केन्द्रीय संस्करण
सन्दर्भ गणतन्त्र दिवस

‘गणतन्त्र जनताका निम्ति कि जनतामाथि शासन गर्नेका निम्ति ?’

गणतन्त्रमा पनि श्रमिक वर्गको हैन राजतन्त्रकै संस्कृति हाबी

person explore access_timeजेठ १५, २०७६ chat_bubble_outline0

नेपालमा गणतन्त्र त्यसै र सजिलै आएको होइन । जन्मनेबित्तिकै जनताको टाउकोमा गिर खेल्न पाउने, वंशमा आधारित निरङ्कुश शाही शासन सत्तालाई इतिहासको रछ्यानमा मिल्काउनका लागि नेपाली जनताले समयका विभिन्न कालखण्डमा बलिदानी सङ्घर्षहरू गरेको, गर्नुपरेको लामो रक्तिम इतिहास छ । राजतन्त्रसँगको सङ्घर्ष, एकता, रूपान्तर र अन्ततः पूर्णरूपमा निषेधको लामो रक्तिम सङ्घर्षका शृङ्खलाहरूमा सबैभन्दा पछिल्लो कडीको रूपमा जोडिन आइपुगेको २०५२ सालदेखि सुरु भएको जनयुद्ध र ०६२/०६३ को जनआन्दोलनले राजा ज्ञानेन्द्र शाहको निरङ्कुश शासन ढालेको हो ।

इतिहासको लामो कालखण्डसम्म वंशमा आधारित राजतन्त्रको मुठ्ठीमा कैद सार्वभौमसत्ता २०६३ वैशाख ११ गते राति भएको शाही घोषणापश्चात जनताको हातमा आइसकेपछि मुलुकमा संविधान सभाको निर्वाचन भयो । २०६५ जेठ १५ मा संविधान सभा गठनपश्चातको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गर्यो । त्यसको परिणामस्वरूप २ सय ४० वर्ष लामो राजतन्त्रको इतिहास अन्त्य भई मुलुक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गर्यो ।

२ सय ४० वर्ष लामो निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाले नेपाली समाजको समृद्धिको यात्रालाई रोकिरह्यो । नेपाली समाजको बृहत्तर विकासमा गणतन्त्रलाई नै एक मात्र विकल्पका रूपमा हेरिएको थियो । गणतन्त्रसँग नेपाली जनताका तमाम अपेक्षा जोडिएका थिए । राज्य संरचना परिवर्तनसँगै जनताले गणतन्त्रलाई आफ्ना जीवनशैलीसँग जोडेर हेर्न थालेका थिए । तर बाह्रौँ गणन्त्र दिवसको सँघारमा आइपुग्दा जनताका गुनासा विस्तारै बढ्दै आइरहेका छन् । विस्तारै तल्लो वर्गसम्म सरकार पुग्न नसक्दा व्यवस्था खराब कि नेता खराब भन्ने बहस पनि चल्न थालेको देखिन्छ ।

एउटा राजा हटाएर सयौँ राजा ल्यायौँ भन्ने गुनासा जनजिब्रोमा आउन थालेका छन् । व्यवस्था गणतन्त्रात्मक हुनु तर नेताको जीवनशैली राजतन्त्रको झल्को दिनेतर्फ उन्मुख हुनुले आम जनतामा व्यवस्थाप्रति वितृष्णा पैदा हुने हो कि भन्ने डर पनि देखिँदै गएको छ । गणतन्त्र भनेको श्रीपेचबिनाको राजा भन्ने अर्थमा जनताले बुझ्ने र व्याख्या गर्ने खालको विसङ्गतिपूर्ण स्थिति पैदा हुँदै गइरहेको छ ।

देश सङ्घीयतामा गइसकेको छ । तीनै तहको चुनाव सकिएर जनप्रतिनिधिले आफ्नो काम पनि सुरु गरिसकेका छन् । बजेट कार्यान्वयनदेखि विकास आयोजनाका कार्यक्रमहरूमा स्थानीय तहको प्रत्यक्ष सहभागिता हुनुले जनताले गणतन्त्रमाथि केही अपनत्व महसुस गरेको पनि पाउन सकिन्छ । गाउँगाउँमा सिंहदरबार भन्ने सरकारको घोषणाले जनतामा उत्साह थपेको छ ।

जनताका केही निराशा केही अपेक्षाहरूका बीचमा देश कहाँ छ ? गणतन्त्रको दिशामा हामी सही दिशामा छौँ वा दिशा गलत छ ?

गणतन्त्रको अभ्यास कस्तो छ ?

गणतन्त्र राणा र पञ्चायती व्यवस्थाभन्दा भिन्न हुन नसकेको भनाइ धेरैजसो राजनीतिज्ञ र समाजशास्त्रीको छ ।

गणतन्त्रको अभ्यास राजतन्त्रकै समयको जस्तो छ भन्छन् नेकपाका केन्द्रीय सदस्य राम कार्की । उनी भन्छन्, ‘राजा त मासियो तर अहिले पनि राजाद्वारा आएको संस्कृति यथावत नै छ ।’

श्रमिक वर्गको संस्कृति हाबी जहिलेसम्म हुँदैन तबसम्म गणतन्त्र अनुभूति हुन नसक्ने दाबी उनको छ ।

गणतन्त्रको पूर्ण अनुभूति गर्न नसकेको उनी स्वीकार्छन्  ।

गणतन्त्रले जनतामा छाप पार्न नसकेको स्वीकार्छन् समाजशास्त्री पिताम्बर शर्मा । उनी भन्छन्, ‘गणतन्त्र भनेको जनताको तन्त्र हो । सत्ता, शासन र सरकार छ । सबैभन्दा ठूलो कुरा भनेको जनतामा त्यसको छाप पर्नुपर्ने हो । त्यो स्थिति बनेन भन्ने चिन्ताको विषय हो ।’

गणतन्त्र कसका निम्ति ? प्रश्न गर्दै उनी भन्छन्, ‘हामीकहाँ नेताले हिँड्ने शैली नै फरक छ । ठूला ठूला नेताले हिँड्दा बाटो नै बन्द हुन्छ । यो गणतन्त्र जनताका निम्ति कि जनतामाथि शासन गर्नेका निम्ति ?’

जनतालाई यो शासन मेरो हक र संरक्षणको निम्ति हो भन्ने अनुभूति हुनुपर्याे तर त्यो मर्मअनुसार काम हामीले नगरेको उनी स्वीकार्छन् ।

सांसद तथा नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री भने अहिलेको गणतन्त्रको अभ्यासबाट सन्तुष्ट नै  छिन् । उनी भन्छिन्, ‘हामीले ल्याएको व्यवस्था हो । यसमा पूरापूर हाम्रो स्वामित्व छ । हामी सन्तुष्टि नहुने कुरै छैन । सरकारले गर्ने व्यवहार र समस्या अलग कुरा हुन् ।’

सडकमा रहेका दलहरूले लोकतन्त्र स्थापनालाई मुद्दा बनाइरहँदा आन्दोलनकारी भने गणतन्त्र स्थापनालाई मुद्दा बनाइसकेका थिए । सडकबाट गणतन्त्रको पक्षमा चर्काे नारा लाग्न थालेपछि दलहरू पनि गणतन्त्रलाई स्वीकारेका हुन् । यसरी सडकबाटै गणतन्त्रको नारा लगाउने जीवन गौतम अहिले गणतन्त्रको अभ्यासबाट भने सन्तुष्टि देखिँदैनन् ।

पुरानो मानसिकतालाई हटाएर नयाँ चेतनासहित नयाँ ठाउँमा जानुपर्ने जिम्मेवारी आएको स्वीकार्छन् गौतम ।

उनी भन्छन्, ‘अहिले नै सबै अपेक्षा पूरा हुन्छन् जस्तो त लाग्दैन तर कहीँ न कहीँ नेताले जुन गति लिनुपथ्र्यो त्यो गती लिन नसकेको हो कि भन्ने प्रश्न देखापरेको छ  ।’

पद, पैसा र प्रतिष्ठा कमाउने पेसामा गणतन्त्र परिणत हुने हो कि भन्ने खतरा र यसबाट मुक्त  हुन जरुरी रहेको दाबी उनको छ ।

गणतन्त्रले ल्याएको फरक

राजतन्त्रविरुद्ध आन्दोलन गरेका नेताहरू गणतन्त्र आएपछि श्रीपेचबिनाको नयाँ राजा जस्ता भएको गुनासो सर्वसाधरणको छ । राष्ट्रपतिले राजाको झल्को दिएको टीकाटिप्पिणी प्रशस्त आइरहेकै छन् ।

कार्की भन्छन्, ‘राजनीतिक रूपमा गणतन्त्र आए पनि आर्थिक, सांस्कृतिक जीवनमा परिवर्तन भने देखिएको छैन ।’

नराम्रो भन्न खोजेको होइन तर राजनीतिक रूपमा आएको गणतन्त्रलाई सांस्कृतिक, आर्थिक रूपमा फेर्न र अरू धेरै काम गर्न बाँकी रहेको स्वीकार्छन् उनी ।

सामन्ती निरङ्कुस राजतन्त्रको गर्भबाट जन्मिएको गणतन्त्र भएकाले गणतन्त्रमा राजतन्त्रका दागहरू रहेको तर यसलाई निरङ्कुस भन्न नमिल्ने मत उनको छ ।

गणतन्त्र आएर जनतामा फरक परेको स्वीकार्छन् शर्मा । ‘जुन अधिकार राजाबाट खोसियो, त्यो अधिकार आएर बस्नुपर्ने जनतामा थियो । तर जनताले आफ्नो जीवनस्तरमा वृद्धि भएको, सुखसुविधा बढेको, आफ्ना आवाज माथिसम्म पुगेको कुरा सरकारबाट चाहन्छन्’, शर्मा भन्छन्, ‘त्यो स्थिति भइसकेको छैन । त्यो स्थिति बनाउनेतिर नेता लागेनन् ।’

गणतन्त्रको अनुभव जनताले गर्न नपाएको स्वीकार्छन् उनी । उनी भन्छन्, ‘गणतन्त्र अवश्य राम्रो छ । जनताले शासन आफ्नो हातमा लिए त्यो गर्व गर्ने कुरा हो । त्यसबाट जनताले फाइदाको अनुभव पनि गर्नुपथ्यो । त्यो अनुभव भइसकेको छैन ।’

समाजको माथिल्लो तहमा रहेका दलाल पुँजीपतिहरूको जीवनमा व्यापक परिवर्तन आएको तर तल्लो तहमा रहेका जनताको जीवनस्तर बदल्ने प्रक्रिया जारी रहेको मत झाँक्रीको छ ।

गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि

नेपाली जनतामा जागरण आएको कुरा सबैभन्दा ठूलो उपलब्धि रहेको बताउँछन् कार्की । उनी भन्छन्, ‘मान्छेको समझदारी र सोचमा हामी समान हौँ भन्ने सिद्धान्त स्थापित भएको छ तर व्यावहारिक रूपमा घनिभूत भएको छैन ।’

गणतन्त्रले जनतामा पारेको प्रभाव

कार्की भन्छन्, ‘सामन्तवादलाई छाडेर अगाडि जाने कुरा नै फरक देख्छु । दास युगलाई अन्त्य गरेर सामन्ती युगमा आउनु प्रगतिशील कुरा हो ।  हामीले राजनीतिक अधिकार प्राप्त गरेका छौँ । हामी नयाँ चरणमा प्रवेश गरेका छौँ ।’

शर्माले गणतन्त्रले जनतामा परिवर्तन ल्याएको स्वीकार्छन् । उनी भन्छन्, ‘सामन्ती राजसंस्था थियो । त्यो राजसंस्थाको अधिकार जनतामा आयो ।’

झाँक्री भन्छिन्, ‘राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना नै सबैभन्दा ठूलो उपलब्धि हो । वंशजको परम्पराबाट शासनको अग्राधिकार कायम गर्ने प्रणालीको अन्त्य गर्याैँ । जनताका छोराछोरीको पनि राज्यको प्रमुख स्थानमा पुग्न सक्छन् भन्ने कुरा स्थापित गर्यौँ ।’

गणतन्त्रको अनुभव कसरी गर्ने

जनताप्रति नेता र राजनीतिज्ञ उत्तरदायी भएमा जनताले वास्तविक गणतन्त्रको अनुभूति गर्न पाउने स्वीकार्छन् शर्मा । 

उनी भन्छन्, ‘हिजोभन्दा आज जनताले के कति सुख सुविधा पाए ? जनताका आवाज कति माथिसम्म पुगे ? जनताका दुःख र सुख सरकारले कतिसम्म बोध गर्यो ? जनताले गणतन्त्रको कतिको अनुभूति गर्न पाएका छन् भनेर यिनै कुरालाई आधार मान्न सकिन्छ ।’

गणतन्त्रमा नेताले भन्दा जनताले सुरक्षित महसुस गर्नुपर्ने विचार उनको छ । उनी भन्छन्, ‘नेताको सुरक्षाको कुरा दोस्रो हो भने जनताको सुरक्षा मुख्य कुरा हो ।’

उनी थप्छन्, ‘जहाँ जनतालाई दुःख हुन्छ, जहाँ सुविधा महसुस गर्दैनन्, यिनीहरूको सम्बोधन गनुपर्याे । आफूलाई पछि राखेर जनतालाई अगाडि राखेर नेताले काम गर्नुपर्यो । यसरी गणतन्त्र सार्थक हुन्छ । नत्र राजतन्त्रको समयमा जस्तै म मन्त्री हुँ । मैले पैसा कमाउनु छ, मैले नै कुम्ल्याउनु छ भन्यो भने गणतन्त्र र राजतन्त्रमा फरक के भयो ?’

अनेक कामनालाई तिलाञ्जली दिँदै आफ्नै आहुति दिएर मागेको  बिहान यो अझै होइन । यो प्रभा अझै होइन, गणतन्त्रमा गुनासा र अपेक्षा दुवै छन् । जनताका आकाङ्क्षाहरू तीव्र रूपमा पूरा हुन नसके पनि पूरा हुने क्रममा छन् । गणतन्त्रप्रति असन्तुष्ट रहे पनि गणतन्त्र गलत नरहेको सबैको मत छ । पाकिस्तानी कवि फैज अहमद फैजले भनेझैँ हामीले चाहे जस्तो व्यवस्था आउन अझै बाँकी छ । हरेक व्यवस्था राम्रो हुनलाई जनताको निरन्तर पहरेदारी आवश्यक छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...