शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बजेटबारे काँग्रेसको आयो यस्तो प्रतिक्रिया

बुधबार, १५ जेठ २०७६, २० : ०२
बुधबार, १५ जेठ २०७६

काठमाडौं– सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७६ को वार्षिक बजेटलाई प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस हावादारी बजेटको संज्ञा दिएको छ ।  संघीय संसदको सयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गरिसकेपछि संसद भवन परिसरमा प्रतिक्रिया दिँदै काँग्रेस सभापति शरेबहादर देउवाले यस्तो बताएका हुन् । उनले भने,‘बजेट हावादारी ढंगले ल्याएको छ । क्यापासिटी नै नभइकन के–के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ ।’

काँग्रेसद्वारा गठित छाँया सरकारका अर्थमन्त्री डा.मिनेन्द्र रिजालले सिरानी राखेर बजेट ल्याएको  प्रतिक्रिया दिए ।  उनले भने, ‘बजेट सिरानी राखेर ल्याएको पाइयो । अर्थमन्त्री ज्ी अवसर गुमाउनुभयो । समयलाई सदुपयोग गर्नुपथ्र्यो । उहाँले पहिले भन्नु भएको थियो । स्रोत र साधनले धान्ने सम्म लोकप्रिय बजेट ल्याउँछु भनेर । यो लोक रिझाइको बजेट हो । लोक रिझाइको बजेटको नाम विकासको बाधकको रुपमा ल्याउनुभयो ।अर्थमन्त्रीले लोकरिझाइँको बजेट ल्याउनुभयो। विकासको आधार नबन्ने बजेट आएको छ।’ 

छाँया अर्थमन्त्री रिजालले बजेटले महंगी ढाउने दाबी गर्दै नियन्त्रणको कुनै कार्यक्रम नलाएको आरोप लगाए । ‘उहाँले ६ प्रतिशतको मूल्यवृद्धिको दायरा बढाउनुभएको छ । यसले स्वतः महंगी बढाउँछ नै । तर महंगी नियन्त्रणका लागि ठोस कुनै कार्यक्रम छैन,’ उनले भने ।

यता रातोपाटीसँगको पूर्व अर्थमन्त्री एव नेपाली काँग्रेसका नेता रामशरण महतले बजेटको कार्यान्वयन पक्ष विश्वसनिय नदेखिएको धारण राखेका छन् । ‘यो बजेट महत्वकांक्षी र वितरणमूखी रुपमा आएको छ । लक्ष्य धेरै राखिएका छन्, धेरै कुराहरु गरिएका छन् । त्यसको कार्यान्वयन पक्षमा भने विश्वसनीयता छैन,’ उनले भने, ‘बजेटलाई अनावश्यक रुपमा ठूलो पनि बनाइएको छ । जसले खर्चको दुरुपोयग बढाउने देखिएको छ । राष्ट्रिय ऋण बढेने सम्भावना पनि बढी छ ।’

बजेटमा केही कुरा सुन्दा कर्णप्रिय लागे पनि सरकारको कार्यान्वय र प्रशासकीय क्षमता अनरुपको नभएको नेता महतको तर्क छ । साथै उनले बजेट संघीयता अनरुपको पनि नभएको दाबी गरे ।
उनले भने,‘बजेटले संघीयताको मर्मलाई छुन सकेको देखिँदैन । कतिपय ठाउँमा स्थानीय सरकारको अधिकारमा रहेको कुराहरु पनि संघीय सरकारबाट गर्छु भनेर भनेको छ । जस्तै शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा घोषणा गरेका कतिपय कार्यक्रमहरु स्थानीय सरकारको अधिकार क्षेत्रभित्रको छ ।’

सरकारले बजेटलाई आत्मा केन्द्रीत बनाएर ल्याएको नेता महतको बुझाइ छ । ‘तपाइँले देखी हाल्नुभयो । बजेटमा पनि सरकारले यस्तो गरेँ, उस्तो गरेँ भनेर बयान गरेको छ । भाषणमा आत्मा प्रसंशा धेरै छ,’ उनले भने, ‘यसमा योजना यस्ता आएका छैन । भोली प्रधानमन्त्री कार्यालयमा आए पछि थाहा हुन्छ । बजेट कति आत्मकेन्द्रीत छ भन्ने ठोस कुरा ।’

यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गत वर्षको बजेटले आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन भन्दै यो बजेटमा पनि त्यही ढंगले मूल्यांकन गरेको बताए । ‘अघिल्लो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिरको लक्ष्य राखिएको थियो । त्यो लक्ष्य भेटिएन,’ उनले भने,‘अहिले ८. ५ प्रतिशतको राखिएको छ । अनि पूँजिगत खर्चको आकार सानो बनाइएको छ । व्यपार घाटालाई कसरी घटाउने भन्नेबारेमा त्यस्तो भरपर्दो कार्यक्रम छैन ।’

सरकारले रोजगारीका क्षेत्रमा भरपर्दो तरिकाले जान सक्ने कुनै आधार देखाउन नसकेको प्रवक्ता शर्माको टिप्पणी छ । ‘विगतका बर्षमा भनिएका कार्यक्रम दोहोर्याइएको छ । गएको वर्ष मेलम्ची खानेपानी आयोजनाको निर्माण यो वर्ष सम्पन्न गर्ने भनेको थियो । फेरि यो वर्ष पनि त्यही भनिएको छ । एक वर्षको भाका दिइएको छ । यो सरकार बनेपछि उसले आफैले ल्याएका कार्यक्रमलाई यो बजेटले अलपत्र पारिदिएको छ,’ उनले भने । सरकारले केही राम्रो कुरा ल्याउन खोजेपनि अमूर्त ढंगले प्रस्तुत भएको प्रवक्ता शर्माको भनाइ छ ।  उनले भने,‘सरकारले बस्ती स्थानतरण गर्ने भनेको छ । त्यो राम्रो कुरा हो । तर कहाँको स्थान्तरण गर्ने त्यो अमूर्त छ ।’

सरकारले गत वर्ष कार्यान्वयनका लागि अघि सारेका कार्यक्रमसमेत अलपत्र परेको प्रवक्ता शर्माको बुझाइ छ । ‘सरकारले गत वर्ष शिक्षा क्षेत्रमा विद्यालयमा ल्याउ टिकाउ, सिकाउ भन्ने कार्यक्रम थियो । यो पटक त्यो अलपत्र परेको छ । स्मार्ट शौचालय भने खुबै प्रचार गरियो । त्यो पनि खराएको छ । सबै स्थानीय तहमा सहकारी मार्फत सुफत मूल्य पसल भन्ने थियो त्यो पनि हराएको छ । घरघरमा मावअधिकार भन्ने थियो त्यो पनि हराएको छ,’ उनले भने । शर्माले दुईतिहाइको सरकारले पनि बजेट ल्याउदा कुनै क्रम भंग गरेर अगाडी बढ्ने संकेत नदेखाएको बताए ।

‘बजेटले संविधानले तोकेको आधारशिलामा टेक्न नसकेको देखियो । दुई तिहाइको सरकार झै क्रमभंग गर्ने ढंगले बजेट ल्याउन सकेन । गतिशिल हुन सकेन । यो अघिल्लो निबन्ध भन्दा परिमार्जित निबन्ध भन्न सकिन्छ,’ उनको निष्कर्ष छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप