्योबाट दायाँबायाँ गर्याे भने त्यो टिक्नेवाला छैन भन्नेछ मेरो । मैले गर्न खोजें भने म पनि टिक्दिन । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन । हामी कसैले धेरै घमण्ड गरियो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । यो कुरा मलाई लाग्छ, हामी सबैले महसुस गरेका छौं ।’
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप